May 23, 2016

ईश्वरको न्यायालय

 (याे काल्पनिक कथा हाे .....र कथा मात्रै हो ।)                                                                                                                          सबिना सिन्धु
                                                             
                                                                            कथा

                                                                                                         

“ओई कति बेला आइपुग्छेस् रुपमाँया आइपुगिन् ।” श्रेणितीले फोन गरी
“गेटमै आइपुगेँ ।”, मैले भनेँ अनि मोबाइल प्यान्टको पकेटमा राखेँ।
म कोठामा  छिर्दा रुपमाँया आफ्नो कहानी सुनाउन थालिसकेकी थिइन् । मैले डिस्टर्ब गर्नु उचित ठानिँन । त्यसैले झोला साइड लगाएर राखी कुर्सी तानेर बसेँ। 


 “म निर्दोष थिएँ । अझै पनि भन्छु म निर्दोष छु । अनाहकमा उनीहरुले मलाई जेल हाले ।”, उनी भन्दै थिइँन् ।
उनले यति भन्दा मलाई कुनै करुणा जागेन । मैले उनको अनुहारमा राम्रोसंग हेरेँ । उनको चाउरी परेको निधारमा अपराधि भन्ने निशाना लागेझैं थियो । भो यी अपराधि सबै यसै भन्छन् । आखिर मैले सुनेकी रुपमाँया कर्तब्य ज्यान मुद्दामा सजाय भोगेर आएकी थिइन् । उनको उर्बर उमेर जेलमा बितेको थियो । 


“अपराध नै नगरी कसरी सजाय पाउनु भयो त ? त्यस्तो त हुनु नपर्ने”, मैले भनेँ ।
“त्यस्तै भयो । म परिबन्दमा परेँ।”, उनले भनिन् ।
“हत्या अर्कै ब्यक्तिले गरेको थियो । ऊ त सजायको भागिदार नै थियो । तर म चाहिँ ब्यर्थमा फसेँ मात्र ।  उनीहरुले मलाई ‘अपराधमा संलग्न भनी ठह¥याए । म निर्दोष छु भन्दा भन्दै......”, यति भनिसक्दा उनको आँखाबाट आँशु खस्यो । 


“चित्त नबुझे पुनरावेदन गर्न सक्नु हुन्थ्यो । आफू निर्दोष हुनुको प्रमाण जुटाउन सक्नु हुन्थ्यो । कानूनी प्रक्रियाहरु थिए नि !”, श्रेणितीले भनी
“खै के के हो म जान्दिन । वकिलहरुसंग सल्लाह लिएकै हो । जे गर्नु उनीहरुले गरे । केही नगरेकै पनि होइन ।”, रुपमाँया ले भनिन् ।
 

यी सबै वाहियात नाटक मैले सोचेँ । बिना प्रमाण त अपराधि ठहरिन्न भन्ने मेरो बुझाई थियो । तैपनि मैले उनको कुरा सुन्न छुटाइँन । यसकारण कि मलाई उनको कुरा कुनै काल्पनिक कथा जस्तो लागिरहेको थियो । जुन कथामा कथा वाचकले भूमिकाहरु सहजै फेर्न सक्छ । जुन कथा थपघट भएको पत्तो हुन्न म जस्ता श्रोतालाई । 
श्रेणिती सुन्दै थिई । उसलाई पनि रुपमाया को कथामा विश्वास लागेको थियो जस्तो लागेन । 


“म जेल परेपछि श्रीमानले अर्को बिहे गरे । उनीहरुको आफ्नै ब्यबहार बन्यो । सन्तान जन्माए । उनीहरु अहिले पनि सुखी छन् ।”
“अनि तपाइँका छोराछोरी नि ।”, मैले सोधेँ।

“छोराले आठ कक्षा पढ्दा पढ्दै पढाई छोडेछ । ऊ मायाको भोको थियो । बाबु चाहिँलाई के मतलब ? म जेल बाहिर हुन्थे त म उसलाई सही मार्गमा लगाउँथेँ । ऊ ड्रगिस्ट भयो । अनि एकदिन आत्महत्या ग¥यो । करिब एक वर्ष पछि मात्र मैले ऊ मरेको खबर पाएँ ।”, फेरी पनि उनका आँखाबाट आँशु झरे । 

“अनि छोरी नि ।”, श्रेणितीले सोधिन्
“ऊ कहाँ गई । के गरी थाहा छैन । दश कक्षामा पढ्ने भएपछि ऊ हिँडी । साथमा लुगाफाटा र बाबु चाहिँसंग झगडा गरेर पाँच हजार पैसा बोकेर हिँडेकी थिई ।”, उसको बाबु त्यसै भन्थे ।”
“म जेल बाहिर हुन्थेँ त मेरा छोराछोरी तपाईँहरु जस्तै पढे लेखेका हुन्थे । सही बाटोमा हुन्थे । कम्तिमा ब्याचलर गराउँथेँ । मैले पनि एसएलसी सम्म त पढेको छु ।” 


“.........तर अपसोस छोरा दुनियाँमै छैन । सर्वोस्व बितायो जेलले”
“साँच्चि मलाई विश्वास गर्नुस् म निर्दोष थिएँ । म सजायको भागिदार हैन ।”, रुपमाँया अझै बिगत सम्झेर रुँदै थिईन् ।
“यो कुरा, म मरेपछि ईश्वरको न्यायलयमा यसैगरी भन्नेछु ।”, रुपमाँया रोइन् । 


यसपटक मैले सोचेँ । यदि साँच्चै रुपमाया निर्दोष थिईन् भने उनले जेलमा बिताएका उनका उमेरहरु के फिर्ता आउँन सक्छन् ? फेरी त्यही ड्रगिस्ट छोराले आत्महत्या गर्नु अघिको समय अथवा ड्रगिस्ट हुनु भन्दा अघिको समय फिर्ता आउन सक्छ ? ....सक्दैन । 

रुपमाँया को कुरामा कहाँसम्म सत्यता थियो म जाँन्दिन् । वास्तविकता के थियो मैले बुझेको छैन । म कानूनको विज्ञ होइन ।  तर रुपमाँयाले आफ्ना कथा सुनाउँदा सुनाउँदै म भक्कानिएर रोएँ । आँशु थाम्न खोजेँ थामिएनन् । 
                                                                                                              
                                                                                                - sabinasindhu@gmail.com

No comments:

Follow by Email