Nov 14, 2011

'साक्षी'- समयको हस्ताक्षर


- सबिना सिन्धु

'हामी बाँच्नुको सङ्केत बोकेर समयसँगै बाँडिएका हुन्छौं - 'समयका हस्ताक्षरहरु' शिर्षक कवितामा रेमण्ड ए फस नामक कविले लेखेका छन् । प्रत्येक ब्यक्ती आफ्नो कालखण्डको साक्षी हुन्छ । यसैगरी आफ्नो समयका साक्षी बनेका छन् नारायण श्रेष्ठ । "कुनै बेला सडक र गल्लीमा हिँडिरहेको सामान्य मान्छेको आँखामा पनि जीवन या पीडाको विशाल चित्र देखिन्छ ।", उनी भन्छन् । परिस्थितीहरु आउँछन् र जान्छन् । त्यसका परिणामहरु विभिन्न किसिमका हुन सक्छन् । अर्थात राम्रा वा नराम्रा । भविष्यको विषयमा हामी सम्भावना अथवा अड्कल मात्र काट्न सक्छौं । प्रकृतिले सबैलाई अवसर दिएको हुन्छ । त्यो अवसर पूरा गर्न सक्ने सामथ्र्य वर्तमान समयसँग मात्र हुन्छ । 'साक्षी' यी कविको दोस्रो कविताकृति हो । यसअघि उनले 'पार्थिव तस्विर' नामक कृति प्रकाशनमा ल्याइसकेका छन् । 'अनुरोध' शिर्षक कवितामा कवि लेख्छन् 'विस्तारै छिरेर आउनू यो ढोकाबाट

सग्लो उचाइ भिरेर हिँड्न मुस्किल छ यहाँ पृष्ठ-१

उनी चैतको बतासमा सद्भाव बिरानिएको देख्छन् । जतिसुकै सुस्त गतिमा समय हिँडेपनि स्मरणयोग्य केही छैन । छन् भने शक्तिको रजाईँ छ । भाषण छ । आश्वासनको सपना छ । ढोका छ तर सग्लो मानिस त्यसबाट छिर्न मुस्किल छ । ढोका प्रतिक मात्र हो । उनी नयाँ समयको भाकामा आएको पसिनाको गन्ध सुहाउने प्रवेशद्धार रुचाउँछन् । त्यस्तो उचाई होस् जसले सद्भाव र सद्विचारका भावनाहरु उजागर गरोस् । जहाँ सन्त्रासको धड्कन नदोहोरियोस् । 'हिराको तीर' सङ्ग्रहको दोस्रो कविता हो ।



"शक्तिशाली मोडबाट स्थापित गरेर विरासत

उभिएको छ बारुदको संगठनमा

र एकोहोरो प्रहार गर्दैछ ज्वालाका विरुद्ध

कि आगोको रापले सेक्न खोज्दै आगोको घाउ - पृष्ठ-३



हिरा प्रकृतिले बनाएको मूल्यवान वस्तु हो । हिराको तीर जस्तै शक्तिशाली छन् जनताका आवाजहरु जसलाई उछिन्ने तागत कसैको हुँदैन । बिगतको इतिहास र कालखण्डले यही कुराको पुष्टि गरेको छ । कवि नस्ल जलेको इतिहास जोगाउन कसले सक्छ भन्ने प्रश्न गर्छन् ।



उनी भन्छन्," अब केले सक्छ समुल जलेको इतिहास जोगाउन
÷फूलको सुगन्धले
÷आधुनिक अत्तरले ÷
वा अर्को बहादुर खोजीले त्यस्तै अर्को कविता 'मेरो राष्ट्रगीत' मा कवि राष्ट्रप्रेमी बन्न खोजेका छन् । कवितामा शब्दहरुको मेल छ । गहन शब्दको प्रयोग भएपनि कवितामा एक किसिमको लयबद्धता छ । चौथो कविता 'साक्षी' बाट नै कविता सङ्ग्रहको नाम राखिएको हो । कवितामा कविले आफूलाई घामको प्रतिक मानेका छन् । घाम प्रत्येक बिहान उदाउँछ र साँझ ओइलाउँछ । मानव जिवन पनि त्यस्तै भएको छ । उनी जिवनको अवधिमा देखेका र भोगेका घटनाहरुको साक्षी भएका छन् । अनौठो छ जिजिविषा । १८५० मा जङ्गबहादुरले युरोप भ्रमण गर्दा हिँडेको बाटो उही छ । मात्र समय फेरीएको छ । समयले आदिमकालको प्लेटोनिक अन्धकार पार गर्दै भूमण्डलीकरणको उत्तरआधुनिक जालोसम्म आइपुगिसकेको छ । समयका यी टुंगोहरु नमेटिने रंगले अब लेखिनेछ । कवि देशको नागरिक भएको कारणले 'देशको साक्षी' बन्ने रहर गर्छन ।



यस कविता सङ्ग्रहमा 'झन्झावात,अन्तर्घात,यात्रा जो टुंगियो,घेराबन्दी, ढोका गरी छत्तिस कविताहरु सङ्ग्रहित छन् । कविताहरु चार भागमा विभाजित छन् । 'साक्षी' मा बाह्र कविताहरु 'लन्ली प्लानेट र अरु कविता' मा पाँच 'ढिलो अन्तरालमा' सात र 'प्रस्थान' मा बाह्र कविताहरु छन् । पाखा लगाउँदै आकारहरु कवितामा कवि लेख्छन्



'गुडबाईको हात हल्लाउँदै कोही जानेछ यो गाउँलाई छोडेर

बाटोभरि उडेको धुलोले आँखाभरि र

हिँड्न बाँकी बाटोको खुड्किलो ढाक्नेछ

अलि परबाट आफैंलाई हेरिरहेको खाली म

नाउसियामा उमि्रएको भुते आकारलाई

क्रमश ः नियालिरहनेछु । -पृष्ठ-४९



छोडेर जाने ठाउँमा उनको प्रतिनिधित्व गर्ने काम तस्विरले गर्दछ जसलॆ उनी हुनुको सम्पूर्ण ठाउँ ओगटिदिन्छ । पाखा लाग्दै जान्छन् सम्झनाका आकारहरु र बिगत बन्दछन् । गुडबाईको हात हल्लाउँदै यसैगरी कोही गाउँलाई छोडेर जानेछ । 'बेसीको जात्रा' कवितामा कवि बेसीमा लागेको बजारको मायालु तस्विर सम्झन्छन् र त्यसलाई पुरानो कथासँग जोड्छन् । सङ्ग्रहको 'प्रस्थानु चरणमा रहेको कविता हो 'एक्जिट २०-१०' । त्यस्तै 'पच्चिस बसन्तपछि' कवितामा कवि लेख्छन्



'आज पनि म त्यही किनारमै छु

त्यही सिस्नेरी खोलाको छेउ र आँपको सियालमा छु ।

सोधेको छैन मैले

मेरा साथीहरु कहाँ छन्

कहाँ पुगेर थकाई मार्दै छन् ।

उकालोमा हिँड्दै होलान् या भीरको बाटोमा

फाँटमा अलमलिए होलान् या खोलाको घाँचमा

पच्चीस वर्षपछि आज आफैंलाई सोधिरहेछु मू - पृष्ठ-९०



उमेर पार गर्नु लामो दूरी पार गर्नु झैँ भएको थियो उनलाई । सोचेका बाटोहरु हिँडेपछि आफू पूर्ण हुनेछु भन्ने विश्वास थियो । तर ती सब भ्रम मात्र भए । अहिले उनलाई सोचेका कुराहरु पूरा भएका छैनन् जस्तो लाग्छ । मात्तिएको सभ्यता आफ्नै चिहान खन्न उद्दत संस्कृति अथवा आँखाका नानीहरुले समात्न नसक्ने उज्यालो आफ्नो लागि होइन जस्तो लाग्छ । 'कपाल फुल्नुअघि' यस कविता सङ्ग्रहको अन्तिम कविता हो । यसमा कवि निकै सकारात्मक देखिएका छन् । उनी कपाल फुल्नुअघि आफ्नो पहिचान बनाउन चाहान्छन् । "समयको सडकमा उमेरको एकइन्च पनि नगुड्ने जाममा दौड जित्नु छ आकार बदल्नु छ ।", उनी भन्छन् ।



कृति : कविता सङ्ग्रह

कवि : नारायण श्रेष्ठ

प्रकाशक : फाइनपि्रन्ट आइएनसी

पहिलो संस्करण : माघ २०६७

मूल्य रु : १५०।

Nov 7, 2011

कागजको डुङ्गा



                                                   
(प्रकाशित: नेपाल साप्ताहिक)                          — सबिना सिन्धु

बाटो खोज्दै अल्मल्लिईरहेछु कागजको डुङ्गा चढेर
परिवर्तनका वाहक पानीका
बूँदहरुसँग साटिरहेछु एउटा गुणस्तरहीन सपना ।


अन्तिम गन्तब्यको हिसाब गर्दै
नियालिरहेछु विश्व मानचित्रमा म पुग्ने देश ।


खै आएकै छैन सूर्योदय आफ्नै ब्रहम्को मान्द्रोभरी ।
न भेटाएको छु आफ्नो असली अनुहार ।
हुनसक्छ पानी भ्रम हो ।
लहर अर्धसत्य हो र डुङ्गा अर्धसत्य हो ।


मान्छेहरुको माझमा गुमाएर आफ्नो कुटिल अनुहार
उत्तरआधुनिक हावाको तपाक्रम नाप्दै…॥†††
पलायन हुने सपना देख्छु देशबाट निकै टाडा ।


छताछुल्ल पोखेर तरङ्गलाई
प्रहरै पिच्छे खियाईरहेछु कागजको डुङ्गा
नदी पोखरी र तालहरुमा ।


थाहा छैन
विश्वास छ वा छैनआफैं प्रति वा आफ्नो देश प्रित
तर छ असन्तोषको ज्वालामुखी र एउटा अट्टाहस म भित्र ।


शरिरका बाङ्गाटिङ्गा रेखाहरुले
खिचेको छ तन्नेरी मनको साम्राज्य ।
विच्छ्यौना जस्तै ओच्छिएका छन् समयका पदचाप
र त्यहाँ छरिएका छन् मेरा यिनै सपना ।


थाहा छैन किन फैलिन्छ पानीमा आफ्नै छायाँ
किन बग्छ त्यो लहरमा कागजको डुङ्गा
किन अल्झिन्छन् तन्नेरी त्यही छायाँको प्रेममा

Follow by Email