Sep 29, 2010

भुवन ढुङ्गनाको धर्मबिम्ब


- सबिना सिन्धु






(प्रकाशित: मधुपर्क मासिक)
कथाकार भुवन ढुङ्गानको 'धर्मबिम्ब' कथाकृति प्रकाशनमा आएको छ । यस कृतिमा बीस कथाहरु सङ्ग्रहित छन् । प्रायश ः कथामा समय सुहाउँदा पात्रहरु बिम्बात्मक रुपमा देखा परेका छन् । पहिलो कथा 'परिचय' मा ब्यक्तिले आफूलाई चिनाउन खोज्दा-खोज्दै पनि सक्दैन । उसको नाम भन्दा महत्वपूर्ण भएर देशको नाउँ आउँछ । देशलाई चिनाउन सक्ने 'माउन्ट एभरेष्ट' अर्थात सगरमाथाको नाउँ आउँछ । आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेर परिचयहिन भईरहेका छौं हामी कथाकार भन्छिन् । अर्को कथा 'भूमि'मा कथाकी प्रमुख पात्र 'रानू भाउजू' ले आफुलाई भुमिको रुपमा देख्छिन् र लोग्नेलाई अकाशको रुपमा । उनी माटो भईन् अनि मलिलो भूमि बनेर अन्न उब्जाईन् । 'शुन्य','भोक' र 'घरपालुवा' भावपरक कथा हुन् । जसमा पाठकले विषयवस्तुको मेलो कथाको अन्त्यमा मात्र पाउँछ । त्यस्तै अर्को कथा 'एउटा कुखुराको मृत्यु' मा वर्डफ्लु आतङ्कबाट त्रसित वीरमानको मनोविश्लेषण छ । 'प्रत्यक्षदर्शी', 'तालु' र 'बकसपत्र', बौद्धिक पाठकलाई लक्षित गरी लेखिएका कथाहरु हुन् ।

'धर्मबिम्ब' यस कृतिको शिर्ष-कथा हो । यसमा आमाले पूजा गर्दा बजाउने घण्टलाई नारी र पुरुषको जिवनको सार र जिन्दगीको अन्तिम निष्कर्षको रुपमा उतारेकी छिन् । यो कथा बौद्धिक मात्र होइन यौनिक चेतनाबाट पनि प्रभावित छ । भुवन ढुङ्गानाका कथाहरु छोटा र सरल भाषामा लेखिएका छन् । प्रस्तुतीकरणमा शब्द शिल्पको कुशल प्रयोग छ । कथाका पात्रहरु सामाजिक पात्रहरु नै हुन् तर बिम्बको प्रयोगले गर्दा उनका कथाहरु परम्परागत कथाहरु भन्दा पृथक देखिएका छन् । चरित्र चित्रण युगचेतना पीडाबोध सामाजिक उतारचढावहरु र अस्तित्वको खाजी कथामा भेटिने विषयवस्तु हुन् । प्रत्येक कथाको आफ्नै विशेषता छ ।

टेकवीर मुखियाको आवरणकलामा सजिएको धर्मबिम्ब कृति २०६४ सालमा साझा प्रकाशन पुल्चोकले प्रकाशनमा ल्याएको हो । यस कृतिको मुल्य रु सत्तरी राखिएको छ ।



कृति ः धर्मबिम्ब

कथाकार ः भुवन ढुङ्गाना ।

प्रकाशक ः साझा प्रकाशन ।

संस्करण ः पहिलो २०६४

मूल्य रु ः ७०।-