Sep 15, 2013

भाषण छाँट्नु छैन !



 Photo Source :http://st.depositphotos.com/
  
प्रकाशित नेपाल साप्ताहिक   


                                               — सबिना सिन्धु


अनावश्यक विरोध गर्नु छैन कसैको,
फरक मत विचार र मान्यतामा
अबरुद्ध गर्नु छैन कसैको वैचारिक स्वतन्त्रता ।

अन्धाधुन्द उर्लिएको अर्थहिन जुलुसमुनि
किचिनु छैन ।
बिर्सिएर आफ्नो स्वाभिमान कुनै पार्टिको
झण्डा समाउनु छैन ।

भट्याउनु छैन कुनै ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा
न त गाउनु नै छ कसैको स्तुतिगान ।
पतन भएकाहरुको लिस्टमा पर्नु छैन मलाई ।

सफल हुननसक्ने नाटकमा झैं
कुनै कमजोर कलाकारको अभिनय गर्नु छैन ।

हेर्नु छैन मलाई डेट सक्किएको पूरानो क्यालेण्डर
खुम्च्याउनु छैन भग्नावशेष बनेको त्यो समय
सत्य कमरेड,
मलाई निन्दाको पात्र बन्नु छैन ।

भाषण छाँट्नु छैन भाडाको माइकमा
न सम्झनुछ रङ्गहीन पुरानो तस्विर
खिल्ली उडाउनु छैन कसैको ।

थाहा छ जनताका कठिन संघर्षका समयहरु
इतिहासका कालखण्डहरु
अहँ बल्झाउन चाहान्न, दुखेको घाऊ ।

अनाहकमा न त विरोध गर्नुछ कसैको
न त समर्थन ।
अनावश्यक जान्ने बुझ्ने देखाएर
समय भन्दा धेरै अगाडि कुद्नु छैन,
कुनै जुझारु नेता झै भाषण छाँट्नु छैन ।
सत्य कमरेड मलाई निन्दाको पात्र बन्नु छैन ।