Dec 12, 2013

चिहान उठ्छ


Pic  Source : glittergraphics, internet

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर

मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ



जे होस् चिहान उठ्छ ।


ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ असन्तुष्टिका भाग्य रेखा



अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ



जे होस् चिहान उठ्छ ।


Nov 1, 2013

माछो र आइमाई




                 Pic Source : http://actually-a-mermaid.tumblr.com/post/20596747983




                       Pic Source :  http://www.layoutsparks.com/pictures/pisces-0


कथा

                 
                                                         
  — सबिना सिन्धु

               
१. कथा सत्र (निष्क्रिय सत्र)

    ऊसँग कुचि थियो रङ्गका बट्टाहरु थिए । चित्र बनाउने क्याभास थियो । उसको रहस्मय मुहारले असन्तुष्टिको सङ्केत गरिरहेका थिए । ऊ भन्दै थियो, “म मास्को शहरमा कलाकारिता विषय पढ्न गएको थिएँ । त्यहाँ एउटी असल शिक्षिका थिइन् । उनी राम्री थिइन् । त्यो भन्दा बढी उनी बौद्धिक थिइन् ।

उनी कलाकारितामा पनि पोख्त थिइन् । उनलाई कुनै सामान्य नामले बोलाइन्थ्यो । मैले उनको वास्तविक नाम के थियो भन्ने कुरा चाल पाइसकेको थिएँ । उनी नीलो रङ्गको लुगा लगाउँथिन् । त्यसैले मैले उनलाई नीलो दहकी परी, समुन्द«की राजकुमारी र जल देवी भन्न रुचाएँ उनका ती उपनामहरु केबल मेरो मन भित्र मात्र सिमित रहन पुगे । उनी मेरी शिक्षिका मात्र थिइनन् सहृदयी मित्र पनि थिइन् ।”


(मलाई लाग्यो ऊ आफ्नो जिन्दगीको रमाइलो प्रेम कहानी सुनाउन लागिरहेको छ । उसले क्यानभासमा एउटी तरुनी युवतीको स्केच बनायो )—

“उनी मेरी शिक्षिका हुनु भन्दा पच्चिस वर्ष अघि शायद यस्तै थिइन् । उनी जँड्याहा लोग्नेसँग बस्थिन् जो फुर्सदमा बहुलठ्ठी साथीहरु बटुलेर ‘जुवा—घर’ जान रुचाउँथ्यो । मलाई उनको सौन्दर्यसँग कुनै सरोकार थिएन तथापी उनको दूरदृष्टि र बौद्धिकताको तारिफ गर्थेँ । उनलाई भलाद्मी र राम्री (असल) भन्न रुचाउँथे । कुनै दिन म उनको घर जाँदा उनको जँड्याहा लोग्ने आँखा बन्द गरेर बसिरहेको थियो । ऊ निदाएको भने थिएन । ऊ सँधै यसैगरी आराम गर्ने गथ्र्यो । दाहिृजुङ्गा पालेको हुनाले उग्र स्वभावको स्वाँठ जस्तो देखिन्थ्यो । भित्तामा चित्रहरु टाँगिएका थिए । कोठामा एक्वेरियम सजाईएको थियो । जहाँ माछाहरु ‘बासी’ पानीमा पौडिरहेका थिए । मैले एक्वेरियम, पानी र माछाको चित्र बनाउँदा उनको लोग्ने निधार खुम्च्याएर मलाई हेरिरहेको थियो । यो कथाको मुख्य पात्र त्यही एक्वेरियम भित्रको माछो हो ।”


( श्रोता हुनुको सिङ्गो मानसिकता बोकेर म कलाकारका कुराहरु निर्धक्क सुनिरहेको थिएँ । उसले विषयवस्तु अन्तै मोड्यो र धाराप्रवाह रुपमा बोल्न थाल्यो ।)

    “आफ्नै छिमेककी रैथाने आइमाईसँग मेरो बिहे भयो । मैले उसलाई कहिल्यै प्रेम गरिन वा गर्न चाहिँन । बिहे भएको पहिलो दिन मैले उसलाई राम्री देखेँ । केही समय पछि उसलाई सामान्य देख्न थालेँ  र त्यसपछि ऊ मेरो अगाडि कुरुप देखिन थाली । ऊ आधा रातसम्म जागा बसेर मेरो बाटो कुर्थी । फुर्सदमा मास्कोमा हुर्किएका तरुनी युवतीहरुको चित्र हेर्थी । ऊ मान्छे थिइन माछो थिई । म नचाहेर पनि ऊ सँग नजिकिन बाध्य थिएँ । प्रकृतिको रातो गुलाफको अगाडि ऊ साह्रै फिक्का लाग्थी । म उसलाई घृणा गर्थेँ किनकी ऊ मेरी स्वास्नी थिई । उसका आँखाहरु गिद्धका आँखा जस्तै देखिन्थे । नाक सुगाको घोप्टिएको थुतुनो जस्तो लाग्थ्यो । उसको लामो—लामो कपाल, फोहर बढार्ने कुचोको तल्लो भाग जस्तै देखिन्थ्यो । मान्छेहरु उसको सौन्दर्यको तारिफ गर्थे । उसको लामा—लामा कपालको चर्चा गर्थे । क्षमता, प्रतिभा र बौद्धिकता नभएका आइमाई ‘माछो’ भन्दा बढी केही होइनन् । एकदिन घरमा आएको आँधिबेरीले सडेको माछाको दुर्गन्ध मेरो नाकसम्म ल्याएको थियो । कल्पनाको विशाल डुङ्गामा चढेर मैले आफुलाई मन्दिरको गजुर भन्दा ठूलो महशुस गरेको थिएँ ।”

    (उसले अर्को चित्रको स्केच खिच्यो । एक्वेरियमको, माछाको र नीलो पानीको । यस भन्दा अघि बनाएको चित्र अधुरो नै थियो । मैले मास्कोकी शिक्षिकालाई सम्झेँ । उसले मेरो आशय बुझे झैँ गरी मलाई हेर्यो  र फेरी बोल्न थाल्यो ।)

“स्त्रीको आत्मा हुँदैन । उनीहरु लगभग पशु जस्तै हुन्छन् । मास्कोकी शिक्षिका, उनी आइमाई थिइन् तर उनमा पुरुषको दृढता थियो । उनको जँड्याहा लोग्नेले घरमा आगो सल्काइरहन्थ्यो । ऊ स्वास्नीसँग झगडा गथ्र्यो । मौका परे पैसा चोथ्र्यो र आनन्दसँग सुनसान ठाउँमा गएर निदाउँथ्यो । डल्फिन माछा झैं उफ्रिएर उनले एक्वेरियमको परिधि नाघिन् र मान्छे भइन् ।”

    (“अनि तिम्री स्वास्नी नी ?, मैले सोधेँ)

“ऊ माछो भएर जन्मेकी थिई र माछो नै भइरहन चाही । उसका रहरहरुले महत्व राखेनन् । उसको अस्मितामा प्रश्नचिन्ह ठाडियो । चराहरुलाई हेरिरही उसले, तर पँखेटा फिँजाएर स्वतन्त्रतापूर्वक उड्न खोजिन । ऊ जन्मँदा उसकी आमाले प्रसस्त साउने झरी झारेकी थिइन् आँखाबाट । त्यही झरीलाई कैद गरेर कुनै भाँडामा जम्मा गरिन् उनले । त्यस भाँडोलाई ‘माछो—घर’ भनियो । पढेलेखेका विद्धानहरुले त्यसलाई एक्वेरियम÷अक्वेरियम भने । त्यही ‘माछो—घर’ को चारदिवार भित्र कैद भएर हुर्किएकी थिई मेरी स्वास्नी । नीलो कोभ्रिनाज माछा र गुलाफि स्यापियर माछा भन्दा बढी केही थिइन ऊ मेरो लागि । ऊ निश्चित परिधि भित्र थिई, लक्ष्मणरेखा भित्र थिई । एक्वेरियम बाहिर फर्फराए नारी स्वतन्त्रताका झण्डा । ऊ अनज्ञि भएर पौडिरही छट्पटाईरही एक्वेरियम भित्र । उसले खेतको आलि नाघ्न सकिन । उसलाई मान्छे हुनबाट रोक्ने ‘माछो—घर’      (एक्वेरियम) लाई चकनाचुर बनाएर फुटाउन सकिन ।“मेरी स्वास्नी इटालीको पिसा कम्पनाइल हो । ऊ बाउन्न फिट ब्यास भएको आठ तले गोलाकार धरहरा हो । जो झुक्नुमा नै गर्व गर्छ र लिनिङ्ग टावरको नामले प्रसिद्धि कमाएको छ । ऊ आफैंमा ‘माछो—घर’ भित्रको अन्धकार युग हो ।”

    (कलाकार र उसले वर्णन गरेकी मास्कोकी शिक्षिकाको मुर्ख लोग्ने एउटै सन्दुस भित्रको दुईवटा एल्बम झैं लाग्यो  मलाई । ............उस्तै तस्विर मात्र एल्बम फरक । कलाकार बोलेर थाकेको थिएन । ऊ बोल्दै थियो ।)

    “मेरी स्वास्नी ! उसले आफु जस्तै माछो जन्माई । माछो पाल्ने चम्किलो सिसाको भाँडोमा मैले ऊसँगै उसकी छोरीलाई राखेँ । म उसकी छोरीलाई पनि घृणा गर्छु । गाउँका सोझा माछाहरु खुला बजारमा बेचिन्छन्, बम्बेका कोठिहरुसम्म पु¥याईन्छन् । बाबु आमाले शहरमा माछाहरु सुन्दिरी प्रतियोगिताको लागि उत्पादन गर्छन् । आफ्नो बौद्धिकता ठम्याउन नसकेका निरही प्राणी माछो बाहेक केही होइनन् । ‘मेरी स्वास्नीकी छोरी’ पनि कुनैदिन ठूली हुन्छे । कुनै रहरलाग्दो ठिटाले आफ्नो कोठाको सौन्दर्यको लागि एक्वेरियम भित्र सझाउनेछ । जसरी मैले.............”

( त्यसपछि उसले के भन्यो मैले सुन्न चाहिँन । कलाकार एक पाङ्ग्रे गाडा बनेर एक्लै गुडिरहृयो र त विकासको गति मन्द भयो । हरेक आइमाईलाई माछो देख्ने कलाकारले मलाई पनि माछो देखिरहेको थियो । उसकी स्वास्नी र सानी छोरी सम्झेर टिठ लाग्यो । ऊ एकतमासले भट्याउँदै थियो । )

“मान्छे बन्न आफ्नै गोडाले उभिनुपर्छ । आफ्नै आँखाले हेर्नु पर्छ । आफैँले पहिल्याउनुपर्छ आफ्नो बाटो । मेरी स्वास्नी मास्कोका तरुनी युवतीहरुको चित्र हेरेर सन्तुष्ट थिई । उसले कहिल्यै अधबैंशे शिक्षिकाको चित्र रुचाइन । ऊ म माथि लहरो झैं बेरिन चाही अथवा परजिवी भएर बाँच्न चाही ।”

२. सक्रिय सत्र

    हामी रिमस, गिर्जाघरको अब्राहम र मेल्चिदेकको मुखामाुख गरेर वार्तालाप गरिरहेको गोथिक मुर्ति झैं देखिएका थियौं । मैले कलाकारलाई चुप लाग्ने इशारा गरेँ र ठूलो स्वरले चिच्याएँ, “तिमी मान्छे (आइमाई) लाई माछो बनाउने प्रकृतिविरोधि हौ । तिमी मास्कोकी शिक्षिकाको बहुलठ्ठी लोग्ने भन्दा कम छैनौ । तिमीले मात्र बनाएको चित्र, अधुरो हुन्छ कलाकार ! अधिकार मागेर पाईँदैन । मैले रङ्ग खोसेँ, कुचि खोसेँ । म आइमाई हुँ, ‘माछो’ होइन । मैले पनि पाउनुपर्छ ‘नयाँ युगको चित्र बनाउन ’ 
    मैले नदीको चित्र बनाएँ । चित्रमा ‘माछो—घर’ अर्थात एक्वेरियम विस्तारै फुट्न थाल्यो । माछाहरु एकाएक नदीमा हामफाले झै लाग्यो । किनारासम्म आइपुगेर उनीहरु मान्छे भएर देखा परे । कलाकारकी स्वास्नी मलाई साथ दिन आई । कलाकारकी छ सात वर्षे छोरी भुँईमा बसेर खेलौना हेलिकप्टरमा पँखेटा जोड्दै थिई । ऊ उभिई सेलिस्वरी मैदानमा ठिङ्ग उभिएको स्टोनहेज स्मारक जस्तै । असहमतीको अन्तिम सडक नाघेर हामी उज्यालो द्धार (ढोका) भित्र छिर्यौं । कलाकारले सानी छोरीलाई म्वाँई खायो र स्वास्नीलाई अँगालो हाल्यो । अब नदीका दुई धारहरु समानान्तर हुनेछन् । सामाजिक सँस्कारको परिधिले माछो बनाउने छैन कुनै आईमाईलाई । हामी समयको सेतो क्यानभासमा सम्भावनाका सुकिला रङ्गहरु छर्न बसेका छौं । आउनुहोस् हामीलाई साथ दिनुहोस् — हामी नयाँ युगको चित्र कोर्न बसेका छौं ।
 

Sep 26, 2013

लामखुट्टे र कार्यशाला

हामी बिमा बालकथा लेखनको लागि बलथली भिलेज रिसोर्ट, काभ्रेमा थियौँ । दिइएको समय जम्मा तीन दिन थियो । पहिलो दिन हामीले कथा लेखेनौ‌ । बल्ल दोस्रो दिन लेख्यौ‌ । सबैको कमेन्ट गर्नुभयो रमेश सर र बिनय सरले । आखिर कथा फाइनल भयो । मैले चाहीँ तेस्रो पक्षको बिमालाई फोकस गरेर लेख्‍न खोजेको थिएँ । दिदी इन्दिरा दलीको देश बाहिरका भ्रमणका अनुभवहरु सुनेर सारै रमाइलो लाग्यो । साथीहरु धेरै जना हुनुहुन्थ्यो । बहिनी पलपलको पलपल साथ । अनुराधा शर्माजीले सुनाउनु भएका कुरा । विजय दाइको अत्याउने बानी । हलमा र खाना खाने समयमा लामखुट्टेको टोकाइ । नेत्र,उत्तम,श्याम,केशरी जस्ता साथीहरु । अनन्त दाइ,गिता,ललिता र सुधा त्रिपाठी --दिदीहरु । हलमा अलिअलि लामखुट्टेको धुपको बास्ना । जिवन परिवर्तन गर्न सक्ने भिडीयो । रमाइलो गरी नै पढीयो र लेखियो पनि । नयाँ कुराहरु जानियो । त्यस बिषयवस्तुमा  राम्रो कथा बन्दैन होला भन्ने सोचेपनि आखिर कथा बन्यो नै ।

Sep 15, 2013

भाषण छाँट्नु छैन !



 Photo Source :http://st.depositphotos.com/
  
प्रकाशित नेपाल साप्ताहिक   


                                               — सबिना सिन्धु


अनावश्यक विरोध गर्नु छैन कसैको,
फरक मत विचार र मान्यतामा
अबरुद्ध गर्नु छैन कसैको वैचारिक स्वतन्त्रता ।

अन्धाधुन्द उर्लिएको अर्थहिन जुलुसमुनि
किचिनु छैन ।
बिर्सिएर आफ्नो स्वाभिमान कुनै पार्टिको
झण्डा समाउनु छैन ।

भट्याउनु छैन कुनै ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा
न त गाउनु नै छ कसैको स्तुतिगान ।
पतन भएकाहरुको लिस्टमा पर्नु छैन मलाई ।

सफल हुननसक्ने नाटकमा झैं
कुनै कमजोर कलाकारको अभिनय गर्नु छैन ।

हेर्नु छैन मलाई डेट सक्किएको पूरानो क्यालेण्डर
खुम्च्याउनु छैन भग्नावशेष बनेको त्यो समय
सत्य कमरेड,
मलाई निन्दाको पात्र बन्नु छैन ।

भाषण छाँट्नु छैन भाडाको माइकमा
न सम्झनुछ रङ्गहीन पुरानो तस्विर
खिल्ली उडाउनु छैन कसैको ।

थाहा छ जनताका कठिन संघर्षका समयहरु
इतिहासका कालखण्डहरु
अहँ बल्झाउन चाहान्न, दुखेको घाऊ ।

अनाहकमा न त विरोध गर्नुछ कसैको
न त समर्थन ।
अनावश्यक जान्ने बुझ्ने देखाएर
समय भन्दा धेरै अगाडि कुद्नु छैन,
कुनै जुझारु नेता झै भाषण छाँट्नु छैन ।
सत्य कमरेड मलाई निन्दाको पात्र बन्नु छैन । 


Sep 14, 2013

लोरिमालाई चिठ्ठी

   


                                                          — सबिना सिन्धु


प्रेमी शहरको उज्यालोमा

उभ्याएर आफुलाई

यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।

खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।


मेरी लोरिमा !

आगो बाँचेर पानी निल्ने

समयका ओठहरुसँगै

हृदयमा क्षितिज अटाएर

अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।

महल ठड्याएर गाँसिरहेकी छ्यौ

मध्यदिनका सपनाहरुलाई


टेबुलभरी पसारिएका अनियन्त्रित

आँखाहरु बीच

सागर छिचोलेर परेलीहरुबाट

बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।

हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा

नबुझिने इतिहास कोरिरहेकी छ्यौ

अँधेरी रातमा ।



सपनाहरु कमजोर हुन्छन् लोरिमा !

भावनाका फूलहरु, फूल होइनन्

सपनाका बघैंचाहरु , महल होइनन् ।

स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।

उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।


असरल्ल फिँजाएर तन्नेरी छालहरु

केबल गुन्गुनाइरहेकी छ्यौ

प्रेमका सुमधुर गीत


कतै नबज्रियोस् पहाड तिमी माथि

नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी

नभत्कियोस् तिम्रो सपनाको ताजमहल

र चोट नलागोस्,

लम्कन चाहाने गोडाहरुमा ।

Sep 13, 2013

कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर



Pic Source : httpwww.patrol-log.com.jpg


प्रकाशित: मधुपर्क मासिक
                                                                 — सबिना सिन्धु





श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,

विचारको कारोवार गर्छन् ।

आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु

दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।

विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !

सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर

आगोसँगै बाल्छु ।

तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।

सम्पादकबाट अस्विकृत उनका विचार,

टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।

घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।

पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।

कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।

आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा

ताकि उनले,

एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्

र महशुस गरुन् ।

घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,

अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।

अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,

थाहा छ, श्रीमान्,

म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।

Sep 12, 2013

माफ गर्नुहोस् महाशय


Pic Source : www.careerfaqs.com


प्रकाशित: नागरिक 'अक्षर'

                                                                                 — सबिना सिन्धु

माफ गर्नुहोस् महाशय,
कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।
दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।
कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?
कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
कसले गर्‍यो अक्षरमा केरमेट ?
भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !
कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?
अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको
औंठाको प्रष्ट पहिचान ।
माफ गर्नुहोस् महाशय,
किन लेखियो मनगणन्ते लेखाई ।
बुझ्नै सकिन, कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !

Jan 27, 2013


प्रकाशितः मिर्मिरे मासिक

कृति परिचय

— सबिना सिन्धु

तान्या, इन्द्रकमल र अन्धकार

″बाहिर दलिनमा झुण्डिएका सुनाखरीका पातहरुको छायाँ तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र, केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिँदै बगिरहेको देखिन्थ्यो ।"— तान्या इन्द्रकमल र अन्धकार कथा सङ्ग्रह भित्रका अंश हुन् यी । म पात्र अजित शाक्य रसियाली ब्याले नृत्य दलकी सदस्य तान्या किर्सानोभा अर्थात तानेच्कासँग परिचय गर्छन् । भौगोलिक सिमाको विविधता भएपनि मान्छेमा प्रेम, सद्भाव र मित्रताका साझा भावनाहरु हुन्छन् भन्ने निश्कर्ष कथाले निकाल्छ । ब्रम्हपुत्र, गङ्गा र काबेरीमा जस्तै पेजोरा र लेनामा पनि पानी नै बग्छ । देश भिन्दै भएपनि खेतबारीमा अन्न नै उब्जिन्छ । त्यहाँ ईश्वरत्वको चमत्कारले अरु केही विशेष फल्ने—फुल्ने होइन । त्यतिमात्र होइन, मान्छेका विवशता र दुःखका कथाहरु उस्तै हुन्छन् । कविता, कथा र नाटक तीनै विधामा कलम चलाउने अविनास श्रेष्ठको यो पहिलो कथाकृति हो । बि.सं २०३० सालमा 'कोलाहलमा डुबेको एउटा महानगर’ कथा प्रकाशित भएपछि उनको कथा लेखन यात्रा सुरु भएको हो । ‘तान्या, इन्द्रकमल र अन्धकार’, ‘अन्ततः निरुपमा’, ‘ललिता बाहिर रात परेको छ’ ,‘राक्षस’,‘जुनेली रातकी द्रोपदी’,‘समुन्द्र’, ‘छायाँको पछि’, ‘मृत्युः तिमी अनि केही उदास गीतहरुमा अल्झेर’,‘घर कहाँ छ आनो घर ?’, ‘मायाजाल’ र अस्तित्व गरी ११ कथाहरु सङ्ग्रहित छन् । यी कथाहरु, प्रचलित नेपाली कथाहरु भन्दा भिन्न स्वाद, स्वरुप र बान्किका लाग्छन् । कथाकार आसामी भाषाका साहित्यकार शैयद अब्दुल मलिक, वीरेन्द्र भट्टाचार्य, होमेन बरगोहाई, सौरभ चालिहा, आदिबाट प्रभावित देखिन्छन् । बि.सं २०३२ साल देखि २०४२ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित भईसकेका यी कथाहरुमा अभावग्रस्त जिन्दगी बाँचिरहेको एक्लो, अभिभावकविहीन युवकले देखेको जिवनको पृष्ठभुमी छ । छरिएका कथाहरु तीन दशकपछि मात्र संग्रहको रुपमा आउनु कथाकारको दुर्भाग्य हो । शब्द धाराप्रवाह बगेको हुँदा भाषामा सन्तुलन देख्न सकिन्छ । ‘अन्ततः निरुपमा......’ मा सत्ताईस वर्षे युवक ‘नीलाम्बर’ एकचालिस वर्र्षकी विवाहित महिला ‘निरुपमा’ को प्रेममा पर्छन् । सत्र—अठार वर्षकी निरुपमाकी छोरी ‘मीनाक्षी’ निलाम्बरसँग नजिकिन खोज्छिन् । कथाको अन्तमा, नीलाम्बर मीनाक्षीका लागि नभई आफ्नो लागि न्याय गर्छन् । ‘ललिता बाहिर रात परेको छ’ कथामा ललिताप्रति आशक्त पुरुष ‘यदु’ निसंकोच आङ्खनी पूर्व पत्नी महालक्ष्मी मास्केका बारेमा बताउ“छ । लोग्ने स्वास्नी नरह“दा पनि ती दुबै स“गै बस्छन् । एक अर्काका ‘बेष्ट फ्रेण्ड’ हुन्छन् । कति हलुङ्गो तरिकाले आङ्खनो विवाह र पारपाचुकेको कुरो उसले ललितालाई सुनाउँछ मानौं यी सबै सधै भईरहने सामान्य कुरा हुन् । ‘अस्तित्व’ कथा काठमाडौंको ऐतिहासिक साहित्यिक परिवेशलाई आधार बनाएर लेखिएको प्रयोगवादी कथा हो । साहित्यिक पाठकलाई लक्षित गरिएको यस प्रयोगवादी कथा सामान्य पाठकलाई बुझ्न मुस्किल पर्छ । रत्न पुस्तक भण्डार, बागबजारले प्रकाशनमा ल्याएको यस सङ्ग्रहको मुल्य रु १ सय पैंतालिस राखिएको छ ।

Follow by Email