Sep 13, 2013

कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर



Pic Source : httpwww.patrol-log.com.jpg


प्रकाशित: मधुपर्क मासिक
                                                                 — सबिना सिन्धु





श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,

विचारको कारोवार गर्छन् ।

आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु

दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।

विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !

सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर

आगोसँगै बाल्छु ।

तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।

सम्पादकबाट अस्विकृत उनका विचार,

टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।

घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।

पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।

कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।

आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा

ताकि उनले,

एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्

र महशुस गरुन् ।

घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,

अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।

अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,

थाहा छ, श्रीमान्,

म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।