Jun 13, 2008

पाँच युवा एउटै स्वर


कृति समिक्षा



अबरुद्ध गलाहरु संयुक्त गजल संग्रह हो । यस गजल संग्रहमा एक गजलकारले थालनि गरेको शेरलाई अर्को गजलकारले आफ्नै ढङ्गले शेरहरु थपेको देखिन्छ । भाव पक्ष प्रबल र शब्दको छनौटमा बेजोड संयोग जुटेको छ । वि।सं २०३६ साललाई गजल विधाको पूनरजागरण भन्न सकिन्छ । आयातित विधा भएपनि समय सँगै परिष्कृत हुँदै हाम्रो माटोमा राम्ररी भिजेको छ । गजल विधाले फारसी उर्दू र हिन्दि हुँदै नेपाली साहित्यमा मोतिराम भट्ट मार्फत प्रवेश पाएको हो । श्रृङ्गारिक रसमा चुर्लुम्म डुबेर प्रेमिकाको सौन्दर्य र नारी शरीरको वर्णनमा रमाएको थियो यो विधा प्रारम्भमा । यस विधालाई आफ्नो मुख्य विधा बनाएता पनि संयुक्त रुपमा भिन्न तरिकाले पाँच युवाले अबरुद्द गलाहरु भित्र आफ्नो कौशल पोखेका छन् । अबरुद्द गलाहरु वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यस प्रतिष्ठानका अध्यक्ष दुबसु क्षेत्री आफ्नो प्रकाशकीयमा लेख्छन्," गजलमा प्रेम प्रणयका चर्चा परिचर्चाहरु कम छन् । त्यो भन्दा ज्यादा समकालीनतालाई गम्भीर रुपमा उजागर गरिएको छ । राजनैतिक सामाजिक लगायत मानवीय जिवनका विभिन्न क्षेत्रमा वर्तमान समयमा देखापरेका विकृति विसङ्गगतिजन्य वातावरणमा सबैजना एकै स्वरमा कठोर विद्रोह तीब्र असन्तोष र सोझो ब्यङ्ग्य प्रहार गर्छन् भने समाजका राम्रा पक्षहरुप्रति इमान्दारीपूर्ण नैतिक समर्थन ब्यक्त गर्दछन् ।"

उमेरले दुई दशक पूरा गरी तीन दशक नटेकेका यी पाँच गजलकारहरुका भिन्दा भिन्दै विचारहरु एउटै शिल्पमा गाँसिएका छन् । उनीहरुको् शैली अन्य गजलकारहरुको भन्दा पृथक देखिन्छ । कतै-कतै कठोर परम्परालाई परिवर्तको सिँढी तर्फ उकाल्न खोजे जस्तो र कतै आफ्नो ब्यक्तिगत असन्तुष्टिलाई औल्याउँदै आक्रोश पोखे जस्तो ।



पैसा कमाउन सकिएन र त दुःख पाइयो

त्यसै रमाउन सकिएन र त दुःख पाइयो

-प्रभाती किरण

सोझो मनले सारा दुनियाँ सोझो देख्यो सँधै

मान्छे ठम्याउन सकिएन र त दुःख पाइयो

-लक्ष्मण गगन



गजलकारहरु आफ्ना गजलहरु भित्र चेतनाका स्वरहरु निकालेर परिवर्तनको अपेक्षा गर्छन् । कहीले मानव भएर जन्मनुको पीडालाई ुजीवन-मोह ु तर्फ फर्काउँछन् । माटो टेके पछि बाटोहरु धेरै भेटिन्छन् । तीता सत्यहरुलाई बोध गर्ने सामथ्र्यको विकास गर्दै सर्जक चेतनाद्रारा बौद्दिक निकास खोज्छन् । सुरीलो स्वर बनाएर गायकीय शैलिमा मनोरन्जनको लागि प्रस्तुत हुने भन्दा पृथक रुपमा ठोस तर कुराकानीको शैलिमा जिवन्तता दिन रुचाउँछन् । काफियाको प्रयोगमा नौलेा र आक्रामक काफियाहरुको प्रयोग गर्छन् । उही काफियाको पूनरावृत्ती भएको छैन । बारम्बार दोहोरिरहने रदिफको प्रस्तुतिकरणमा पनि रमाइलो पन भेटिन्छ । एक गजलकारले पकि्रएको धागोमा अर्को गजलकारले फूल उन्न थालेझैँ लाग्छ र अन्त्यमा पाँच जनाको सहमतीमा पाँच शेरको सिङ्गो गजलरुपी एउटै माला बन्न पुग्छ ।





चन्डालको अनौठो चाला देखेर झस्केँ

घाँटिमा रुद्राक्षको माला देखेर झस्केँ



-रुपक वनवासी



सोचेँथेँ आज त पक्कै भेटघाट हुन्छ ।

तिम्रो दैलोमा भोटे ताला देखेर झस्केँ

-लक्ष्मण गगन



गजलमा विभिन्नता पस्कन चुकेका छैनन् यी गजलकारहरु । उनीहरु प्रेम र धोकाका मानवीय संस्कारलाई पनि पस्किन्छन् आफ्नो गल्तिलाई स्विकार गर्दै । विषयवस्तुको विविधतलाई भने मान्नै पर्छ । प्रायजसो गजलमा लयबद्धताको अभाव देखिन्छ तर यिनीहरु भाव मार्फत नै उठ्न चाहेका छन् । गजलका शेरहरु कमजोर छैनन् । कतै कोही चुक्न लागे तल्ला शेरहरुले पुनः उठान गर्न खोजेका छन् । गजलकारहरु आफ्ना भावनाहरु यसरी पोख्छन् ।



थरीथरी फूल सजाउने धोको तिम्रो

मन भित्र फुल्न सकिन गल्ती मेरैे हो

-वालकृष्ण रेग्मी



म धर्तीको धूलो जून जस्ती तिमी छुन

अलि माथि उठ्न सकिन गल्ती मेरै हो

-निर्जन मनोज



अन्त्यमा पाँच गजलकार प्रभाती किरण रुपक वनवासी वालकृष्ण रेग्मी निर्जन मनोज र लक्ष्मण गगनको संयुक्त गजल संग्रह 'अवरुद्ध गला'हरु लाई शुभकामना । उनीहरुले चाहाना राखे झैं गजल हरेकको घरमा पुगोस् गोठमा पुगोस बालकदेखि बृद्धको ओठमा पुगोस् ।

-

Just a remembarance