— सबिना सिन्धु
प्रेमी शहरको उज्यालोमा
उभ्याएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।
मेरी लोरिमा !
आगो बाँचेर पानी निल्ने
समयका ओठहरुसँगै
हृदयमा क्षितिज अटाएर
अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।
महल ठड्याएर गाँसिरहेकी छ्यौ
मध्यदिनका सपनाहरुलाई
टेबुलभरी पसारिएका अनियन्त्रित
आँखाहरु बीच
सागर छिचोलेर परेलीहरुबाट
बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।
हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा
नबुझिने इतिहास कोरिरहेकी छ्यौ
अँधेरी रातमा ।
सपनाहरु कमजोर हुन्छन् लोरिमा !
भावनाका फूलहरु, फूल होइनन्
सपनाका बघैंचाहरु , महल होइनन् ।
स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।
उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।
असरल्ल फिँजाएर तन्नेरी छालहरु
केबल गुन्गुनाइरहेकी छ्यौ
प्रेमका सुमधुर गीत
कतै नबज्रियोस् पहाड तिमी माथि
नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी
नभत्कियोस् तिम्रो सपनाको ताजमहल
र चोट नलागोस्,
लम्कन चाहाने गोडाहरुमा ।