Mar 17, 2009

म एक तन्नेरी मोनालिसा (कबिता)


- सबिना सिन्धु



सम्भावनाको भविष्य लम्कँदै

जिन्दगीको खाता पल्टाउँदैछे

समयको परिशिष्ट भित्र

जोडफल र योगफलको

अङ्कगणितमा बाँधिएकी

तन्नेरी मोनालिसा ।



जागि्रत मोनालिसा हाँसेर

बग्दैछे माथि छहराबाट

हामफाल्न तयार भएको

झरनाको श्वेत पानी झैं ।



आवश्यकताका सूचनाहरु पढ्दै

आकृतिहरुकी मोनालिसा

दियोमा बल्दै छे

सतीमा होमिएको

एक जिउँदो लाश भएर



……म र म जस्तै

एक तन्नेरी मोनालिसा ।



- साभार
'सुर्योदयको क्यानभास' कविता सङ्ग्रह २०६१ बाट