Sep 26, 2013

लामखुट्टे र कार्यशाला

हामी बिमा बालकथा लेखनको लागि बलथली भिलेज रिसोर्ट, काभ्रेमा थियौँ । दिइएको समय जम्मा तीन दिन थियो । पहिलो दिन हामीले कथा लेखेनौ‌ । बल्ल दोस्रो दिन लेख्यौ‌ । सबैको कमेन्ट गर्नुभयो रमेश सर र बिनय सरले । आखिर कथा फाइनल भयो । मैले चाहीँ तेस्रो पक्षको बिमालाई फोकस गरेर लेख्‍न खोजेको थिएँ । दिदी इन्दिरा दलीको देश बाहिरका भ्रमणका अनुभवहरु सुनेर सारै रमाइलो लाग्यो । साथीहरु धेरै जना हुनुहुन्थ्यो । बहिनी पलपलको पलपल साथ । अनुराधा शर्माजीले सुनाउनु भएका कुरा । विजय दाइको अत्याउने बानी । हलमा र खाना खाने समयमा लामखुट्टेको टोकाइ । नेत्र,उत्तम,श्याम,केशरी जस्ता साथीहरु । अनन्त दाइ,गिता,ललिता र सुधा त्रिपाठी --दिदीहरु । हलमा अलिअलि लामखुट्टेको धुपको बास्ना । जिवन परिवर्तन गर्न सक्ने भिडीयो । रमाइलो गरी नै पढीयो र लेखियो पनि । नयाँ कुराहरु जानियो । त्यस बिषयवस्तुमा  राम्रो कथा बन्दैन होला भन्ने सोचेपनि आखिर कथा बन्यो नै ।

Sep 15, 2013

भाषण छाँट्नु छैन !



 Photo Source :http://st.depositphotos.com/
  
प्रकाशित नेपाल साप्ताहिक   


                                               — सबिना सिन्धु


अनावश्यक विरोध गर्नु छैन कसैको,
फरक मत विचार र मान्यतामा
अबरुद्ध गर्नु छैन कसैको वैचारिक स्वतन्त्रता ।

अन्धाधुन्द उर्लिएको अर्थहिन जुलुसमुनि
किचिनु छैन ।
बिर्सिएर आफ्नो स्वाभिमान कुनै पार्टिको
झण्डा समाउनु छैन ।

भट्याउनु छैन कुनै ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा
न त गाउनु नै छ कसैको स्तुतिगान ।
पतन भएकाहरुको लिस्टमा पर्नु छैन मलाई ।

सफल हुननसक्ने नाटकमा झैं
कुनै कमजोर कलाकारको अभिनय गर्नु छैन ।

हेर्नु छैन मलाई डेट सक्किएको पूरानो क्यालेण्डर
खुम्च्याउनु छैन भग्नावशेष बनेको त्यो समय
सत्य कमरेड,
मलाई निन्दाको पात्र बन्नु छैन ।

भाषण छाँट्नु छैन भाडाको माइकमा
न सम्झनुछ रङ्गहीन पुरानो तस्विर
खिल्ली उडाउनु छैन कसैको ।

थाहा छ जनताका कठिन संघर्षका समयहरु
इतिहासका कालखण्डहरु
अहँ बल्झाउन चाहान्न, दुखेको घाऊ ।

अनाहकमा न त विरोध गर्नुछ कसैको
न त समर्थन ।
अनावश्यक जान्ने बुझ्ने देखाएर
समय भन्दा धेरै अगाडि कुद्नु छैन,
कुनै जुझारु नेता झै भाषण छाँट्नु छैन ।
सत्य कमरेड मलाई निन्दाको पात्र बन्नु छैन । 


Sep 14, 2013

लोरिमालाई चिठ्ठी

   


                                                          — सबिना सिन्धु


प्रेमी शहरको उज्यालोमा

उभ्याएर आफुलाई

यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।

खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।


मेरी लोरिमा !

आगो बाँचेर पानी निल्ने

समयका ओठहरुसँगै

हृदयमा क्षितिज अटाएर

अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।

महल ठड्याएर गाँसिरहेकी छ्यौ

मध्यदिनका सपनाहरुलाई


टेबुलभरी पसारिएका अनियन्त्रित

आँखाहरु बीच

सागर छिचोलेर परेलीहरुबाट

बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।

हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा

नबुझिने इतिहास कोरिरहेकी छ्यौ

अँधेरी रातमा ।



सपनाहरु कमजोर हुन्छन् लोरिमा !

भावनाका फूलहरु, फूल होइनन्

सपनाका बघैंचाहरु , महल होइनन् ।

स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।

उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।


असरल्ल फिँजाएर तन्नेरी छालहरु

केबल गुन्गुनाइरहेकी छ्यौ

प्रेमका सुमधुर गीत


कतै नबज्रियोस् पहाड तिमी माथि

नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी

नभत्कियोस् तिम्रो सपनाको ताजमहल

र चोट नलागोस्,

लम्कन चाहाने गोडाहरुमा ।

Sep 13, 2013

कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर



Pic Source : httpwww.patrol-log.com.jpg


प्रकाशित: मधुपर्क मासिक
                                                                 — सबिना सिन्धु





श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,

विचारको कारोवार गर्छन् ।

आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु

दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।

विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !

सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर

आगोसँगै बाल्छु ।

तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।

सम्पादकबाट अस्विकृत उनका विचार,

टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।

घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।

पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।

कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।

आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा

ताकि उनले,

एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्

र महशुस गरुन् ।

घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,

अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।

अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,

थाहा छ, श्रीमान्,

म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।

Sep 12, 2013

माफ गर्नुहोस् महाशय


Pic Source : www.careerfaqs.com


प्रकाशित: नागरिक 'अक्षर'

                                                                                 — सबिना सिन्धु

माफ गर्नुहोस् महाशय,
कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।
दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।
कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?
कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
कसले गर्‍यो अक्षरमा केरमेट ?
भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !
कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?
अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको
औंठाको प्रष्ट पहिचान ।
माफ गर्नुहोस् महाशय,
किन लेखियो मनगणन्ते लेखाई ।
बुझ्नै सकिन, कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !

Follow by Email