Oct 10, 2014

गरिबीको कविता

        Pic Source : http://www.netanimations.net/Cash-money-dollars-monetary-clip-art-animations.htm


        


                                                     — सबिना सिन्धु 

यतिखेर यो कविता
गरिबिको रेखामुनि बसेर तर्सिन्छ 
र नाप्छ आफ्नो सिमान्त गरिबी
तर पनि 
भर्खरै स्विकारेर आएझैं बेरोजगारी भत्ता
उन्मुक्त भई बक्छ प्रभावग्राही शब्द

गरिबीको प्रत्येक गौरवशाली कविता
प्रतिनिधि बन्छ गरिब राष्ट्रको,
र अनुदान बनेर भित्रिन्छ देश भित्र । 

गरिबी समाचार बनेर पटक—पटक छापिन्छ
राष्ट्रिय दैनिकहरुमा 
अथवा कहिले काहीँ झुक्किन्छ 
र पर्छ कालो सूचिमा । 

अभावको पर्यायवाची बनेर
असिमित रहर संगाल्छ 
र उठेको छु भन्छ, ‘जिरो’ आम्दानी स्तरबाट माथि । 

परिमार्जित हुन्छु भन्छ,
उकास्छु भन्छ आर्थिक हैसियत
तर पनि पीडित मजदुर बन्दै 
माग गर्छ आर्थिक सुरक्षा । 

मस्तिष्कको क्यालकुलेटर दबाउँछ
र लगाउँछ आय र ब्ययको अनुमान । 
मात्र महशुस गर्छ सतहको तापक्र्रम

यतिखेर गरिबी परिमार्जित हुन्छु भन्छ 
र फलाकिरहन्छ दिगो विकास ।