May 23, 2016

भेटिएन कुनै सुसाइड नोट

                     कविता
                                                                                                                                 — सबिना सिन्धु

फराकिलो निधार भएकी मृत युवती
जसलाई समाचार बनाइरहेछ  पत्रिकाले ।
फलाकिरेहछ रेडियोले ।
प्रश्रय दिइरहेछ टेलिभिजनले ।
कुनै दिन म बन्न सक्छु त्यही पात्र ।


पत्रिकामा देखिएको रगत लत्पत्एिको विभत्स तस्विर
त्यो मेरै पनि हुनसक्छ ।
जसले लगाएकी छे सेतो हाफ—टिसर्ट ।
जुन च्यातिएका छन् ।
लगाएको लामो मिडी, अस्वभाविक देखिन्छ ।


पत्रकार फलाक्न ब्यस्त छन् ।
बढाई चढाई लेख्न पाए बढी बिक्थ्यो पत्रिका ।
बढी चिनिन्थ्यो न्युज च्यानल ।

पत्रकार,
लगातार फलाकिरहेछ युवतीको उमेर र प्रेम प्रसङ्ग
जुन उमेर भन्न ऊ लजाउँथी ....
सोच्थी प्रेमीलाई जिवनसाथी ।
श्रोता लगाइरहेछन् ‘हचुवा’ अनुमान ।
अड्कलबाजि गरिरहेछन् अन्य मानिस
“किन मरी वा मारिइ त्यो युवती ।”


कि  मार्‍यो उसैको प्रेमीले वा अन्य कसैले ?
थियो कि कुनै रिसइवी  ?

धारिलो हतियारले बनाएको हो कि त्यो घाउ
वा कुनै चुच्चो ढुङ्गाले  ?
वा आफैं ठोकिई चट्टानमा ।
.... ‘सुसाइड’ पनि त हुन सक्छ !
तर भेटिन्न कुनै सुसाइड नोट ।


.......कसका हुन् सनाखत हुन बाँकी अन्य सामान ?
तयार पार्नै थियो घटनास्थल मुचुल्का ।


नाडीमा देखिन्थ्यो कोतरीएको घाऊ
र लामो निलडाम पनि ।
त्यो युवती जो अहिले मृत घोषित भएकी छे ।
पत्रिकाले लेखिसकेको छ विस्तृत विवरण

युवती,
जसले लगाएकी थिई सेतो रङ्गको हाफ टि—सर्ट ।
उल्लेख भएको उसको उमेर  र मेरो उमेर एउटै थियो ।
पत्रिका पढ्छु अनि झस्किन्छु ।
समाचार सुन्छु र तर्सिन्छु ।
लाग्छ तिम्रो पत्रिकाले छापिरहेछ मेरो ‘न्युज’


sabinasindhu@gmail.com

No comments:

Follow by Email