Feb 26, 2015

तन्नेरीको सपना

        - सबिना सिन्धु
 (तन्नेरीको सपना कथा, कान्तिपुर कतार संस्करणमा प्रकाशित)
       
युनाईटेड स्टेट्स र सुन्दरी दिपिका उसको अगाडि उत्तिकै महत्वपूर्ण भएर उभिए । झ्यालको पर्दाबाट हावा हल्लिँदै उसको शिर सम्म आइपुगेर उसकी आमाको तस्विरमा अप्रत्याशित रुपमा ठोक्कियो । उसले फ्रान्सकी लिटिभालाई सम्झियो । लिटिभा उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी । उसको प्रेम लिटिभा र दिपिका सँग मात्र होइन युनाइटेड स्टेट्स् की मारियो मारिया सम्म पुगेको थियो । मयुरको सौन्दर्यमा उभिएका हुन्थे सुन्दरी ठिटिहरु । उसले खुल्ला झ्याललाई निरिक्षण गर्यो र फूलदानीमा रहेको कृतिम फूललाई सूँघ्यो । फूलमा सौन्दर्य थियो सुवास थिएन । बरु पुरानो भएकोले होला गन्हायो । "यसपाली त पक्कै भिसा लाग्‍ला", उसले सोच्यो । मसिका नीला चक्काहरु झैं बनेर बसेका थिए तन्द्राका नीला फूलहरु र उसका सपनाहरु । उसकी आमा कोठाको तस्विरमा झुण्डिराखेकी थिइन् । उनी सँधै यसै गरी चुपचाप झुण्डिन्थिन् । गाउँको सानो सन्दुसमा बुहारीका लागि भनेर पुराना गहनाहरु सुरक्षित राखेकी थिइन् उनले  "भिसा लाग्यो भने ती सबै गहनाहरु बेच्नु पर्छ घर  खेत बेच्नु पर्छ ।", उसले सोच्यो । यसरी नै उसकी आमाको सपना र उसका सपना बाझिन्थे र ऊ निश्कर्ष खोज्दै छट्पटाउँथ्यो
उसले आज यतिखेर बबी मार्टिनलाई टाइम दिएको थियो । घुमाउनु थियो उसलाई । ……तर ऊ गएन । जान चाहेन । उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा । उसको उराठलाग्दो जीवन सपनाको संसारमा इन्द्रेणी भएर रङ्गिरहेको थियो । त्यो सपना देख्न ऊ कयौं पल्ट निदायो र कयौं पल्ट ब्युँझियो । विचित्रको थियो उसको सोच्ने क्रम-उपक्रम । टेबुलका दुइ किनारा जिन्दगीको साम्राज्य घिसारेर नयाँकोण खोजिरहेका थिए । उसको सपना चुलिएर कहीले विशाल पेगोडा शैलीको भवन बन्थ्यो र कहिले होच्चिएर माटेाको कणमा अस्तित्वविहिन भएर बिलाउँथ्यो । ऊ हिटलर बन्थ्यो र याहुदी मनलाई पीडायुक्त अमानवीय यातना दिन पुग्थ्यो । ऊ फेरी पन्ध्रौं शताब्दिमा ओर्लन्थ्यो र मुगल सम्राट शाहजहाँ भएर मुमताज महल ठड्याउँथ्यो । मात्र मुमताजहरु फेरिन्थे ताजमहलका । ऊ स्ट्राफोर्ड अपन एभन सिर्जन्थ्यो र शेक्सपियर बन्थ्यो आइसाको प्रेममा । आइसा प्रज्वलनशील पदार्थ बन्दै विष्फोट हुन्थी र एकाएक उसको प्रेम रङ्गविहिन गन्धविहिन र स्वादविहिन बन्थ्यो । थुप्रैसंग सहमति भएको थियो उसको- आयुष्मा जुलिका उषा र निशासँग पनि ……।तर अहँ कोही पनि टिकेनन् दीर्घकाल सम्म । उसले रुचाएन अथवा उनीहरुले रुचाएनन् । सौभाग्यवश उसको श्रृङ्खलाबद्द प्रेम कहिले सार्वजनिक भएन । त्यसैले ऊ शान्त देखिन्थ्यो तर आँखाबाट अङ्कुशे फ्याँकेर आफैं भित्र उब्जिएको भूँइचालोलाई ग्रहण गरिरहन्थ्यो ।
उसको प्रेम हाल आएर दिपिकामा अडिएको छ । अडिएको पनि के भनौं निष्क्रिय हुने तयारीमा छ । प्रेम कुनै अर्की सुन्दरीमा हस्तान्तरण हुन नपाएर ऊ महत्वकी विषय बनेकी मात्र हो । उसको विशाल हृदयमा एनी जेन अष्ट्रिना आइन जेनिसा ब्राउन मारियो मारिया र लिटिभाले पनि अधिकार जमाएका थिए । तिनको पश्चिमेली संस्कारको सङ्गितले उसकी आमाको शास्त्रिय झंकारमा खोटपूर्ण ब्याकरणको सिर्जना गर्न सक्थ्यो । त्यसैले विदेशी युवतीहरुसँग उसको प्रेम अपुरो बन्थ्यो । मारियो मारिया सँग बुनेको सपनाको रङ्ग महलले झण्डै उसलाई युनाईटेड स्टेट्स  पुर्याएको थियो । "उफ् यसपाली पनि डि=भि= परे", उसले नाक खुम्च्यायो, ओठ लेब्रायो र टेबुलमा बेस्सरी मुड्की बजार्यो । उसले ठमेलको गल्लिाई सम्झियो इन्द्रचोकमा गुच्चा खेलिरहेका स-साना बच्चालाई सम्झियो । बेलामौकाको जमघटमा उसले पिउने गरेको ब्यागपाईपर रक्सीलाई सम्झियो । फेरी आमाको तस्वीरलाई सम्झियो ।
घरिघरि ऊ फाल्तु किताबका रङ्गिन पृष्ठहरुमा आँखा बिच्छ्याउँछ तर कलेजका मोटा किताबहरु देखि वितृष्णा फैलिसकेको छ । प्रत्येक तन्नेरीहरुमा जस्तै ऊ भित्र पनि कमजोरी र निराशाहरु छन् । आशा र सपनाहरु छन् । भावनाको मुक्त आकाश र विधिको परिधि छ । ऊ हृदयको सानो टुक्राबाट विकेन्द्रित हुन्छ र फेरी संक्षिप्त बनेर आफैं भित्र अटाउँछ । सम्भ्रान्त बर्गमा विभाजित गर्छ आफूलाई र सिद्दान्‍तमा बाँधे झैं गर्छ । कतिखेर-कतिखेर ऊ फुस्किन्छ बन्धन देखि र आफू भन्दा धेरै भिन्न भएर निस्किन्छ ।
काठमाडौंले उसका दश वर्ष बिना उपलब्धि यसै गरी लुछिदियो । न धन कमाउन सक्यो न पढाइलाई निरन्तरता दिन । उसले टेबुल माथि बासिङ्गटन टावर देख्यो । होटल ह्वाइट देख्यो । ऊ टुरिष्ट गाइड भए देखि उसले भेटेका सम्पूर्ण विदेशीहरुलाई देख्यो । यु.एस.. की मारियो मारिया स्विट्जरल्याण्डका हक्किन्स फ्रान्सकी लिटिभा  कोरियाकी क्याम्रोन  इटालीकी रोजान आदि इत्यादी । काठमाडौंमा ठूलो घर भएको भए आइशा ऊ देखि टाडा हुने थिइन । ऊ दश वर्ष अमेरिका बसेको भए उसको बाबु आमा काठमाडौंको महलमा हुन्थे । दिपिका उसको गरिबि देखि तर्सन्न थिई । न कुनै धनि युवकले उसकी दिपिकालाई आँखा लगाउँथ्यो । ऊ कमसल टुरिष्ट गाईड भन्दा बढी केही हुन सकेन । हुन सकेको भए -उसले आफ्नो प्रेम दिपिका भन्दा सुन्दरी युवतीमा हस्तान्तरण गरेर त्यस युवकलाई चुनौती दिन सक्थ्यो । गाउँका युवतीहरु उसलाई मन पर्दैनथ्यो । शहरी युवतीहरु मुस्किलले उसलाई हेर्थे । अनेकौं कन्या निरिक्षण गर्दा पनि उसले आमाको लागि सीता फेला पार्न सकेन । उसले ठमेलको गल्लिमा यु.एस.. को सपना देख्यो त के गल्ति गर्यो असमयमै जागिर खायो र पढाई बिगार्यो त के गल्ति गर्यो  देशले उसको तन्नेरी उर्जालाई ठम्याउन सकेन र ऊ विदेशिन चाह्यो त के गल्ति गर्यो  <
उसले सोच्यो, "सके यु=एस==, नसके क्यानडा, अष्ट्रेलिया वा नेदरल्याण्ड त्यो पनि नसके कुवेत मलेसिय" यस्तै यस्तै थिए उसका मन भित्र । कतिखेर-कतिखेर ऊ निदायो । उसका गरिबिले उसलाई घँचेटे । समस्याहरुले चिथोर्न थाले । उसले आफूलाई आफू भएको घोषणा गर्न सकेन । समयले सर्लक्क निल्यो उसलाई । कोठा बाहिर गाडिका आवाजहरु सुनिन्थे । रात परेको थिएन पर्न आँटेको मात्र थियो । ऊ सपनामा थियो । उसका अगाडि प्रतिशोध  निष्क्रियता र चुनौतिहरु थिए। छोरो हुनुको जिम्मेवारीले लखेट्यो उसलाई । उसको सपनामा विदेशी युवतीहरु आए आइसा र दिपिकाहरु आए । आमाको हँसिलो अनुहार आयो । सपनामा अग्ला - अग्ला भवनहरु आए वासिङ्गटन डि.सी. आयो । ती सबै डरलाग्दा देखिए र एकिकृत भएर आँशुको ढिक्कामा बदलिए ।
उसले आँशु चुहायो । उसका आँशु तन्द्राका नीला फूलहरुमा झरे । ऊ निन्द्रामै छट्पट्टायो ।  छट्पट्टाई नै रह्यो ।

(Pic Sources : Internet)

Follow by Email