Jun 22, 2008

समयको पाठशाला




समयको पाठशाला - सबिना सिन्धु



आदिम सपना समेटेर समयसंग हारेकी
ए कमजोर केटी
थाहा छ जीवनको रङ्ग कस्तो हुन्छ अनि समयको पाठशाला नि ?

उही गहुँ गोरो आकृतिले कसरी पच्छ्याउँछ मान्छेलाई
र जबरजस्ति इतिहास बनाउन खोज्छ ।
गतिशिल तर बुख्याँचा जस्तै अडिएर
कसरी उर्लिन्छ जीवनको नदी…। अनि भत्काउँछ सपना ।

थाहा छ समयको घोडा कसरी दौडन्छ र लडाउँछ मान्छेलाई !
विचार शुन्य भएर कसरी खण्डहर बन्छ मान्छे

तर…………… निर्माणका लागि भत्किन्छन् सपना
धमिला साइनो माझ अल्झिन्छ जिवनको गीत ।

अनि
बुढो बादलबाट बैजनी रङ्ग आशाको त्यान्द्रो भएर उठ्छ
र बाँच्नुको नाममा नयाँ सुरुवात गाँसेर जान्छ ।
पहाडको आँखा हुँदै खुल्छ जून निभेको शहरमा सडकको गीत ।
पुनरावृत्त भएर धेरै पूरानो उज्यालो पानीको थोपा आगो भएर उघ्रन्छ ।
रङ्गिन धागोले निस्फिक्री जोडिदिन्छ फूलहरुको जिवन ।

सम्भावनाका सुकिला टुक्रा यसरी छरपष्ट हुन्छन्
कि समय शक्ति भएर आउँछ मात्र पहिल्याउन जान्नुपर्छ ।

शक्ति पहिल्याउन नसकेकी ए कमजोर केटी
थाहा छ
मानिसहरु इतिहास बन्छन् तर जित्नेहरुको मात्र इतिहास लेखिन्छ ।