Mar 3, 2015

जब सपनाकै राजकुमारले अनुपमाको हत्या गर्योा (कथा )

प्रकाशित: Setopati.com मिति: शनिबारआषाढ ७२०७१      

जब सपनाकै राजकुमारले अनुपमाको हत्या गर्‍यो                

                                 -      सबिना सिन्धु


     बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। ओई अनुपमा.......पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै छरिएका थिए। उसको उभ्याइमा उदारता र गम्भीर ब्यक्तित्व देखिन्थ्यो। ठूलो ग्राउन्ड, थुप्रै घरहरु, भुलभुलैया जस्तै बाटाहरु अनि किताबहरुको चाङ्ग भएको पुस्तकालय। यस विश्वविद्यालयको विद्यार्थी हुनुमा पनि गौरव महसुस हुन्थ्यो। 



     “आज मलाई खुब गफ गर्न मन छ रोशनी, केही बेर यही चौरमा बसौं अनि मात्र कक्षामा जाउँला !अनुपमाले भनी। मैले सहमति जनाएँ। हामी चौरमा थचक्क बस्यौं। बाटोबाट किनेर ल्याएको बदाम छोडाउँदै खान थाल्यौं। सिन्दुर, टिका, चुरा, पोते र चहकिलो कुर्ता सुरुवालमा सजिएकी अनुपमा सायद श्रृङ्गारले होला निकै राम्री, विश्वविद्यालयको पृष्ठभूमिमा तयार पारिएकी गुडियाजस्तै देखिएकी थिई। तर अलिकति दुब्लाएकी जस्ती। अनि आँखा अलिकति गाडिएको जस्तो थियो। म पनि बिहे भएपछि त्यसैगरी राम्री भएर हिँड्छु होला, मैले सोचेँ। 

    “कस्तो चल्दैछ त तेरो विवाह पछिको जिन्दगी?” मैले रोमाञ्चित हुँदै अनुपमाको परिवर्तन भएको आकर्षण नियाल्दै भनेँ। ठिकै ! औपचारिक जवाफ बाहेक अपेक्षाकृत जवाफ केही आएन उसको। महिना दिन त भो बिहे भाको बिचरी के उपलब्धी सुनाउली ?” मैले सोचेँ। फेरी म्यारिज पनि पूरै एरेन्ज्ड, अहिलेको जमानामा पनि। 

      चार पाँच महिना अगाडि उनीहरु पँखेटावाला मानिसको कुरा गर्दै खाली समयमा यसै गरी चौरमा अल्मल्लिइरहेका हुन्थे। पँखेटावाला मानिस उमेर पुगेकी युवतीको सपनाको राजकुमार हो। जो उसको मनको दैलोसम्म आउँछ र उडाएर उसलाई नयाँ संसारमा लिएर जान्छ। त्यो मानिसभन्दा नजिकै अर्को कुनै मानिस हुँदैन युवतीको। विहेको बन्धनले यसरी कसिदिएको हुन्छ कि उनीहरु अलग अस्तित्व हुन् भनेर पत्याउनै गाह्रो हुन्छ। मेरो आफ्नो मान्छे त मलाई खोज्दै आईपुग्यो,” बिहेको कुरा छिनेकै दिन अनुपमा मख्ख पर्दै अलिकति अनभिज्ञतामिसिएको हाँसो बोकेर कलेज आईपुगेकी थिई। मलाई त्यो दिनको सम्झना अझै पनि छ। हाम्रो चाहिँ पालो आउँदैन भन्ठानेको कि क्या हो ?” त्यतिबेला मैले जवाफ फर्काएकी थिएँ। 

     आज चार पाँच महिना अगाडिको कुरा अनुपमालाई दन्त्यकथा जस्तै पुरानो र अपत्यारिलो लागेको थियो। मोनालिसाबनोटको अनुहारमा रुवाइले गाडिएका आँखाहरु टिल्पिलाएका थिए। हैन तेरो निद्रा पुगेको छैन कि क्या हो, आँखा निकै रसिलो र गाडिएको देखिन्छ नि ? कि बाबुआमा दाजुभाइको याद आयो र रोईस् ?” मैले प्रश्नमाथि प्रश्न तेर्स्याएँ।

     “हैन, मलाई त नयाँ घर...घर जस्तै लाग्दैन। आफन्त भनौंदाहरु आफन्त जस्तै छैनन्,” उसले भनी। नचिनेको मान्छेसँग बिहे गरिस् त। आफैंले खोजेको भए आफन्त जस्तो लाग्थ्यो होला नि त,’ मैले उसको कुरालाई ठट्टा बनाईदिएँ।

      कठै बिहे भएको एक महिनामै उसले दाम्पत्य जीवनको स्पष्ट रेखा देखिन। पीडाको लय महाकाव्य भएर बगेको थियो सिर्फ उसका आँखामा, बाँकी शरीरले विवाहित युवतीका रङ्गिन श्रृङ्गार भेटेका थिए। हामी दुई पिरियड सक्किएपछि बल्ल छिरेका थियौं कक्षा भित्र। 

      मेरो आँखाभरी एकपछि अर्को गर्दै पँखेटावाला मानिसको चित्र घुमिरहेको थियो। मेरो अघिपछि लाग्ने कलेजका केटाहरु मध्ये कुन चाहिँ बन्न सुहाउला मेरो पँखेटावाला मानिस’ ? दाँज्न थालेँ तर मेरो दृष्टिमा सब वाहियात, सब नालायक लागे। दोष केही थिएन उनीहरुको। 

दिन बित्यो।

    निकैदिन अनुपमा कलेज आइन। फोनमा कुरा हुँदा श्रीमानले घुम्न जाने प्रस्ताव राखेको कुरा मलाई बताएकी थिई। ल मोज गर्,” भन्दै मैले उसलाई जिस्काएको थिएँ। केही दिनपछि विश्वविद्यालयको पुस्तकालयमा अनुपमाको फोटो छापिएको पत्रिका आयो। म झस्किएँ र पत्रिकाका दुई किनारा हातले समातेर अक्षरहरु पढ्न थालेँ। पत्रिकामा लेखिए अनुसार उसको श्रीमानले पूर्व प्रेमिकाको कुरा सुनेर अनुपमाको निर्मम हत्या गरेछ। 

    “वाहियात मान्छे। मार्नकै लागि किन बिहे गरेको होला ? एउटी युवतीको कुरा सुनेर अर्की युवतीको ज्यानै लिन्छन् ?” म भुत्भुताएँ। कम्परमाइज गरेको भए हुन्थ्यो, सँगै बस्न नसके सम्बन्ध विच्छेद गरेको भएपनि हुन्थ्यो। थुप्रै विकल्पहरु थिए। उफ् तर मारी छोड्यो। 

     मैले पत्रिका च्यातुँला झैं गरेँ तर लाइब्रेरियनले रोक्यो। मलाई मन्दिरबाट आस्था ढलेझैं लाग्यो। गुम्बज भत्किएझैं लाग्यो। आफ्नो मान्छे नै आफ्नो हुँदैन भने कसलाई विश्वास गर्ने? त्यस अपराधीले दर्जन केटी मध्ये छानेको थियो अनुपमालाई। अपराधको रङ्ग हुँदैन र अपराधीमा मानवताहुँदैन भन्थे नभन्दै हो रैछ। 

    समाचार पढिसकेपछि मैले यो कथा लेखेँ। तर, लेखिसक्नु अघिनै दिदीलाई फोन गरेँ। दिदीको विवाह भएको दुई वर्षमात्र भएको थियो। मैले तर्सिएझैँ गरेर भनेँ, 'दिदी ! तिम्लाई त्यस घरमा हेला त गर्दैनन् नि? भिनाजुले, आफन्तहरुले, नातागोताले.. ?' यस्ता थुप्रै प्रश्नहरु सोधिसकेपछि दिदीले भनिन्, 'किन तर्सिएकी! आजको न्युज पढेर हो कि क्या हो? सबै मानिस अपराधी हुँदैनन् नि।' त्यसपछि म अलि ढुक्क भएँ। आजको न्युजमा छापिएको तस्विर मेरै सहपाठी अनुपमाको हो भनेर दिदीलाई भन्नै सकिनँ। फोन राखेँ। तर अनुपमामाथि घटेको घटना मेरो मस्तिष्कबाट हट्न सकेको छैन। शायद कहिले पनि हट्ने छैन। मृतक अनुपमा लेखिएको पत्रिकाको तस्बिर सम्झिएँ। अनुपमाको अपराधी श्रीमानको तस्बिर सम्झिएँ। धिक्कार होस्, त्यस अपराधीलाई। कठै  निर्दोष अनुपमा!’ 

                                                                                                          sabinasindhu@gmail.com


2 comments:

hamrobazar said...

really nice post

sabina sindhu said...

धन्यवाद छ ।

Follow by Email