Nov 1, 2013

माछो र आइमाई




                 Pic Source : http://actually-a-mermaid.tumblr.com/post/20596747983




                       Pic Source :  http://www.layoutsparks.com/pictures/pisces-0


कथा

                 
                                                         
  — सबिना सिन्धु

               
१. कथा सत्र (निष्क्रिय सत्र)

    ऊसँग कुचि थियो रङ्गका बट्टाहरु थिए । चित्र बनाउने क्याभास थियो । उसको रहस्मय मुहारले असन्तुष्टिको सङ्केत गरिरहेका थिए । ऊ भन्दै थियो, “म मास्को शहरमा कलाकारिता विषय पढ्न गएको थिएँ । त्यहाँ एउटी असल शिक्षिका थिइन् । उनी राम्री थिइन् । त्यो भन्दा बढी उनी बौद्धिक थिइन् ।

उनी कलाकारितामा पनि पोख्त थिइन् । उनलाई कुनै सामान्य नामले बोलाइन्थ्यो । मैले उनको वास्तविक नाम के थियो भन्ने कुरा चाल पाइसकेको थिएँ । उनी नीलो रङ्गको लुगा लगाउँथिन् । त्यसैले मैले उनलाई नीलो दहकी परी, समुन्द«की राजकुमारी र जल देवी भन्न रुचाएँ उनका ती उपनामहरु केबल मेरो मन भित्र मात्र सिमित रहन पुगे । उनी मेरी शिक्षिका मात्र थिइनन् सहृदयी मित्र पनि थिइन् ।”


(मलाई लाग्यो ऊ आफ्नो जिन्दगीको रमाइलो प्रेम कहानी सुनाउन लागिरहेको छ । उसले क्यानभासमा एउटी तरुनी युवतीको स्केच बनायो )—

“उनी मेरी शिक्षिका हुनु भन्दा पच्चिस वर्ष अघि शायद यस्तै थिइन् । उनी जँड्याहा लोग्नेसँग बस्थिन् जो फुर्सदमा बहुलठ्ठी साथीहरु बटुलेर ‘जुवा—घर’ जान रुचाउँथ्यो । मलाई उनको सौन्दर्यसँग कुनै सरोकार थिएन तथापी उनको दूरदृष्टि र बौद्धिकताको तारिफ गर्थेँ । उनलाई भलाद्मी र राम्री (असल) भन्न रुचाउँथे । कुनै दिन म उनको घर जाँदा उनको जँड्याहा लोग्ने आँखा बन्द गरेर बसिरहेको थियो । ऊ निदाएको भने थिएन । ऊ सँधै यसैगरी आराम गर्ने गथ्र्यो । दाहिृजुङ्गा पालेको हुनाले उग्र स्वभावको स्वाँठ जस्तो देखिन्थ्यो । भित्तामा चित्रहरु टाँगिएका थिए । कोठामा एक्वेरियम सजाईएको थियो । जहाँ माछाहरु ‘बासी’ पानीमा पौडिरहेका थिए । मैले एक्वेरियम, पानी र माछाको चित्र बनाउँदा उनको लोग्ने निधार खुम्च्याएर मलाई हेरिरहेको थियो । यो कथाको मुख्य पात्र त्यही एक्वेरियम भित्रको माछो हो ।”


( श्रोता हुनुको सिङ्गो मानसिकता बोकेर म कलाकारका कुराहरु निर्धक्क सुनिरहेको थिएँ । उसले विषयवस्तु अन्तै मोड्यो र धाराप्रवाह रुपमा बोल्न थाल्यो ।)

    “आफ्नै छिमेककी रैथाने आइमाईसँग मेरो बिहे भयो । मैले उसलाई कहिल्यै प्रेम गरिन वा गर्न चाहिँन । बिहे भएको पहिलो दिन मैले उसलाई राम्री देखेँ । केही समय पछि उसलाई सामान्य देख्न थालेँ  र त्यसपछि ऊ मेरो अगाडि कुरुप देखिन थाली । ऊ आधा रातसम्म जागा बसेर मेरो बाटो कुर्थी । फुर्सदमा मास्कोमा हुर्किएका तरुनी युवतीहरुको चित्र हेर्थी । ऊ मान्छे थिइन माछो थिई । म नचाहेर पनि ऊ सँग नजिकिन बाध्य थिएँ । प्रकृतिको रातो गुलाफको अगाडि ऊ साह्रै फिक्का लाग्थी । म उसलाई घृणा गर्थेँ किनकी ऊ मेरी स्वास्नी थिई । उसका आँखाहरु गिद्धका आँखा जस्तै देखिन्थे । नाक सुगाको घोप्टिएको थुतुनो जस्तो लाग्थ्यो । उसको लामो—लामो कपाल, फोहर बढार्ने कुचोको तल्लो भाग जस्तै देखिन्थ्यो । मान्छेहरु उसको सौन्दर्यको तारिफ गर्थे । उसको लामा—लामा कपालको चर्चा गर्थे । क्षमता, प्रतिभा र बौद्धिकता नभएका आइमाई ‘माछो’ भन्दा बढी केही होइनन् । एकदिन घरमा आएको आँधिबेरीले सडेको माछाको दुर्गन्ध मेरो नाकसम्म ल्याएको थियो । कल्पनाको विशाल डुङ्गामा चढेर मैले आफुलाई मन्दिरको गजुर भन्दा ठूलो महशुस गरेको थिएँ ।”

    (उसले अर्को चित्रको स्केच खिच्यो । एक्वेरियमको, माछाको र नीलो पानीको । यस भन्दा अघि बनाएको चित्र अधुरो नै थियो । मैले मास्कोकी शिक्षिकालाई सम्झेँ । उसले मेरो आशय बुझे झैँ गरी मलाई हेर्यो  र फेरी बोल्न थाल्यो ।)

“स्त्रीको आत्मा हुँदैन । उनीहरु लगभग पशु जस्तै हुन्छन् । मास्कोकी शिक्षिका, उनी आइमाई थिइन् तर उनमा पुरुषको दृढता थियो । उनको जँड्याहा लोग्नेले घरमा आगो सल्काइरहन्थ्यो । ऊ स्वास्नीसँग झगडा गथ्र्यो । मौका परे पैसा चोथ्र्यो र आनन्दसँग सुनसान ठाउँमा गएर निदाउँथ्यो । डल्फिन माछा झैं उफ्रिएर उनले एक्वेरियमको परिधि नाघिन् र मान्छे भइन् ।”

    (“अनि तिम्री स्वास्नी नी ?, मैले सोधेँ)

“ऊ माछो भएर जन्मेकी थिई र माछो नै भइरहन चाही । उसका रहरहरुले महत्व राखेनन् । उसको अस्मितामा प्रश्नचिन्ह ठाडियो । चराहरुलाई हेरिरही उसले, तर पँखेटा फिँजाएर स्वतन्त्रतापूर्वक उड्न खोजिन । ऊ जन्मँदा उसकी आमाले प्रसस्त साउने झरी झारेकी थिइन् आँखाबाट । त्यही झरीलाई कैद गरेर कुनै भाँडामा जम्मा गरिन् उनले । त्यस भाँडोलाई ‘माछो—घर’ भनियो । पढेलेखेका विद्धानहरुले त्यसलाई एक्वेरियम÷अक्वेरियम भने । त्यही ‘माछो—घर’ को चारदिवार भित्र कैद भएर हुर्किएकी थिई मेरी स्वास्नी । नीलो कोभ्रिनाज माछा र गुलाफि स्यापियर माछा भन्दा बढी केही थिइन ऊ मेरो लागि । ऊ निश्चित परिधि भित्र थिई, लक्ष्मणरेखा भित्र थिई । एक्वेरियम बाहिर फर्फराए नारी स्वतन्त्रताका झण्डा । ऊ अनज्ञि भएर पौडिरही छट्पटाईरही एक्वेरियम भित्र । उसले खेतको आलि नाघ्न सकिन । उसलाई मान्छे हुनबाट रोक्ने ‘माछो—घर’      (एक्वेरियम) लाई चकनाचुर बनाएर फुटाउन सकिन ।“मेरी स्वास्नी इटालीको पिसा कम्पनाइल हो । ऊ बाउन्न फिट ब्यास भएको आठ तले गोलाकार धरहरा हो । जो झुक्नुमा नै गर्व गर्छ र लिनिङ्ग टावरको नामले प्रसिद्धि कमाएको छ । ऊ आफैंमा ‘माछो—घर’ भित्रको अन्धकार युग हो ।”

    (कलाकार र उसले वर्णन गरेकी मास्कोकी शिक्षिकाको मुर्ख लोग्ने एउटै सन्दुस भित्रको दुईवटा एल्बम झैं लाग्यो  मलाई । ............उस्तै तस्विर मात्र एल्बम फरक । कलाकार बोलेर थाकेको थिएन । ऊ बोल्दै थियो ।)

    “मेरी स्वास्नी ! उसले आफु जस्तै माछो जन्माई । माछो पाल्ने चम्किलो सिसाको भाँडोमा मैले ऊसँगै उसकी छोरीलाई राखेँ । म उसकी छोरीलाई पनि घृणा गर्छु । गाउँका सोझा माछाहरु खुला बजारमा बेचिन्छन्, बम्बेका कोठिहरुसम्म पु¥याईन्छन् । बाबु आमाले शहरमा माछाहरु सुन्दिरी प्रतियोगिताको लागि उत्पादन गर्छन् । आफ्नो बौद्धिकता ठम्याउन नसकेका निरही प्राणी माछो बाहेक केही होइनन् । ‘मेरी स्वास्नीकी छोरी’ पनि कुनैदिन ठूली हुन्छे । कुनै रहरलाग्दो ठिटाले आफ्नो कोठाको सौन्दर्यको लागि एक्वेरियम भित्र सझाउनेछ । जसरी मैले.............”

( त्यसपछि उसले के भन्यो मैले सुन्न चाहिँन । कलाकार एक पाङ्ग्रे गाडा बनेर एक्लै गुडिरहृयो र त विकासको गति मन्द भयो । हरेक आइमाईलाई माछो देख्ने कलाकारले मलाई पनि माछो देखिरहेको थियो । उसकी स्वास्नी र सानी छोरी सम्झेर टिठ लाग्यो । ऊ एकतमासले भट्याउँदै थियो । )

“मान्छे बन्न आफ्नै गोडाले उभिनुपर्छ । आफ्नै आँखाले हेर्नु पर्छ । आफैँले पहिल्याउनुपर्छ आफ्नो बाटो । मेरी स्वास्नी मास्कोका तरुनी युवतीहरुको चित्र हेरेर सन्तुष्ट थिई । उसले कहिल्यै अधबैंशे शिक्षिकाको चित्र रुचाइन । ऊ म माथि लहरो झैं बेरिन चाही अथवा परजिवी भएर बाँच्न चाही ।”

२. सक्रिय सत्र

    हामी रिमस, गिर्जाघरको अब्राहम र मेल्चिदेकको मुखामाुख गरेर वार्तालाप गरिरहेको गोथिक मुर्ति झैं देखिएका थियौं । मैले कलाकारलाई चुप लाग्ने इशारा गरेँ र ठूलो स्वरले चिच्याएँ, “तिमी मान्छे (आइमाई) लाई माछो बनाउने प्रकृतिविरोधि हौ । तिमी मास्कोकी शिक्षिकाको बहुलठ्ठी लोग्ने भन्दा कम छैनौ । तिमीले मात्र बनाएको चित्र, अधुरो हुन्छ कलाकार ! अधिकार मागेर पाईँदैन । मैले रङ्ग खोसेँ, कुचि खोसेँ । म आइमाई हुँ, ‘माछो’ होइन । मैले पनि पाउनुपर्छ ‘नयाँ युगको चित्र बनाउन ’ 
    मैले नदीको चित्र बनाएँ । चित्रमा ‘माछो—घर’ अर्थात एक्वेरियम विस्तारै फुट्न थाल्यो । माछाहरु एकाएक नदीमा हामफाले झै लाग्यो । किनारासम्म आइपुगेर उनीहरु मान्छे भएर देखा परे । कलाकारकी स्वास्नी मलाई साथ दिन आई । कलाकारकी छ सात वर्षे छोरी भुँईमा बसेर खेलौना हेलिकप्टरमा पँखेटा जोड्दै थिई । ऊ उभिई सेलिस्वरी मैदानमा ठिङ्ग उभिएको स्टोनहेज स्मारक जस्तै । असहमतीको अन्तिम सडक नाघेर हामी उज्यालो द्धार (ढोका) भित्र छिर्यौं । कलाकारले सानी छोरीलाई म्वाँई खायो र स्वास्नीलाई अँगालो हाल्यो । अब नदीका दुई धारहरु समानान्तर हुनेछन् । सामाजिक सँस्कारको परिधिले माछो बनाउने छैन कुनै आईमाईलाई । हामी समयको सेतो क्यानभासमा सम्भावनाका सुकिला रङ्गहरु छर्न बसेका छौं । आउनुहोस् हामीलाई साथ दिनुहोस् — हामी नयाँ युगको चित्र कोर्न बसेका छौं ।
 

No comments:

Follow by Email