Aug 31, 2009

हजुरआमा र बाह्रखरी (बालकथा)


- सबिना सिन्धु



हजुरआमाले आकृतीलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरु सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरु ब्यबस्थित रुपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ हजुरआमालाई नै सोध्न आउँथी । हजुरआमालाई अक्षर पढ्न आउँदैनथ्यो तर लय हालेर रामायणका श्लोक भन्नु हुन्थ्यो । राम्रा कथाहरु सुनाउनु हुन्थ्यो । आफु सानो छँदाका संस्मरणहरु सुनाउनु हुन्थ्यो । हजुरआमा भनेपछि आकृती हुरुक्क हुन्थी । आकृतीको सानो भाई थियो । उसले भर्खरै अक्षर चिन्न थालेको थियो । ऊ संग बाह्रखरीको किताब थियो । भाई सुतेपछि सुटुक्क आकृतीले त्यो किताब झिकेर लैजान्थी । बिहान पनि भाई उठ्नु भन्दा अगाडिनै उठीसक्थी र थपक्क त्यो किताबलाई झोलाभित्र राखिदिन्थी । आकृती किन सबैभन्दा अगाडि उठ्छे र राती अबेरसम्म बस्छे भन्ने कुरा कसैलाई पनि थाहा थिएन । स्कुल बिदा भएको दिन आकृती भाईलाई पढाउँथी पनि । अक्षर लेख्न सिकाउँथी र त्यसलाई कसरी उच्चारण गर्नु पर्छ भन्ने कुरा पनि सिकाउने गर्थी । यसरी सिकाउन पाउँदा उसलाई रमाईलो लाग्थ्यो ।

एकदिन स्कुलमा मिस्ले पढाउँदै गर्दा गाउँमा प्रौढ शिक्षा खुलेको कुरा भन्नु भयो । आकृतीलाई प्रौढ शिक्षा भनेको के हो भन्ने थाहा थिएन । बेलुकी उसले आमालाई सोधी "आमा प्रौढ शिक्षा भनेको के हो कस्ता मान्छे पढ्छन् त्यहाँ", आमाले छोट्करीमा भन्नु भयो "पढ्ने उमेर बिताईसकेर पनि पढ्न नपाएका तर पढ्न चाहाने ब्यक्तिको लागि खुलेको कक्षा हो ।" आमालाई आफुले दिएको जवाफ चित्त बुझ्दो लागेन । "त्यहाँ त्यस्ता मान्छे मात्रै पढ्छन् आमा". उसले फेरी प्रश्न गरी । "अरु पनि पढ्न सक्छन् तर तिनलाई लक्षित गरिएको हो ।", आमाले अझ स्पष्ट पार्नुभयो । आकृती के सोच्दै थिई थाहा छैन । गाउँमा प्रौढ शिक्षा पढाइने कुरा सुनेर उसलाई धेरै खुशी लाग्यो ।

बेलुकी खाना खाने समय भएको थियो । आकृतीले पालै-पालो बुबाआमाको अनुहारमा हेरेर भनी "हजुरआमालाई पनि प्रौढ शिक्षाको कक्षामा पठाउन पाए हुन्थ्यो", हजुरआमाले आकृतीको कुरा सुनेर अचम्म मान्नु भयो । आकृतीको मुखमा हेर्दै भाईले भन्यो "हजुरआमालाई कक्षामा पढ्न पठाउने हो दिदी ? उहाँ हाम्रो जस्तै ड्रेस लगाएर स्कुल जाने हो ? हजुरआमा पनि टाई- बेल्ट लगाएर पढ्न जानुहुन्छ ? उसको कुरा सुनेपछि आमाले भाइलाई भन्नु भयो "खाना खाईसकेपछि तिमीलाई प्रौढ शिक्षाको बारेमा बुझाउँछु ।" भाइले टाउको हल्लाएर सहमती जनायो । ऊ जुठो हात लिएर कोठा तिर दौडियो र एउटा कापी लिएर आयो । उसले भन्यो "हेर्नुस् न आमा ! हजुरआमाले मेरो जस्तै अक्षर लेख्नुभएको छ ।"

हजुरआमालाई अक्षर लेख्न आउँदैनथ्यो । उहाँ पढ्न पनि जान्नुहुन्नथ्यो । अब भने हजुरआमाले भन्नुभयो "फुस्रद भएको समयमा आकृतिले मलाई अक्षर लेख्न सिकाउने गरेकी छे ।" आकृतिले भनी "भाइलाई सिकाउँदा सिकाउँदै म अरुलाई सिकाउन सक्ने भईसकेकी छु । भाइ उठ्नु भन्दा अघि र ऊ सुतिसकेपछि उसको बाह्रखरीको किताब झिकेर हजुरआमालाई पढाउने गरेकी छु ।" बुबा उसको कुरा सुनेर एकदम खुशी हुन भयो । हजुरआमालाई पनि प्रौढ शिक्षाको कक्षामा पठाउने सबैको सहमती भयो । भाइले मख्ख पर्दै बाह्रखरीको किताब समात्यो र हात उचाल्दै भन्यो 'हाम्री दिदी जिन्दावाद !' ।



Have a nice day Comments hi5

Have a nice day Comments hi5

Follow by Email