- सबिना
सिन्धु
(तन्नेरीको सपना कथा, कान्तिपुर कतार संस्करणमा प्रकाशित)
युनाईटेड स्टेट्स र सुन्दरी दिपिका उसको अगाडि उत्तिकै
महत्वपूर्ण भएर उभिए । झ्यालको पर्दाबाट हावा हल्लिँदै उसको शिर सम्म आइपुगेर उसकी
आमाको तस्विरमा अप्रत्याशित रुपमा ठोक्कियो । उसले फ्रान्सकी लिटिभालाई सम्झियो । लिटिभा
उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी । उसको
प्रेम लिटिभा र दिपिका सँग मात्र होइन युनाइटेड स्टेट्स् की मारियो मारिया सम्म पुगेको
थियो । मयुरको सौन्दर्यमा उभिएका हुन्थे सुन्दरी ठिटिहरु । उसले खुल्ला झ्याललाई निरिक्षण
गर्यो र फूलदानीमा रहेको कृतिम फूललाई सूँघ्यो । फूलमा सौन्दर्य थियो सुवास थिएन ।
बरु पुरानो भएकोले होला गन्हायो । "यसपाली त पक्कै भिसा लाग्ला", उसले सोच्यो । मसिका नीला
चक्काहरु झैं बनेर बसेका थिए तन्द्राका नीला फूलहरु र उसका सपनाहरु ।
उसकी आमा कोठाको तस्विरमा झुण्डिराखेकी थिइन् । उनी सँधै यसै गरी चुपचाप झुण्डिन्थिन्
। गाउँको सानो सन्दुसमा बुहारीका लागि भनेर पुराना गहनाहरु सुरक्षित राखेकी थिइन् उनले
"भिसा लाग्यो भने ती सबै
गहनाहरु बेच्नु पर्छ । घर खेत बेच्नु
पर्छ ।", उसले सोच्यो । यसरी नै
उसकी आमाको सपना र उसका सपना बाझिन्थे र ऊ निश्कर्ष खोज्दै छट्पटाउँथ्यो
(Pic Sources : Internet)
(तन्नेरीको सपना कथा, कान्तिपुर कतार संस्करणमा प्रकाशित)
उसले आज यतिखेर बबी मार्टिनलाई
टाइम दिएको थियो । घुमाउनु थियो उसलाई । ……तर ऊ गएन । जान चाहेन ।
उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा । उसको उराठलाग्दो जीवन सपनाको संसारमा
इन्द्रेणी भएर रङ्गिरहेको थियो । त्यो सपना देख्न ऊ कयौं पल्ट निदायो र कयौं पल्ट ब्युँझियो
। विचित्रको थियो उसको सोच्ने क्रम-उपक्रम । टेबुलका दुइ किनारा जिन्दगीको साम्राज्य
घिसारेर नयाँकोण खोजिरहेका थिए । उसको सपना चुलिएर कहीले विशाल पेगोडा शैलीको भवन बन्थ्यो
र कहिले होच्चिएर माटेाको कणमा अस्तित्वविहिन भएर बिलाउँथ्यो । ऊ हिटलर बन्थ्यो र याहुदी
मनलाई पीडायुक्त अमानवीय यातना दिन पुग्थ्यो । ऊ फेरी पन्ध्रौं शताब्दिमा ओर्लन्थ्यो
र मुगल सम्राट शाहजहाँ भएर मुमताज महल ठड्याउँथ्यो । मात्र मुमताजहरु फेरिन्थे ताजमहलका
। ऊ स्ट्राफोर्ड अपन एभन सिर्जन्थ्यो र शेक्सपियर बन्थ्यो आइसाको प्रेममा । आइसा प्रज्वलनशील
पदार्थ बन्दै विष्फोट हुन्थी र एकाएक उसको प्रेम रङ्गविहिन गन्धविहिन र स्वादविहिन
बन्थ्यो । थुप्रैसंग सहमति भएको थियो उसको- आयुष्मा जुलिका उषा र निशासँग पनि ……।तर अहँ कोही पनि टिकेनन् दीर्घकाल सम्म । उसले रुचाएन
अथवा उनीहरुले रुचाएनन् । सौभाग्यवश उसको श्रृङ्खलाबद्द प्रेम कहिले सार्वजनिक
भएन । त्यसैले ऊ शान्त देखिन्थ्यो तर आँखाबाट अङ्कुशे फ्याँकेर आफैं भित्र उब्जिएको
भूँइचालोलाई ग्रहण गरिरहन्थ्यो ।
उसको प्रेम हाल आएर दिपिकामा
अडिएको छ । अडिएको पनि के भनौं निष्क्रिय हुने तयारीमा छ । प्रेम कुनै अर्की सुन्दरीमा
हस्तान्तरण हुन नपाएर ऊ महत्वकी विषय बनेकी मात्र हो । उसको विशाल हृदयमा एनी जेन अष्ट्रिना
आइन जेनिसा ब्राउन मारियो मारिया र लिटिभाले पनि अधिकार जमाएका थिए । तिनको पश्चिमेली
संस्कारको सङ्गितले उसकी आमाको शास्त्रिय झंकारमा खोटपूर्ण ब्याकरणको सिर्जना गर्न
सक्थ्यो । त्यसैले विदेशी युवतीहरुसँग उसको प्रेम अपुरो बन्थ्यो । मारियो मारिया
सँग बुनेको सपनाको रङ्ग महलले झण्डै उसलाई युनाईटेड स्टेट्स पुर् याएको थियो । "उफ् यसपाली पनि डि=भि= परेन ", उसले नाक खुम्च्यायो, ओठ लेब्रायो र टेबुलमा
बेस्सरी मुड्की बजार्यो । उसले ठमेलको गल्लिाई सम्झियो इन्द्रचोकमा गुच्चा खेलिरहेका
स-साना बच्चालाई सम्झियो । बेलामौकाको जमघटमा उसले पिउने गरेको ब्यागपाईपर रक्सीलाई
सम्झियो । फेरी आमाको तस्वीरलाई सम्झियो ।
घरिघरि ऊ फाल्तु किताबका
रङ्गिन पृष्ठहरुमा आँखा बिच्छ्याउँछ तर कलेजका मोटा किताबहरु देखि वितृष्णा फैलिसकेको
छ । प्रत्येक तन्नेरीहरुमा जस्तै ऊ भित्र पनि कमजोरी र निराशाहरु छन् । आशा र सपनाहरु
छन् । भावनाको मुक्त आकाश र विधिको परिधि छ । ऊ हृदयको सानो टुक्राबाट विकेन्द्रित
हुन्छ र फेरी संक्षिप्त बनेर आफैं भित्र अटाउँछ । सम्भ्रान्त बर्गमा विभाजित गर्छ आफूलाई
र सिद्दान्तमा बाँधे झैं गर्छ । कतिखेर-कतिखेर ऊ फुस्किन्छ बन्धन देखि र आफू भन्दा धेरै भिन्न
भएर निस्किन्छ ।
काठमाडौंले उसका दश वर्ष
बिना उपलब्धि यसै गरी लुछिदियो । न धन कमाउन सक्यो न पढाइलाई निरन्तरता दिन । उसले
टेबुल माथि बासिङ्गटन टावर देख्यो । होटल ह्वाइट देख्यो । ऊ टुरिष्ट गाइड भए देखि उसले
भेटेका सम्पूर्ण विदेशीहरुलाई देख्यो । यु.एस.ए. की मारियो मारिया स्विट्जरल्याण्डका हक्किन्स फ्रान्सकी
लिटिभा कोरियाकी क्याम्रोन इटालीकी रोजान आदि इत्यादी । काठमाडौंमा ठूलो घर
भएको भए आइशा ऊ देखि टाडा हुने थिइन । ऊ दश वर्ष अमेरिका बसेको भए उसको बाबु आमा काठमाडौंको
महलमा हुन्थे । दिपिका उसको गरिबि देखि तर्सन्न थिई । न कुनै धनि युवकले उसकी दिपिकालाई आँखा लगाउँथ्यो
। ऊ कमसल टुरिष्ट गाईड भन्दा बढी केही हुन सकेन । हुन सकेको भए -उसले आफ्नो प्रेम दिपिका
भन्दा सुन्दरी युवतीमा हस्तान्तरण गरेर त्यस युवकलाई चुनौती दिन सक्थ्यो । गाउँका युवतीहरु
उसलाई मन पर्दैनथ्यो । शहरी युवतीहरु मुस्किलले उसलाई हेर्थे । अनेकौं कन्या निरिक्षण
गर्दा पनि उसले आमाको लागि सीता फेला पार्न सकेन । उसले ठमेलको गल्लिमा यु.एस.ए. को सपना देख्यो त के गल्ति
गर्यो । असमयमै जागिर खायो र पढाई बिगार्यो त के गल्ति गर्यो देशले उसको तन्नेरी उर्जालाई ठम्याउन सकेन र ऊ विदेशिन
चाह्यो त के गल्ति गर्यो <
उसले सोच्यो, "सके यु=एस=ए=, नसके क्यानडा, अष्ट्रेलिया वा नेदरल्याण्ड
। त्यो पनि नसके कुवेत मलेसिय" यस्तै यस्तै थिए उसका
मन भित्र । कतिखेर-कतिखेर ऊ निदायो । उसका गरिबिले उसलाई घँचेटे । समस्याहरुले चिथोर्न
थाले । उसले आफूलाई आफू भएको घोषणा गर्न सकेन ।
समयले सर्लक्क निल्यो उसलाई । कोठा बाहिर गाडिका आवाजहरु सुनिन्थे । रात परेको थिएन
पर्न आँटेको मात्र थियो । ऊ सपनामा थियो । उसका अगाडि प्रतिशोध निष्क्रियता र चुनौतिहरु थिए। छोरो हुनुको जिम्मेवारीले
लखेट्यो उसलाई । उसको सपनामा विदेशी युवतीहरु आए आइसा र दिपिकाहरु आए । आमाको हँसिलो
अनुहार आयो । सपनामा अग्ला - अग्ला भवनहरु आए। वासिङ्गटन डि.सी. आयो । ती सबै डरलाग्दा
देखिए र एकिकृत भएर आँशुको ढिक्कामा बदलिए ।
उसले आँशु चुहायो । उसका
आँशु तन्द्राका नीला फूलहरुमा झरे । ऊ निन्द्रामै छट्पट्टायो । छट्पट्टाई नै रह्यो ।
(Pic Sources : Internet)