हामी बिमा बालकथा लेखनको लागि बलथली भिलेज रिसोर्ट, काभ्रेमा थियौँ । दिइएको समय जम्मा तीन दिन थियो । पहिलो दिन हामीले कथा लेखेनौ । बल्ल दोस्रो दिन लेख्यौ । सबैको कमेन्ट गर्नुभयो रमेश सर र बिनय सरले । आखिर कथा फाइनल भयो । मैले चाहीँ तेस्रो पक्षको बिमालाई फोकस गरेर लेख्न खोजेको थिएँ । दिदी इन्दिरा दलीको देश बाहिरका भ्रमणका अनुभवहरु सुनेर सारै रमाइलो लाग्यो । साथीहरु धेरै जना हुनुहुन्थ्यो । बहिनी पलपलको पलपल साथ । अनुराधा शर्माजीले सुनाउनु भएका कुरा । विजय दाइको अत्याउने बानी । हलमा र खाना खाने समयमा लामखुट्टेको टोकाइ । नेत्र,उत्तम,श्याम,केशरी जस्ता साथीहरु । अनन्त दाइ,गिता,ललिता र सुधा त्रिपाठी --दिदीहरु । हलमा अलिअलि लामखुट्टेको धुपको बास्ना । जिवन परिवर्तन गर्न सक्ने भिडीयो । रमाइलो गरी नै पढीयो र लेखियो पनि । नयाँ कुराहरु जानियो । त्यस बिषयवस्तुमा राम्रो कथा बन्दैन होला भन्ने सोचेपनि आखिर कथा बन्यो नै ।
Sep 26, 2013
Sep 15, 2013
भाषण छाँट्नु छैन !
Photo Source :http://st.depositphotos.com/
प्रकाशित नेपाल साप्ताहिक
— सबिना सिन्धु
अनावश्यक विरोध गर्नु छैन कसैको,
फरक मत विचार र मान्यतामा
अबरुद्ध गर्नु छैन कसैको वैचारिक स्वतन्त्रता ।
अन्धाधुन्द उर्लिएको अर्थहिन जुलुसमुनि
किचिनु छैन ।
बिर्सिएर आफ्नो स्वाभिमान कुनै पार्टिको
झण्डा समाउनु छैन ।
भट्याउनु छैन कुनै ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा
न त गाउनु नै छ कसैको स्तुतिगान ।
पतन भएकाहरुको लिस्टमा पर्नु छैन मलाई ।
सफल हुननसक्ने नाटकमा झैं
कुनै कमजोर कलाकारको अभिनय गर्नु छैन ।
हेर्नु छैन मलाई डेट सक्किएको पूरानो क्यालेण्डर
खुम्च्याउनु छैन भग्नावशेष बनेको त्यो समय
सत्य कमरेड,
मलाई निन्दाको पात्र बन्नु छैन ।
भाषण छाँट्नु छैन भाडाको माइकमा
न सम्झनुछ रङ्गहीन पुरानो तस्विर
खिल्ली उडाउनु छैन कसैको ।
थाहा छ जनताका कठिन संघर्षका समयहरु
इतिहासका कालखण्डहरु
अहँ बल्झाउन चाहान्न, दुखेको घाऊ ।
अनाहकमा न त विरोध गर्नुछ कसैको
न त समर्थन ।
अनावश्यक जान्ने बुझ्ने देखाएर
समय भन्दा धेरै अगाडि कुद्नु छैन,
कुनै जुझारु नेता झै भाषण छाँट्नु छैन ।
सत्य कमरेड मलाई निन्दाको पात्र बन्नु छैन ।
Sep 14, 2013
लोरिमालाई चिठ्ठी
— सबिना सिन्धु
प्रेमी शहरको उज्यालोमा
उभ्याएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।
मेरी लोरिमा !
आगो बाँचेर पानी निल्ने
समयका ओठहरुसँगै
हृदयमा क्षितिज अटाएर
अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।
महल ठड्याएर गाँसिरहेकी छ्यौ
मध्यदिनका सपनाहरुलाई
टेबुलभरी पसारिएका अनियन्त्रित
आँखाहरु बीच
सागर छिचोलेर परेलीहरुबाट
बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।
हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा
नबुझिने इतिहास कोरिरहेकी छ्यौ
अँधेरी रातमा ।
सपनाहरु कमजोर हुन्छन् लोरिमा !
भावनाका फूलहरु, फूल होइनन्
सपनाका बघैंचाहरु , महल होइनन् ।
स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।
उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।
असरल्ल फिँजाएर तन्नेरी छालहरु
केबल गुन्गुनाइरहेकी छ्यौ
प्रेमका सुमधुर गीत
कतै नबज्रियोस् पहाड तिमी माथि
नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी
नभत्कियोस् तिम्रो सपनाको ताजमहल
र चोट नलागोस्,
लम्कन चाहाने गोडाहरुमा ।
Sep 13, 2013
कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर
Pic Source : httpwww.patrol-log.com.jpg
प्रकाशित: मधुपर्क मासिक
— सबिना सिन्धु
श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,
विचारको कारोवार गर्छन् ।
आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु
दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।
विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !
सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर
आगोसँगै बाल्छु ।
तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।
सम्पादकबाट अस्विकृत उनका विचार,
टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।
घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।
पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।
कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।
आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा
ताकि उनले,
एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्
र महशुस गरुन् ।
घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,
अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।
अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,
थाहा छ, श्रीमान्,
म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।
Sep 12, 2013
माफ गर्नुहोस् महाशय
Pic Source : www.careerfaqs.com
प्रकाशित: नागरिक 'अक्षर'
— सबिना सिन्धु
माफ गर्नुहोस् महाशय,
कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।
दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।
कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?
कसले किर्ते गर्यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
कसले गर्यो अक्षरमा केरमेट ?
भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !
कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?
अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको
औंठाको प्रष्ट पहिचान ।
माफ गर्नुहोस् महाशय,
किन लेखियो मनगणन्ते लेखाई ।
बुझ्नै सकिन, कसले किर्ते गर्यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
Subscribe to:
Posts (Atom)