Apr 21, 2016

परिवर्तन हुन्छ समय




-          सबिना सिन्धु



लेख्यौ कि ....!

कुन कागजमा लेख्यौ मेरा गीतहरु
ती त भिजे पानीमा निथ्रुक्क
तप्पतप्प जमिनमा झरेका थोपासंगै ।

कि.... कुन पातमा लेख्यौ प्रेमपत्र
जुन, घामको स्पर्शले सुक्यो, हुरीले उडायो ।
जहाँ अक्षरहरु स्पष्ट छैनन् ।
शब्दहरु थकित छन् ।
पातहरुको श्रृङ्गारमा भेटिन्न म
भो कागजमा अटाउँदिन म ।

चामलका दाना, ती भन्दा सेता लाग्छन् असिना ।
जो झर्छन् बारम्बार आकाशबाट र हिर्काउँछन् हामीलाई
त्यतिबेला,  के आकाशको विरोध गर्नु
वा पानीको विरोध गर्नु ।
वा तिम्रो प्रेमपत्रको विरोध गर्नु ।
वा सुनाउन चाहेको गीतको विरोध गर्नु ।

कि....कुन भावले लेख्यौ प्रेमपत्र,
ती शब्द, प्रारम्भ देखि अन्तिमसम्म
चरणचरण गर्दै अनुमान लगाउनु पर्ने भयो ।

मसिहरु लत्पत्तिए, विचारहरु अपभ्रंश भए ।
शब्दसंग अर्थ दिने सामथ्र्य छैन।
टुक्राटुक्रा भए भावहरु


ओर्लिएर जमिनमा, पानीमा परिवर्तन हुन थाले।
यसैगरी परिवर्तन हुन्छ समय ।
यसैगरी परिवर्तन हुन्छन् साल ।
पूरानो साल फेरिन्छ र नयाँ आउँछ ।
संघर्ष-संघर्षबाटै,
उर्जावान् बन्छ जिवनको यात्रा ।

उमेर र समय यसैगरी बित्छ
तर पनि बाँकी रहन्छ प्रेमिल मन ।
फेरी पनि लेख्नु प्रेमपत्र.........


-          sabinasindhu@gmail.com






Dec 29, 2015

Note: Picture Sources Internet...

Nov 29, 2015



Sabina Sindhu (सबिना सिन्धु)

Mar 3, 2015

जब सपनाकै राजकुमारले अनुपमाको हत्या गर्योा (कथा )

प्रकाशित: Setopati.com मिति: शनिबारआषाढ ७२०७१      

जब सपनाकै राजकुमारले अनुपमाको हत्या गर्‍यो                

                                 -      सबिना सिन्धु


     बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। ओई अनुपमा.......पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै छरिएका थिए। उसको उभ्याइमा उदारता र गम्भीर ब्यक्तित्व देखिन्थ्यो। ठूलो ग्राउन्ड, थुप्रै घरहरु, भुलभुलैया जस्तै बाटाहरु अनि किताबहरुको चाङ्ग भएको पुस्तकालय। यस विश्वविद्यालयको विद्यार्थी हुनुमा पनि गौरव महसुस हुन्थ्यो। 



     “आज मलाई खुब गफ गर्न मन छ रोशनी, केही बेर यही चौरमा बसौं अनि मात्र कक्षामा जाउँला !अनुपमाले भनी। मैले सहमति जनाएँ। हामी चौरमा थचक्क बस्यौं। बाटोबाट किनेर ल्याएको बदाम छोडाउँदै खान थाल्यौं। सिन्दुर, टिका, चुरा, पोते र चहकिलो कुर्ता सुरुवालमा सजिएकी अनुपमा सायद श्रृङ्गारले होला निकै राम्री, विश्वविद्यालयको पृष्ठभूमिमा तयार पारिएकी गुडियाजस्तै देखिएकी थिई। तर अलिकति दुब्लाएकी जस्ती। अनि आँखा अलिकति गाडिएको जस्तो थियो। म पनि बिहे भएपछि त्यसैगरी राम्री भएर हिँड्छु होला, मैले सोचेँ। 

    “कस्तो चल्दैछ त तेरो विवाह पछिको जिन्दगी?” मैले रोमाञ्चित हुँदै अनुपमाको परिवर्तन भएको आकर्षण नियाल्दै भनेँ। ठिकै ! औपचारिक जवाफ बाहेक अपेक्षाकृत जवाफ केही आएन उसको। महिना दिन त भो बिहे भाको बिचरी के उपलब्धी सुनाउली ?” मैले सोचेँ। फेरी म्यारिज पनि पूरै एरेन्ज्ड, अहिलेको जमानामा पनि। 

      चार पाँच महिना अगाडि उनीहरु पँखेटावाला मानिसको कुरा गर्दै खाली समयमा यसै गरी चौरमा अल्मल्लिइरहेका हुन्थे। पँखेटावाला मानिस उमेर पुगेकी युवतीको सपनाको राजकुमार हो। जो उसको मनको दैलोसम्म आउँछ र उडाएर उसलाई नयाँ संसारमा लिएर जान्छ। त्यो मानिसभन्दा नजिकै अर्को कुनै मानिस हुँदैन युवतीको। विहेको बन्धनले यसरी कसिदिएको हुन्छ कि उनीहरु अलग अस्तित्व हुन् भनेर पत्याउनै गाह्रो हुन्छ। मेरो आफ्नो मान्छे त मलाई खोज्दै आईपुग्यो,” बिहेको कुरा छिनेकै दिन अनुपमा मख्ख पर्दै अलिकति अनभिज्ञतामिसिएको हाँसो बोकेर कलेज आईपुगेकी थिई। मलाई त्यो दिनको सम्झना अझै पनि छ। हाम्रो चाहिँ पालो आउँदैन भन्ठानेको कि क्या हो ?” त्यतिबेला मैले जवाफ फर्काएकी थिएँ। 

     आज चार पाँच महिना अगाडिको कुरा अनुपमालाई दन्त्यकथा जस्तै पुरानो र अपत्यारिलो लागेको थियो। मोनालिसाबनोटको अनुहारमा रुवाइले गाडिएका आँखाहरु टिल्पिलाएका थिए। हैन तेरो निद्रा पुगेको छैन कि क्या हो, आँखा निकै रसिलो र गाडिएको देखिन्छ नि ? कि बाबुआमा दाजुभाइको याद आयो र रोईस् ?” मैले प्रश्नमाथि प्रश्न तेर्स्याएँ।

     “हैन, मलाई त नयाँ घर...घर जस्तै लाग्दैन। आफन्त भनौंदाहरु आफन्त जस्तै छैनन्,” उसले भनी। नचिनेको मान्छेसँग बिहे गरिस् त। आफैंले खोजेको भए आफन्त जस्तो लाग्थ्यो होला नि त,’ मैले उसको कुरालाई ठट्टा बनाईदिएँ।

      कठै बिहे भएको एक महिनामै उसले दाम्पत्य जीवनको स्पष्ट रेखा देखिन। पीडाको लय महाकाव्य भएर बगेको थियो सिर्फ उसका आँखामा, बाँकी शरीरले विवाहित युवतीका रङ्गिन श्रृङ्गार भेटेका थिए। हामी दुई पिरियड सक्किएपछि बल्ल छिरेका थियौं कक्षा भित्र। 

      मेरो आँखाभरी एकपछि अर्को गर्दै पँखेटावाला मानिसको चित्र घुमिरहेको थियो। मेरो अघिपछि लाग्ने कलेजका केटाहरु मध्ये कुन चाहिँ बन्न सुहाउला मेरो पँखेटावाला मानिस’ ? दाँज्न थालेँ तर मेरो दृष्टिमा सब वाहियात, सब नालायक लागे। दोष केही थिएन उनीहरुको। 

दिन बित्यो।

    निकैदिन अनुपमा कलेज आइन। फोनमा कुरा हुँदा श्रीमानले घुम्न जाने प्रस्ताव राखेको कुरा मलाई बताएकी थिई। ल मोज गर्,” भन्दै मैले उसलाई जिस्काएको थिएँ। केही दिनपछि विश्वविद्यालयको पुस्तकालयमा अनुपमाको फोटो छापिएको पत्रिका आयो। म झस्किएँ र पत्रिकाका दुई किनारा हातले समातेर अक्षरहरु पढ्न थालेँ। पत्रिकामा लेखिए अनुसार उसको श्रीमानले पूर्व प्रेमिकाको कुरा सुनेर अनुपमाको निर्मम हत्या गरेछ। 

    “वाहियात मान्छे। मार्नकै लागि किन बिहे गरेको होला ? एउटी युवतीको कुरा सुनेर अर्की युवतीको ज्यानै लिन्छन् ?” म भुत्भुताएँ। कम्परमाइज गरेको भए हुन्थ्यो, सँगै बस्न नसके सम्बन्ध विच्छेद गरेको भएपनि हुन्थ्यो। थुप्रै विकल्पहरु थिए। उफ् तर मारी छोड्यो। 

     मैले पत्रिका च्यातुँला झैं गरेँ तर लाइब्रेरियनले रोक्यो। मलाई मन्दिरबाट आस्था ढलेझैं लाग्यो। गुम्बज भत्किएझैं लाग्यो। आफ्नो मान्छे नै आफ्नो हुँदैन भने कसलाई विश्वास गर्ने? त्यस अपराधीले दर्जन केटी मध्ये छानेको थियो अनुपमालाई। अपराधको रङ्ग हुँदैन र अपराधीमा मानवताहुँदैन भन्थे नभन्दै हो रैछ। 

    समाचार पढिसकेपछि मैले यो कथा लेखेँ। तर, लेखिसक्नु अघिनै दिदीलाई फोन गरेँ। दिदीको विवाह भएको दुई वर्षमात्र भएको थियो। मैले तर्सिएझैँ गरेर भनेँ, 'दिदी ! तिम्लाई त्यस घरमा हेला त गर्दैनन् नि? भिनाजुले, आफन्तहरुले, नातागोताले.. ?' यस्ता थुप्रै प्रश्नहरु सोधिसकेपछि दिदीले भनिन्, 'किन तर्सिएकी! आजको न्युज पढेर हो कि क्या हो? सबै मानिस अपराधी हुँदैनन् नि।' त्यसपछि म अलि ढुक्क भएँ। आजको न्युजमा छापिएको तस्विर मेरै सहपाठी अनुपमाको हो भनेर दिदीलाई भन्नै सकिनँ। फोन राखेँ। तर अनुपमामाथि घटेको घटना मेरो मस्तिष्कबाट हट्न सकेको छैन। शायद कहिले पनि हट्ने छैन। मृतक अनुपमा लेखिएको पत्रिकाको तस्बिर सम्झिएँ। अनुपमाको अपराधी श्रीमानको तस्बिर सम्झिएँ। धिक्कार होस्, त्यस अपराधीलाई। कठै  निर्दोष अनुपमा!’ 

                                                                                                          sabinasindhu@gmail.com


Feb 26, 2015

तन्नेरीको सपना

        - सबिना सिन्धु
 (तन्नेरीको सपना कथा, कान्तिपुर कतार संस्करणमा प्रकाशित)
       
युनाईटेड स्टेट्स र सुन्दरी दिपिका उसको अगाडि उत्तिकै महत्वपूर्ण भएर उभिए । झ्यालको पर्दाबाट हावा हल्लिँदै उसको शिर सम्म आइपुगेर उसकी आमाको तस्विरमा अप्रत्याशित रुपमा ठोक्कियो । उसले फ्रान्सकी लिटिभालाई सम्झियो । लिटिभा उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी । उसको प्रेम लिटिभा र दिपिका सँग मात्र होइन युनाइटेड स्टेट्स् की मारियो मारिया सम्म पुगेको थियो । मयुरको सौन्दर्यमा उभिएका हुन्थे सुन्दरी ठिटिहरु । उसले खुल्ला झ्याललाई निरिक्षण गर्यो र फूलदानीमा रहेको कृतिम फूललाई सूँघ्यो । फूलमा सौन्दर्य थियो सुवास थिएन । बरु पुरानो भएकोले होला गन्हायो । "यसपाली त पक्कै भिसा लाग्‍ला", उसले सोच्यो । मसिका नीला चक्काहरु झैं बनेर बसेका थिए तन्द्राका नीला फूलहरु र उसका सपनाहरु । उसकी आमा कोठाको तस्विरमा झुण्डिराखेकी थिइन् । उनी सँधै यसै गरी चुपचाप झुण्डिन्थिन् । गाउँको सानो सन्दुसमा बुहारीका लागि भनेर पुराना गहनाहरु सुरक्षित राखेकी थिइन् उनले  "भिसा लाग्यो भने ती सबै गहनाहरु बेच्नु पर्छ घर  खेत बेच्नु पर्छ ।", उसले सोच्यो । यसरी नै उसकी आमाको सपना र उसका सपना बाझिन्थे र ऊ निश्कर्ष खोज्दै छट्पटाउँथ्यो
उसले आज यतिखेर बबी मार्टिनलाई टाइम दिएको थियो । घुमाउनु थियो उसलाई । ……तर ऊ गएन । जान चाहेन । उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा । उसको उराठलाग्दो जीवन सपनाको संसारमा इन्द्रेणी भएर रङ्गिरहेको थियो । त्यो सपना देख्न ऊ कयौं पल्ट निदायो र कयौं पल्ट ब्युँझियो । विचित्रको थियो उसको सोच्ने क्रम-उपक्रम । टेबुलका दुइ किनारा जिन्दगीको साम्राज्य घिसारेर नयाँकोण खोजिरहेका थिए । उसको सपना चुलिएर कहीले विशाल पेगोडा शैलीको भवन बन्थ्यो र कहिले होच्चिएर माटेाको कणमा अस्तित्वविहिन भएर बिलाउँथ्यो । ऊ हिटलर बन्थ्यो र याहुदी मनलाई पीडायुक्त अमानवीय यातना दिन पुग्थ्यो । ऊ फेरी पन्ध्रौं शताब्दिमा ओर्लन्थ्यो र मुगल सम्राट शाहजहाँ भएर मुमताज महल ठड्याउँथ्यो । मात्र मुमताजहरु फेरिन्थे ताजमहलका । ऊ स्ट्राफोर्ड अपन एभन सिर्जन्थ्यो र शेक्सपियर बन्थ्यो आइसाको प्रेममा । आइसा प्रज्वलनशील पदार्थ बन्दै विष्फोट हुन्थी र एकाएक उसको प्रेम रङ्गविहिन गन्धविहिन र स्वादविहिन बन्थ्यो । थुप्रैसंग सहमति भएको थियो उसको- आयुष्मा जुलिका उषा र निशासँग पनि ……।तर अहँ कोही पनि टिकेनन् दीर्घकाल सम्म । उसले रुचाएन अथवा उनीहरुले रुचाएनन् । सौभाग्यवश उसको श्रृङ्खलाबद्द प्रेम कहिले सार्वजनिक भएन । त्यसैले ऊ शान्त देखिन्थ्यो तर आँखाबाट अङ्कुशे फ्याँकेर आफैं भित्र उब्जिएको भूँइचालोलाई ग्रहण गरिरहन्थ्यो ।
उसको प्रेम हाल आएर दिपिकामा अडिएको छ । अडिएको पनि के भनौं निष्क्रिय हुने तयारीमा छ । प्रेम कुनै अर्की सुन्दरीमा हस्तान्तरण हुन नपाएर ऊ महत्वकी विषय बनेकी मात्र हो । उसको विशाल हृदयमा एनी जेन अष्ट्रिना आइन जेनिसा ब्राउन मारियो मारिया र लिटिभाले पनि अधिकार जमाएका थिए । तिनको पश्चिमेली संस्कारको सङ्गितले उसकी आमाको शास्त्रिय झंकारमा खोटपूर्ण ब्याकरणको सिर्जना गर्न सक्थ्यो । त्यसैले विदेशी युवतीहरुसँग उसको प्रेम अपुरो बन्थ्यो । मारियो मारिया सँग बुनेको सपनाको रङ्ग महलले झण्डै उसलाई युनाईटेड स्टेट्स  पुर्याएको थियो । "उफ् यसपाली पनि डि=भि= परे", उसले नाक खुम्च्यायो, ओठ लेब्रायो र टेबुलमा बेस्सरी मुड्की बजार्यो । उसले ठमेलको गल्लिाई सम्झियो इन्द्रचोकमा गुच्चा खेलिरहेका स-साना बच्चालाई सम्झियो । बेलामौकाको जमघटमा उसले पिउने गरेको ब्यागपाईपर रक्सीलाई सम्झियो । फेरी आमाको तस्वीरलाई सम्झियो ।
घरिघरि ऊ फाल्तु किताबका रङ्गिन पृष्ठहरुमा आँखा बिच्छ्याउँछ तर कलेजका मोटा किताबहरु देखि वितृष्णा फैलिसकेको छ । प्रत्येक तन्नेरीहरुमा जस्तै ऊ भित्र पनि कमजोरी र निराशाहरु छन् । आशा र सपनाहरु छन् । भावनाको मुक्त आकाश र विधिको परिधि छ । ऊ हृदयको सानो टुक्राबाट विकेन्द्रित हुन्छ र फेरी संक्षिप्त बनेर आफैं भित्र अटाउँछ । सम्भ्रान्त बर्गमा विभाजित गर्छ आफूलाई र सिद्दान्‍तमा बाँधे झैं गर्छ । कतिखेर-कतिखेर ऊ फुस्किन्छ बन्धन देखि र आफू भन्दा धेरै भिन्न भएर निस्किन्छ ।
काठमाडौंले उसका दश वर्ष बिना उपलब्धि यसै गरी लुछिदियो । न धन कमाउन सक्यो न पढाइलाई निरन्तरता दिन । उसले टेबुल माथि बासिङ्गटन टावर देख्यो । होटल ह्वाइट देख्यो । ऊ टुरिष्ट गाइड भए देखि उसले भेटेका सम्पूर्ण विदेशीहरुलाई देख्यो । यु.एस.. की मारियो मारिया स्विट्जरल्याण्डका हक्किन्स फ्रान्सकी लिटिभा  कोरियाकी क्याम्रोन  इटालीकी रोजान आदि इत्यादी । काठमाडौंमा ठूलो घर भएको भए आइशा ऊ देखि टाडा हुने थिइन । ऊ दश वर्ष अमेरिका बसेको भए उसको बाबु आमा काठमाडौंको महलमा हुन्थे । दिपिका उसको गरिबि देखि तर्सन्न थिई । न कुनै धनि युवकले उसकी दिपिकालाई आँखा लगाउँथ्यो । ऊ कमसल टुरिष्ट गाईड भन्दा बढी केही हुन सकेन । हुन सकेको भए -उसले आफ्नो प्रेम दिपिका भन्दा सुन्दरी युवतीमा हस्तान्तरण गरेर त्यस युवकलाई चुनौती दिन सक्थ्यो । गाउँका युवतीहरु उसलाई मन पर्दैनथ्यो । शहरी युवतीहरु मुस्किलले उसलाई हेर्थे । अनेकौं कन्या निरिक्षण गर्दा पनि उसले आमाको लागि सीता फेला पार्न सकेन । उसले ठमेलको गल्लिमा यु.एस.. को सपना देख्यो त के गल्ति गर्यो असमयमै जागिर खायो र पढाई बिगार्यो त के गल्ति गर्यो  देशले उसको तन्नेरी उर्जालाई ठम्याउन सकेन र ऊ विदेशिन चाह्यो त के गल्ति गर्यो  <
उसले सोच्यो, "सके यु=एस==, नसके क्यानडा, अष्ट्रेलिया वा नेदरल्याण्ड त्यो पनि नसके कुवेत मलेसिय" यस्तै यस्तै थिए उसका मन भित्र । कतिखेर-कतिखेर ऊ निदायो । उसका गरिबिले उसलाई घँचेटे । समस्याहरुले चिथोर्न थाले । उसले आफूलाई आफू भएको घोषणा गर्न सकेन । समयले सर्लक्क निल्यो उसलाई । कोठा बाहिर गाडिका आवाजहरु सुनिन्थे । रात परेको थिएन पर्न आँटेको मात्र थियो । ऊ सपनामा थियो । उसका अगाडि प्रतिशोध  निष्क्रियता र चुनौतिहरु थिए। छोरो हुनुको जिम्मेवारीले लखेट्यो उसलाई । उसको सपनामा विदेशी युवतीहरु आए आइसा र दिपिकाहरु आए । आमाको हँसिलो अनुहार आयो । सपनामा अग्ला - अग्ला भवनहरु आए वासिङ्गटन डि.सी. आयो । ती सबै डरलाग्दा देखिए र एकिकृत भएर आँशुको ढिक्कामा बदलिए ।
उसले आँशु चुहायो । उसका आँशु तन्द्राका नीला फूलहरुमा झरे । ऊ निन्द्रामै छट्पट्टायो ।  छट्पट्टाई नै रह्यो ।

(Pic Sources : Internet)

Oct 10, 2014

गरिबीको कविता

        Pic Source : http://www.netanimations.net/Cash-money-dollars-monetary-clip-art-animations.htm


        


                                                     — सबिना सिन्धु 

यतिखेर यो कविता
गरिबिको रेखामुनि बसेर तर्सिन्छ 
र नाप्छ आफ्नो सिमान्त गरिबी
तर पनि 
भर्खरै स्विकारेर आएझैं बेरोजगारी भत्ता
उन्मुक्त भई बक्छ प्रभावग्राही शब्द

गरिबीको प्रत्येक गौरवशाली कविता
प्रतिनिधि बन्छ गरिब राष्ट्रको,
र अनुदान बनेर भित्रिन्छ देश भित्र । 

गरिबी समाचार बनेर पटक—पटक छापिन्छ
राष्ट्रिय दैनिकहरुमा 
अथवा कहिले काहीँ झुक्किन्छ 
र पर्छ कालो सूचिमा । 

अभावको पर्यायवाची बनेर
असिमित रहर संगाल्छ 
र उठेको छु भन्छ, ‘जिरो’ आम्दानी स्तरबाट माथि । 

परिमार्जित हुन्छु भन्छ,
उकास्छु भन्छ आर्थिक हैसियत
तर पनि पीडित मजदुर बन्दै 
माग गर्छ आर्थिक सुरक्षा । 

मस्तिष्कको क्यालकुलेटर दबाउँछ
र लगाउँछ आय र ब्ययको अनुमान । 
मात्र महशुस गर्छ सतहको तापक्र्रम

यतिखेर गरिबी परिमार्जित हुन्छु भन्छ 
र फलाकिरहन्छ दिगो विकास । 

Jul 10, 2014

सबिना सिन्धु फोटो


                                                        Sabina Sindhu Photo

Jun 3, 2014

तीन ..................


बाबा बस्नेत, बेलायती लेखिका पास्कल पेटिट र सबिना सिन्धु

सबिना सिन्धु


Jun 2, 2014

कपमा उभिएको अस्थिपञ्जर



 

                              
                               Pic Source : http://www.glitters123.com/glitters/sad/
                                                                     — सबिना सिन्धु                     

साँच्चै किताब पढ्दै थियौ नि !
कति पृष्ठ पढ्यौ र जाँच्यौ आफ्नै हालत ?
शुन्य — शुन्यमा निर्वाह गयौ शब्दको प्रहार 
र चपाउँदै चेतनाहिन एकाग्रता, चर्कियौ समयको छातीमा । 

बत्ति निभेको एक साँझ, 
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला
र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै,
सिरानमा राख्यौ मैन भन्दा धेरै पर,
मेरो तस्विरमा पोखिएका रङ्गलाई ।

भिन्दा— भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।

तैपनि, फे¥र्यौ आत्मियताको श्वास तर जित्न सकेनौं मलाई 
र गन्तब्य हराएर निस्सासियौ मेरो पच्छ्यौरीको किनारमा ।  
अन्तत ः च्यातियौ धुजाधुजा भएर ।

वा भनौं,
घिस्रियौ नियतिका डोबहरुमा पहिरोका छिटाहरुसँगै,

........अनि  गहभरी भिजायौ हगी, 
एक ढिक्का सम्वेदनसिलतालाई उही रैथाने आँसुमा ।

ठिक 
त्यसैबेला 
मेरो नजिकै डुब्यौ तिमी,
मेरो.............. कफिको............ कपमा 
एक ढिक्का संझना भएर ।  

‘उभियो’ कफिको झोलमा,  
.......... तिमी होइन तिम्रो अस्थिपञ्जर ।

सोचेँ यतिखेर तिमी किताब पढ्दै हौला ।
                                                   

Dec 12, 2013

चिहान उठ्छ


Pic  Source : glittergraphics, internet

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर

मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ



जे होस् चिहान उठ्छ ।


ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ असन्तुष्टिका भाग्य रेखा



अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको

चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ



जे होस् चिहान उठ्छ ।


Nov 1, 2013

माछो र आइमाई




                 Pic Source : http://actually-a-mermaid.tumblr.com/post/20596747983




                       Pic Source :  http://www.layoutsparks.com/pictures/pisces-0


कथा

                 
                                                         
  — सबिना सिन्धु

               
१. कथा सत्र (निष्क्रिय सत्र)

    ऊसँग कुचि थियो रङ्गका बट्टाहरु थिए । चित्र बनाउने क्याभास थियो । उसको रहस्मय मुहारले असन्तुष्टिको सङ्केत गरिरहेका थिए । ऊ भन्दै थियो, “म मास्को शहरमा कलाकारिता विषय पढ्न गएको थिएँ । त्यहाँ एउटी असल शिक्षिका थिइन् । उनी राम्री थिइन् । त्यो भन्दा बढी उनी बौद्धिक थिइन् ।

उनी कलाकारितामा पनि पोख्त थिइन् । उनलाई कुनै सामान्य नामले बोलाइन्थ्यो । मैले उनको वास्तविक नाम के थियो भन्ने कुरा चाल पाइसकेको थिएँ । उनी नीलो रङ्गको लुगा लगाउँथिन् । त्यसैले मैले उनलाई नीलो दहकी परी, समुन्द«की राजकुमारी र जल देवी भन्न रुचाएँ उनका ती उपनामहरु केबल मेरो मन भित्र मात्र सिमित रहन पुगे । उनी मेरी शिक्षिका मात्र थिइनन् सहृदयी मित्र पनि थिइन् ।”


(मलाई लाग्यो ऊ आफ्नो जिन्दगीको रमाइलो प्रेम कहानी सुनाउन लागिरहेको छ । उसले क्यानभासमा एउटी तरुनी युवतीको स्केच बनायो )—

“उनी मेरी शिक्षिका हुनु भन्दा पच्चिस वर्ष अघि शायद यस्तै थिइन् । उनी जँड्याहा लोग्नेसँग बस्थिन् जो फुर्सदमा बहुलठ्ठी साथीहरु बटुलेर ‘जुवा—घर’ जान रुचाउँथ्यो । मलाई उनको सौन्दर्यसँग कुनै सरोकार थिएन तथापी उनको दूरदृष्टि र बौद्धिकताको तारिफ गर्थेँ । उनलाई भलाद्मी र राम्री (असल) भन्न रुचाउँथे । कुनै दिन म उनको घर जाँदा उनको जँड्याहा लोग्ने आँखा बन्द गरेर बसिरहेको थियो । ऊ निदाएको भने थिएन । ऊ सँधै यसैगरी आराम गर्ने गथ्र्यो । दाहिृजुङ्गा पालेको हुनाले उग्र स्वभावको स्वाँठ जस्तो देखिन्थ्यो । भित्तामा चित्रहरु टाँगिएका थिए । कोठामा एक्वेरियम सजाईएको थियो । जहाँ माछाहरु ‘बासी’ पानीमा पौडिरहेका थिए । मैले एक्वेरियम, पानी र माछाको चित्र बनाउँदा उनको लोग्ने निधार खुम्च्याएर मलाई हेरिरहेको थियो । यो कथाको मुख्य पात्र त्यही एक्वेरियम भित्रको माछो हो ।”


( श्रोता हुनुको सिङ्गो मानसिकता बोकेर म कलाकारका कुराहरु निर्धक्क सुनिरहेको थिएँ । उसले विषयवस्तु अन्तै मोड्यो र धाराप्रवाह रुपमा बोल्न थाल्यो ।)

    “आफ्नै छिमेककी रैथाने आइमाईसँग मेरो बिहे भयो । मैले उसलाई कहिल्यै प्रेम गरिन वा गर्न चाहिँन । बिहे भएको पहिलो दिन मैले उसलाई राम्री देखेँ । केही समय पछि उसलाई सामान्य देख्न थालेँ  र त्यसपछि ऊ मेरो अगाडि कुरुप देखिन थाली । ऊ आधा रातसम्म जागा बसेर मेरो बाटो कुर्थी । फुर्सदमा मास्कोमा हुर्किएका तरुनी युवतीहरुको चित्र हेर्थी । ऊ मान्छे थिइन माछो थिई । म नचाहेर पनि ऊ सँग नजिकिन बाध्य थिएँ । प्रकृतिको रातो गुलाफको अगाडि ऊ साह्रै फिक्का लाग्थी । म उसलाई घृणा गर्थेँ किनकी ऊ मेरी स्वास्नी थिई । उसका आँखाहरु गिद्धका आँखा जस्तै देखिन्थे । नाक सुगाको घोप्टिएको थुतुनो जस्तो लाग्थ्यो । उसको लामो—लामो कपाल, फोहर बढार्ने कुचोको तल्लो भाग जस्तै देखिन्थ्यो । मान्छेहरु उसको सौन्दर्यको तारिफ गर्थे । उसको लामा—लामा कपालको चर्चा गर्थे । क्षमता, प्रतिभा र बौद्धिकता नभएका आइमाई ‘माछो’ भन्दा बढी केही होइनन् । एकदिन घरमा आएको आँधिबेरीले सडेको माछाको दुर्गन्ध मेरो नाकसम्म ल्याएको थियो । कल्पनाको विशाल डुङ्गामा चढेर मैले आफुलाई मन्दिरको गजुर भन्दा ठूलो महशुस गरेको थिएँ ।”

    (उसले अर्को चित्रको स्केच खिच्यो । एक्वेरियमको, माछाको र नीलो पानीको । यस भन्दा अघि बनाएको चित्र अधुरो नै थियो । मैले मास्कोकी शिक्षिकालाई सम्झेँ । उसले मेरो आशय बुझे झैँ गरी मलाई हेर्यो  र फेरी बोल्न थाल्यो ।)

“स्त्रीको आत्मा हुँदैन । उनीहरु लगभग पशु जस्तै हुन्छन् । मास्कोकी शिक्षिका, उनी आइमाई थिइन् तर उनमा पुरुषको दृढता थियो । उनको जँड्याहा लोग्नेले घरमा आगो सल्काइरहन्थ्यो । ऊ स्वास्नीसँग झगडा गथ्र्यो । मौका परे पैसा चोथ्र्यो र आनन्दसँग सुनसान ठाउँमा गएर निदाउँथ्यो । डल्फिन माछा झैं उफ्रिएर उनले एक्वेरियमको परिधि नाघिन् र मान्छे भइन् ।”

    (“अनि तिम्री स्वास्नी नी ?, मैले सोधेँ)

“ऊ माछो भएर जन्मेकी थिई र माछो नै भइरहन चाही । उसका रहरहरुले महत्व राखेनन् । उसको अस्मितामा प्रश्नचिन्ह ठाडियो । चराहरुलाई हेरिरही उसले, तर पँखेटा फिँजाएर स्वतन्त्रतापूर्वक उड्न खोजिन । ऊ जन्मँदा उसकी आमाले प्रसस्त साउने झरी झारेकी थिइन् आँखाबाट । त्यही झरीलाई कैद गरेर कुनै भाँडामा जम्मा गरिन् उनले । त्यस भाँडोलाई ‘माछो—घर’ भनियो । पढेलेखेका विद्धानहरुले त्यसलाई एक्वेरियम÷अक्वेरियम भने । त्यही ‘माछो—घर’ को चारदिवार भित्र कैद भएर हुर्किएकी थिई मेरी स्वास्नी । नीलो कोभ्रिनाज माछा र गुलाफि स्यापियर माछा भन्दा बढी केही थिइन ऊ मेरो लागि । ऊ निश्चित परिधि भित्र थिई, लक्ष्मणरेखा भित्र थिई । एक्वेरियम बाहिर फर्फराए नारी स्वतन्त्रताका झण्डा । ऊ अनज्ञि भएर पौडिरही छट्पटाईरही एक्वेरियम भित्र । उसले खेतको आलि नाघ्न सकिन । उसलाई मान्छे हुनबाट रोक्ने ‘माछो—घर’      (एक्वेरियम) लाई चकनाचुर बनाएर फुटाउन सकिन ।“मेरी स्वास्नी इटालीको पिसा कम्पनाइल हो । ऊ बाउन्न फिट ब्यास भएको आठ तले गोलाकार धरहरा हो । जो झुक्नुमा नै गर्व गर्छ र लिनिङ्ग टावरको नामले प्रसिद्धि कमाएको छ । ऊ आफैंमा ‘माछो—घर’ भित्रको अन्धकार युग हो ।”

    (कलाकार र उसले वर्णन गरेकी मास्कोकी शिक्षिकाको मुर्ख लोग्ने एउटै सन्दुस भित्रको दुईवटा एल्बम झैं लाग्यो  मलाई । ............उस्तै तस्विर मात्र एल्बम फरक । कलाकार बोलेर थाकेको थिएन । ऊ बोल्दै थियो ।)

    “मेरी स्वास्नी ! उसले आफु जस्तै माछो जन्माई । माछो पाल्ने चम्किलो सिसाको भाँडोमा मैले ऊसँगै उसकी छोरीलाई राखेँ । म उसकी छोरीलाई पनि घृणा गर्छु । गाउँका सोझा माछाहरु खुला बजारमा बेचिन्छन्, बम्बेका कोठिहरुसम्म पु¥याईन्छन् । बाबु आमाले शहरमा माछाहरु सुन्दिरी प्रतियोगिताको लागि उत्पादन गर्छन् । आफ्नो बौद्धिकता ठम्याउन नसकेका निरही प्राणी माछो बाहेक केही होइनन् । ‘मेरी स्वास्नीकी छोरी’ पनि कुनैदिन ठूली हुन्छे । कुनै रहरलाग्दो ठिटाले आफ्नो कोठाको सौन्दर्यको लागि एक्वेरियम भित्र सझाउनेछ । जसरी मैले.............”

( त्यसपछि उसले के भन्यो मैले सुन्न चाहिँन । कलाकार एक पाङ्ग्रे गाडा बनेर एक्लै गुडिरहृयो र त विकासको गति मन्द भयो । हरेक आइमाईलाई माछो देख्ने कलाकारले मलाई पनि माछो देखिरहेको थियो । उसकी स्वास्नी र सानी छोरी सम्झेर टिठ लाग्यो । ऊ एकतमासले भट्याउँदै थियो । )

“मान्छे बन्न आफ्नै गोडाले उभिनुपर्छ । आफ्नै आँखाले हेर्नु पर्छ । आफैँले पहिल्याउनुपर्छ आफ्नो बाटो । मेरी स्वास्नी मास्कोका तरुनी युवतीहरुको चित्र हेरेर सन्तुष्ट थिई । उसले कहिल्यै अधबैंशे शिक्षिकाको चित्र रुचाइन । ऊ म माथि लहरो झैं बेरिन चाही अथवा परजिवी भएर बाँच्न चाही ।”

२. सक्रिय सत्र

    हामी रिमस, गिर्जाघरको अब्राहम र मेल्चिदेकको मुखामाुख गरेर वार्तालाप गरिरहेको गोथिक मुर्ति झैं देखिएका थियौं । मैले कलाकारलाई चुप लाग्ने इशारा गरेँ र ठूलो स्वरले चिच्याएँ, “तिमी मान्छे (आइमाई) लाई माछो बनाउने प्रकृतिविरोधि हौ । तिमी मास्कोकी शिक्षिकाको बहुलठ्ठी लोग्ने भन्दा कम छैनौ । तिमीले मात्र बनाएको चित्र, अधुरो हुन्छ कलाकार ! अधिकार मागेर पाईँदैन । मैले रङ्ग खोसेँ, कुचि खोसेँ । म आइमाई हुँ, ‘माछो’ होइन । मैले पनि पाउनुपर्छ ‘नयाँ युगको चित्र बनाउन ’ 
    मैले नदीको चित्र बनाएँ । चित्रमा ‘माछो—घर’ अर्थात एक्वेरियम विस्तारै फुट्न थाल्यो । माछाहरु एकाएक नदीमा हामफाले झै लाग्यो । किनारासम्म आइपुगेर उनीहरु मान्छे भएर देखा परे । कलाकारकी स्वास्नी मलाई साथ दिन आई । कलाकारकी छ सात वर्षे छोरी भुँईमा बसेर खेलौना हेलिकप्टरमा पँखेटा जोड्दै थिई । ऊ उभिई सेलिस्वरी मैदानमा ठिङ्ग उभिएको स्टोनहेज स्मारक जस्तै । असहमतीको अन्तिम सडक नाघेर हामी उज्यालो द्धार (ढोका) भित्र छिर्यौं । कलाकारले सानी छोरीलाई म्वाँई खायो र स्वास्नीलाई अँगालो हाल्यो । अब नदीका दुई धारहरु समानान्तर हुनेछन् । सामाजिक सँस्कारको परिधिले माछो बनाउने छैन कुनै आईमाईलाई । हामी समयको सेतो क्यानभासमा सम्भावनाका सुकिला रङ्गहरु छर्न बसेका छौं । आउनुहोस् हामीलाई साथ दिनुहोस् — हामी नयाँ युगको चित्र कोर्न बसेका छौं ।
 

Sep 26, 2013

लामखुट्टे र कार्यशाला

हामी बिमा बालकथा लेखनको लागि बलथली भिलेज रिसोर्ट, काभ्रेमा थियौँ । दिइएको समय जम्मा तीन दिन थियो । पहिलो दिन हामीले कथा लेखेनौ‌ । बल्ल दोस्रो दिन लेख्यौ‌ । सबैको कमेन्ट गर्नुभयो रमेश सर र बिनय सरले । आखिर कथा फाइनल भयो । मैले चाहीँ तेस्रो पक्षको बिमालाई फोकस गरेर लेख्‍न खोजेको थिएँ । दिदी इन्दिरा दलीको देश बाहिरका भ्रमणका अनुभवहरु सुनेर सारै रमाइलो लाग्यो । साथीहरु धेरै जना हुनुहुन्थ्यो । बहिनी पलपलको पलपल साथ । अनुराधा शर्माजीले सुनाउनु भएका कुरा । विजय दाइको अत्याउने बानी । हलमा र खाना खाने समयमा लामखुट्टेको टोकाइ । नेत्र,उत्तम,श्याम,केशरी जस्ता साथीहरु । अनन्त दाइ,गिता,ललिता र सुधा त्रिपाठी --दिदीहरु । हलमा अलिअलि लामखुट्टेको धुपको बास्ना । जिवन परिवर्तन गर्न सक्ने भिडीयो । रमाइलो गरी नै पढीयो र लेखियो पनि । नयाँ कुराहरु जानियो । त्यस बिषयवस्तुमा  राम्रो कथा बन्दैन होला भन्ने सोचेपनि आखिर कथा बन्यो नै ।

Sep 15, 2013

भाषण छाँट्नु छैन !



 Photo Source :http://st.depositphotos.com/
  
प्रकाशित नेपाल साप्ताहिक   


                                               — सबिना सिन्धु


अनावश्यक विरोध गर्नु छैन कसैको,
फरक मत विचार र मान्यतामा
अबरुद्ध गर्नु छैन कसैको वैचारिक स्वतन्त्रता ।

अन्धाधुन्द उर्लिएको अर्थहिन जुलुसमुनि
किचिनु छैन ।
बिर्सिएर आफ्नो स्वाभिमान कुनै पार्टिको
झण्डा समाउनु छैन ।

भट्याउनु छैन कुनै ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा
न त गाउनु नै छ कसैको स्तुतिगान ।
पतन भएकाहरुको लिस्टमा पर्नु छैन मलाई ।

सफल हुननसक्ने नाटकमा झैं
कुनै कमजोर कलाकारको अभिनय गर्नु छैन ।

हेर्नु छैन मलाई डेट सक्किएको पूरानो क्यालेण्डर
खुम्च्याउनु छैन भग्नावशेष बनेको त्यो समय
सत्य कमरेड,
मलाई निन्दाको पात्र बन्नु छैन ।

भाषण छाँट्नु छैन भाडाको माइकमा
न सम्झनुछ रङ्गहीन पुरानो तस्विर
खिल्ली उडाउनु छैन कसैको ।

थाहा छ जनताका कठिन संघर्षका समयहरु
इतिहासका कालखण्डहरु
अहँ बल्झाउन चाहान्न, दुखेको घाऊ ।

अनाहकमा न त विरोध गर्नुछ कसैको
न त समर्थन ।
अनावश्यक जान्ने बुझ्ने देखाएर
समय भन्दा धेरै अगाडि कुद्नु छैन,
कुनै जुझारु नेता झै भाषण छाँट्नु छैन ।
सत्य कमरेड मलाई निन्दाको पात्र बन्नु छैन । 


Sep 14, 2013

लोरिमालाई चिठ्ठी

   


                                                          — सबिना सिन्धु


प्रेमी शहरको उज्यालोमा

उभ्याएर आफुलाई

यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।

खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।


मेरी लोरिमा !

आगो बाँचेर पानी निल्ने

समयका ओठहरुसँगै

हृदयमा क्षितिज अटाएर

अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।

महल ठड्याएर गाँसिरहेकी छ्यौ

मध्यदिनका सपनाहरुलाई


टेबुलभरी पसारिएका अनियन्त्रित

आँखाहरु बीच

सागर छिचोलेर परेलीहरुबाट

बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।

हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा

नबुझिने इतिहास कोरिरहेकी छ्यौ

अँधेरी रातमा ।



सपनाहरु कमजोर हुन्छन् लोरिमा !

भावनाका फूलहरु, फूल होइनन्

सपनाका बघैंचाहरु , महल होइनन् ।

स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।

उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।


असरल्ल फिँजाएर तन्नेरी छालहरु

केबल गुन्गुनाइरहेकी छ्यौ

प्रेमका सुमधुर गीत


कतै नबज्रियोस् पहाड तिमी माथि

नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी

नभत्कियोस् तिम्रो सपनाको ताजमहल

र चोट नलागोस्,

लम्कन चाहाने गोडाहरुमा ।

Sep 13, 2013

कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर



Pic Source : httpwww.patrol-log.com.jpg


प्रकाशित: मधुपर्क मासिक
                                                                 — सबिना सिन्धु





श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,

विचारको कारोवार गर्छन् ।

आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु

दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।

विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !

सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर

आगोसँगै बाल्छु ।

तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।

सम्पादकबाट अस्विकृत उनका विचार,

टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।

घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।

पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।

कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।

आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा

ताकि उनले,

एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्

र महशुस गरुन् ।

घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,

अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।

अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,

थाहा छ, श्रीमान्,

म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।

Sep 12, 2013

माफ गर्नुहोस् महाशय


Pic Source : www.careerfaqs.com


प्रकाशित: नागरिक 'अक्षर'

                                                                                 — सबिना सिन्धु

माफ गर्नुहोस् महाशय,
कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।
दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।
कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?
कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
कसले गर्‍यो अक्षरमा केरमेट ?
भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !
कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?
अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको
औंठाको प्रष्ट पहिचान ।
माफ गर्नुहोस् महाशय,
किन लेखियो मनगणन्ते लेखाई ।
बुझ्नै सकिन, कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !