Jun 3, 2014
Jun 2, 2014
कपमा उभिएको अस्थिपञ्जर
Pic Source : http://www.glitters123.com/glitters/sad/
— सबिना सिन्धु साँच्चै किताब पढ्दै थियौ नि !
कति पृष्ठ पढ्यौ र जाँच्यौ आफ्नै हालत ?
शुन्य — शुन्यमा निर्वाह गयौ शब्दको प्रहार
र चपाउँदै चेतनाहिन एकाग्रता, चर्कियौ समयको छातीमा ।
बत्ति निभेको एक साँझ,
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला
र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै,
सिरानमा राख्यौ मैन भन्दा धेरै पर,
मेरो तस्विरमा पोखिएका रङ्गलाई ।
भिन्दा— भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।
तैपनि, फे¥र्यौ आत्मियताको श्वास तर जित्न सकेनौं मलाई
र गन्तब्य हराएर निस्सासियौ मेरो पच्छ्यौरीको किनारमा ।
अन्तत ः च्यातियौ धुजाधुजा भएर ।
वा भनौं,
घिस्रियौ नियतिका डोबहरुमा पहिरोका छिटाहरुसँगै,
........अनि गहभरी भिजायौ हगी,
एक ढिक्का सम्वेदनसिलतालाई उही रैथाने आँसुमा ।
ठिक
त्यसैबेला
मेरो नजिकै डुब्यौ तिमी,
मेरो.............. कफिको............ कपमा
एक ढिक्का संझना भएर ।
‘उभियो’ कफिको झोलमा,
.......... तिमी होइन तिम्रो अस्थिपञ्जर ।
सोचेँ यतिखेर तिमी किताब पढ्दै हौला ।
Dec 12, 2013
चिहान उठ्छ
Pic Source : glittergraphics, internet
क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर
मान्छे मान्छे भएर उठ्छ ।
न्यायको खातिर
मान्छे इतिहास भएर उठ्छ सत्यको खातिर !
पाखण्डी इजलास
फेरी विस्थापित हुन्छ
जे होस् चिहान उठ्छ ।
ढुङ्गा जस्तै साह्रो पारेर मुटु
समयको सम्पूर्ण अधिकार
बिद्रोहको तुफान भएर उठ्छ ।
सिङ्गै कथा जन्माउँछ
बज्रिन्छ असन्तुष्टिका भाग्य रेखा
अन्तमा
शरीरबाट रगतका छिटा
उच्छिट्टिएर आकार बन्छ देशको
आकार बन्छ मुस्कानको
चिहान क्रान्तिका लागि उठ्छ
चिहान शान्तिका लागि उठ्छ
जे होस् चिहान उठ्छ ।
Nov 1, 2013
माछो र आइमाई
Pic Source : http://actually-a-mermaid.tumblr.com/post/20596747983
Pic Source : http://www.layoutsparks.com/pictures/pisces-0
कथा
— सबिना सिन्धु
१. कथा सत्र (निष्क्रिय सत्र)
ऊसँग कुचि थियो रङ्गका बट्टाहरु थिए । चित्र बनाउने क्याभास थियो । उसको रहस्मय मुहारले असन्तुष्टिको सङ्केत गरिरहेका थिए । ऊ भन्दै थियो, “म मास्को शहरमा कलाकारिता विषय पढ्न गएको थिएँ । त्यहाँ एउटी असल शिक्षिका थिइन् । उनी राम्री थिइन् । त्यो भन्दा बढी उनी बौद्धिक थिइन् ।
उनी कलाकारितामा पनि पोख्त थिइन् । उनलाई कुनै सामान्य नामले बोलाइन्थ्यो । मैले उनको वास्तविक नाम के थियो भन्ने कुरा चाल पाइसकेको थिएँ । उनी नीलो रङ्गको लुगा लगाउँथिन् । त्यसैले मैले उनलाई नीलो दहकी परी, समुन्द«की राजकुमारी र जल देवी भन्न रुचाएँ उनका ती उपनामहरु केबल मेरो मन भित्र मात्र सिमित रहन पुगे । उनी मेरी शिक्षिका मात्र थिइनन् सहृदयी मित्र पनि थिइन् ।”
(मलाई लाग्यो ऊ आफ्नो जिन्दगीको रमाइलो प्रेम कहानी सुनाउन लागिरहेको छ । उसले क्यानभासमा एउटी तरुनी युवतीको स्केच बनायो )—
“उनी मेरी शिक्षिका हुनु भन्दा पच्चिस वर्ष अघि शायद यस्तै थिइन् । उनी जँड्याहा लोग्नेसँग बस्थिन् जो फुर्सदमा बहुलठ्ठी साथीहरु बटुलेर ‘जुवा—घर’ जान रुचाउँथ्यो । मलाई उनको सौन्दर्यसँग कुनै सरोकार थिएन तथापी उनको दूरदृष्टि र बौद्धिकताको तारिफ गर्थेँ । उनलाई भलाद्मी र राम्री (असल) भन्न रुचाउँथे । कुनै दिन म उनको घर जाँदा उनको जँड्याहा लोग्ने आँखा बन्द गरेर बसिरहेको थियो । ऊ निदाएको भने थिएन । ऊ सँधै यसैगरी आराम गर्ने गथ्र्यो । दाहिृजुङ्गा पालेको हुनाले उग्र स्वभावको स्वाँठ जस्तो देखिन्थ्यो । भित्तामा चित्रहरु टाँगिएका थिए । कोठामा एक्वेरियम सजाईएको थियो । जहाँ माछाहरु ‘बासी’ पानीमा पौडिरहेका थिए । मैले एक्वेरियम, पानी र माछाको चित्र बनाउँदा उनको लोग्ने निधार खुम्च्याएर मलाई हेरिरहेको थियो । यो कथाको मुख्य पात्र त्यही एक्वेरियम भित्रको माछो हो ।”
( श्रोता हुनुको सिङ्गो मानसिकता बोकेर म कलाकारका कुराहरु निर्धक्क सुनिरहेको थिएँ । उसले विषयवस्तु अन्तै मोड्यो र धाराप्रवाह रुपमा बोल्न थाल्यो ।)
“आफ्नै छिमेककी रैथाने आइमाईसँग मेरो बिहे भयो । मैले उसलाई कहिल्यै प्रेम गरिन वा गर्न चाहिँन । बिहे भएको पहिलो दिन मैले उसलाई राम्री देखेँ । केही समय पछि उसलाई सामान्य देख्न थालेँ र त्यसपछि ऊ मेरो अगाडि कुरुप देखिन थाली । ऊ आधा रातसम्म जागा बसेर मेरो बाटो कुर्थी । फुर्सदमा मास्कोमा हुर्किएका तरुनी युवतीहरुको चित्र हेर्थी । ऊ मान्छे थिइन माछो थिई । म नचाहेर पनि ऊ सँग नजिकिन बाध्य थिएँ । प्रकृतिको रातो गुलाफको अगाडि ऊ साह्रै फिक्का लाग्थी । म उसलाई घृणा गर्थेँ किनकी ऊ मेरी स्वास्नी थिई । उसका आँखाहरु गिद्धका आँखा जस्तै देखिन्थे । नाक सुगाको घोप्टिएको थुतुनो जस्तो लाग्थ्यो । उसको लामो—लामो कपाल, फोहर बढार्ने कुचोको तल्लो भाग जस्तै देखिन्थ्यो । मान्छेहरु उसको सौन्दर्यको तारिफ गर्थे । उसको लामा—लामा कपालको चर्चा गर्थे । क्षमता, प्रतिभा र बौद्धिकता नभएका आइमाई ‘माछो’ भन्दा बढी केही होइनन् । एकदिन घरमा आएको आँधिबेरीले सडेको माछाको दुर्गन्ध मेरो नाकसम्म ल्याएको थियो । कल्पनाको विशाल डुङ्गामा चढेर मैले आफुलाई मन्दिरको गजुर भन्दा ठूलो महशुस गरेको थिएँ ।”
(उसले अर्को चित्रको स्केच खिच्यो । एक्वेरियमको, माछाको र नीलो पानीको । यस भन्दा अघि बनाएको चित्र अधुरो नै थियो । मैले मास्कोकी शिक्षिकालाई सम्झेँ । उसले मेरो आशय बुझे झैँ गरी मलाई हेर्यो र फेरी बोल्न थाल्यो ।)
“स्त्रीको आत्मा हुँदैन । उनीहरु लगभग पशु जस्तै हुन्छन् । मास्कोकी शिक्षिका, उनी आइमाई थिइन् तर उनमा पुरुषको दृढता थियो । उनको जँड्याहा लोग्नेले घरमा आगो सल्काइरहन्थ्यो । ऊ स्वास्नीसँग झगडा गथ्र्यो । मौका परे पैसा चोथ्र्यो र आनन्दसँग सुनसान ठाउँमा गएर निदाउँथ्यो । डल्फिन माछा झैं उफ्रिएर उनले एक्वेरियमको परिधि नाघिन् र मान्छे भइन् ।”
(“अनि तिम्री स्वास्नी नी ?, मैले सोधेँ)
“ऊ माछो भएर जन्मेकी थिई र माछो नै भइरहन चाही । उसका रहरहरुले महत्व राखेनन् । उसको अस्मितामा प्रश्नचिन्ह ठाडियो । चराहरुलाई हेरिरही उसले, तर पँखेटा फिँजाएर स्वतन्त्रतापूर्वक उड्न खोजिन । ऊ जन्मँदा उसकी आमाले प्रसस्त साउने झरी झारेकी थिइन् आँखाबाट । त्यही झरीलाई कैद गरेर कुनै भाँडामा जम्मा गरिन् उनले । त्यस भाँडोलाई ‘माछो—घर’ भनियो । पढेलेखेका विद्धानहरुले त्यसलाई एक्वेरियम÷अक्वेरियम भने । त्यही ‘माछो—घर’ को चारदिवार भित्र कैद भएर हुर्किएकी थिई मेरी स्वास्नी । नीलो कोभ्रिनाज माछा र गुलाफि स्यापियर माछा भन्दा बढी केही थिइन ऊ मेरो लागि । ऊ निश्चित परिधि भित्र थिई, लक्ष्मणरेखा भित्र थिई । एक्वेरियम बाहिर फर्फराए नारी स्वतन्त्रताका झण्डा । ऊ अनज्ञि भएर पौडिरही छट्पटाईरही एक्वेरियम भित्र । उसले खेतको आलि नाघ्न सकिन । उसलाई मान्छे हुनबाट रोक्ने ‘माछो—घर’ (एक्वेरियम) लाई चकनाचुर बनाएर फुटाउन सकिन ।“मेरी स्वास्नी इटालीको पिसा कम्पनाइल हो । ऊ बाउन्न फिट ब्यास भएको आठ तले गोलाकार धरहरा हो । जो झुक्नुमा नै गर्व गर्छ र लिनिङ्ग टावरको नामले प्रसिद्धि कमाएको छ । ऊ आफैंमा ‘माछो—घर’ भित्रको अन्धकार युग हो ।”
(कलाकार र उसले वर्णन गरेकी मास्कोकी शिक्षिकाको मुर्ख लोग्ने एउटै सन्दुस भित्रको दुईवटा एल्बम झैं लाग्यो मलाई । ............उस्तै तस्विर मात्र एल्बम फरक । कलाकार बोलेर थाकेको थिएन । ऊ बोल्दै थियो ।)
“मेरी स्वास्नी ! उसले आफु जस्तै माछो जन्माई । माछो पाल्ने चम्किलो सिसाको भाँडोमा मैले ऊसँगै उसकी छोरीलाई राखेँ । म उसकी छोरीलाई पनि घृणा गर्छु । गाउँका सोझा माछाहरु खुला बजारमा बेचिन्छन्, बम्बेका कोठिहरुसम्म पु¥याईन्छन् । बाबु आमाले शहरमा माछाहरु सुन्दिरी प्रतियोगिताको लागि उत्पादन गर्छन् । आफ्नो बौद्धिकता ठम्याउन नसकेका निरही प्राणी माछो बाहेक केही होइनन् । ‘मेरी स्वास्नीकी छोरी’ पनि कुनैदिन ठूली हुन्छे । कुनै रहरलाग्दो ठिटाले आफ्नो कोठाको सौन्दर्यको लागि एक्वेरियम भित्र सझाउनेछ । जसरी मैले.............”
( त्यसपछि उसले के भन्यो मैले सुन्न चाहिँन । कलाकार एक पाङ्ग्रे गाडा बनेर एक्लै गुडिरहृयो र त विकासको गति मन्द भयो । हरेक आइमाईलाई माछो देख्ने कलाकारले मलाई पनि माछो देखिरहेको थियो । उसकी स्वास्नी र सानी छोरी सम्झेर टिठ लाग्यो । ऊ एकतमासले भट्याउँदै थियो । )
“मान्छे बन्न आफ्नै गोडाले उभिनुपर्छ । आफ्नै आँखाले हेर्नु पर्छ । आफैँले पहिल्याउनुपर्छ आफ्नो बाटो । मेरी स्वास्नी मास्कोका तरुनी युवतीहरुको चित्र हेरेर सन्तुष्ट थिई । उसले कहिल्यै अधबैंशे शिक्षिकाको चित्र रुचाइन । ऊ म माथि लहरो झैं बेरिन चाही अथवा परजिवी भएर बाँच्न चाही ।”
२. सक्रिय सत्र
हामी रिमस, गिर्जाघरको अब्राहम र मेल्चिदेकको मुखामाुख गरेर वार्तालाप गरिरहेको गोथिक मुर्ति झैं देखिएका थियौं । मैले कलाकारलाई चुप लाग्ने इशारा गरेँ र ठूलो स्वरले चिच्याएँ, “तिमी मान्छे (आइमाई) लाई माछो बनाउने प्रकृतिविरोधि हौ । तिमी मास्कोकी शिक्षिकाको बहुलठ्ठी लोग्ने भन्दा कम छैनौ । तिमीले मात्र बनाएको चित्र, अधुरो हुन्छ कलाकार ! अधिकार मागेर पाईँदैन । मैले रङ्ग खोसेँ, कुचि खोसेँ । म आइमाई हुँ, ‘माछो’ होइन । मैले पनि पाउनुपर्छ ‘नयाँ युगको चित्र बनाउन ’
मैले नदीको चित्र बनाएँ । चित्रमा ‘माछो—घर’ अर्थात एक्वेरियम विस्तारै फुट्न थाल्यो । माछाहरु एकाएक नदीमा हामफाले झै लाग्यो । किनारासम्म आइपुगेर उनीहरु मान्छे भएर देखा परे । कलाकारकी स्वास्नी मलाई साथ दिन आई । कलाकारकी छ सात वर्षे छोरी भुँईमा बसेर खेलौना हेलिकप्टरमा पँखेटा जोड्दै थिई । ऊ उभिई सेलिस्वरी मैदानमा ठिङ्ग उभिएको स्टोनहेज स्मारक जस्तै । असहमतीको अन्तिम सडक नाघेर हामी उज्यालो द्धार (ढोका) भित्र छिर्यौं । कलाकारले सानी छोरीलाई म्वाँई खायो र स्वास्नीलाई अँगालो हाल्यो । अब नदीका दुई धारहरु समानान्तर हुनेछन् । सामाजिक सँस्कारको परिधिले माछो बनाउने छैन कुनै आईमाईलाई । हामी समयको सेतो क्यानभासमा सम्भावनाका सुकिला रङ्गहरु छर्न बसेका छौं । आउनुहोस् हामीलाई साथ दिनुहोस् — हामी नयाँ युगको चित्र कोर्न बसेका छौं ।
Sep 26, 2013
लामखुट्टे र कार्यशाला
हामी बिमा बालकथा लेखनको लागि बलथली भिलेज रिसोर्ट, काभ्रेमा थियौँ । दिइएको समय जम्मा तीन दिन थियो । पहिलो दिन हामीले कथा लेखेनौ । बल्ल दोस्रो दिन लेख्यौ । सबैको कमेन्ट गर्नुभयो रमेश सर र बिनय सरले । आखिर कथा फाइनल भयो । मैले चाहीँ तेस्रो पक्षको बिमालाई फोकस गरेर लेख्न खोजेको थिएँ । दिदी इन्दिरा दलीको देश बाहिरका भ्रमणका अनुभवहरु सुनेर सारै रमाइलो लाग्यो । साथीहरु धेरै जना हुनुहुन्थ्यो । बहिनी पलपलको पलपल साथ । अनुराधा शर्माजीले सुनाउनु भएका कुरा । विजय दाइको अत्याउने बानी । हलमा र खाना खाने समयमा लामखुट्टेको टोकाइ । नेत्र,उत्तम,श्याम,केशरी जस्ता साथीहरु । अनन्त दाइ,गिता,ललिता र सुधा त्रिपाठी --दिदीहरु । हलमा अलिअलि लामखुट्टेको धुपको बास्ना । जिवन परिवर्तन गर्न सक्ने भिडीयो । रमाइलो गरी नै पढीयो र लेखियो पनि । नयाँ कुराहरु जानियो । त्यस बिषयवस्तुमा राम्रो कथा बन्दैन होला भन्ने सोचेपनि आखिर कथा बन्यो नै ।
Sep 15, 2013
भाषण छाँट्नु छैन !
Photo Source :http://st.depositphotos.com/
प्रकाशित नेपाल साप्ताहिक
— सबिना सिन्धु
अनावश्यक विरोध गर्नु छैन कसैको,
फरक मत विचार र मान्यतामा
अबरुद्ध गर्नु छैन कसैको वैचारिक स्वतन्त्रता ।
अन्धाधुन्द उर्लिएको अर्थहिन जुलुसमुनि
किचिनु छैन ।
बिर्सिएर आफ्नो स्वाभिमान कुनै पार्टिको
झण्डा समाउनु छैन ।
भट्याउनु छैन कुनै ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा
न त गाउनु नै छ कसैको स्तुतिगान ।
पतन भएकाहरुको लिस्टमा पर्नु छैन मलाई ।
सफल हुननसक्ने नाटकमा झैं
कुनै कमजोर कलाकारको अभिनय गर्नु छैन ।
हेर्नु छैन मलाई डेट सक्किएको पूरानो क्यालेण्डर
खुम्च्याउनु छैन भग्नावशेष बनेको त्यो समय
सत्य कमरेड,
मलाई निन्दाको पात्र बन्नु छैन ।
भाषण छाँट्नु छैन भाडाको माइकमा
न सम्झनुछ रङ्गहीन पुरानो तस्विर
खिल्ली उडाउनु छैन कसैको ।
थाहा छ जनताका कठिन संघर्षका समयहरु
इतिहासका कालखण्डहरु
अहँ बल्झाउन चाहान्न, दुखेको घाऊ ।
अनाहकमा न त विरोध गर्नुछ कसैको
न त समर्थन ।
अनावश्यक जान्ने बुझ्ने देखाएर
समय भन्दा धेरै अगाडि कुद्नु छैन,
कुनै जुझारु नेता झै भाषण छाँट्नु छैन ।
सत्य कमरेड मलाई निन्दाको पात्र बन्नु छैन ।
Sep 14, 2013
लोरिमालाई चिठ्ठी
— सबिना सिन्धु
प्रेमी शहरको उज्यालोमा
उभ्याएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।
मेरी लोरिमा !
आगो बाँचेर पानी निल्ने
समयका ओठहरुसँगै
हृदयमा क्षितिज अटाएर
अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।
महल ठड्याएर गाँसिरहेकी छ्यौ
मध्यदिनका सपनाहरुलाई
टेबुलभरी पसारिएका अनियन्त्रित
आँखाहरु बीच
सागर छिचोलेर परेलीहरुबाट
बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।
हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा
नबुझिने इतिहास कोरिरहेकी छ्यौ
अँधेरी रातमा ।
सपनाहरु कमजोर हुन्छन् लोरिमा !
भावनाका फूलहरु, फूल होइनन्
सपनाका बघैंचाहरु , महल होइनन् ।
स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।
उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।
असरल्ल फिँजाएर तन्नेरी छालहरु
केबल गुन्गुनाइरहेकी छ्यौ
प्रेमका सुमधुर गीत
कतै नबज्रियोस् पहाड तिमी माथि
नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी
नभत्कियोस् तिम्रो सपनाको ताजमहल
र चोट नलागोस्,
लम्कन चाहाने गोडाहरुमा ।
Sep 13, 2013
कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर

Pic Source : httpwww.patrol-log.com.jpg
प्रकाशित: मधुपर्क मासिक
— सबिना सिन्धु
श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,
विचारको कारोवार गर्छन् ।
आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु
दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।
विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !
सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर
आगोसँगै बाल्छु ।
तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।
सम्पादकबाट अस्विकृत उनका विचार,
टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।
घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।
पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।
कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।
आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा
ताकि उनले,
एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्
र महशुस गरुन् ।
घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,
अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।
अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,
थाहा छ, श्रीमान्,
म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।
Sep 12, 2013
माफ गर्नुहोस् महाशय
Pic Source : www.careerfaqs.com
प्रकाशित: नागरिक 'अक्षर'
— सबिना सिन्धु
माफ गर्नुहोस् महाशय,
कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।
दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।
कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?
कसले किर्ते गर्यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
कसले गर्यो अक्षरमा केरमेट ?
भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !
कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?
अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको
औंठाको प्रष्ट पहिचान ।
माफ गर्नुहोस् महाशय,
किन लेखियो मनगणन्ते लेखाई ।
बुझ्नै सकिन, कसले किर्ते गर्यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
Jan 27, 2013
कृति परिचय
— सबिना सिन्धु
″बाहिर दलिनमा झुण्डिएका सुनाखरीका पातहरुको छायाँ तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र, केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिँदै बगिरहेको देखिन्थ्यो ।"— तान्या इन्द्रकमल र अन्धकार कथा सङ्ग्रह भित्रका अंश हुन् यी । म पात्र अजित शाक्य रसियाली ब्याले नृत्य दलकी सदस्य तान्या किर्सानोभा अर्थात तानेच्कासँग परिचय गर्छन् । भौगोलिक सिमाको विविधता भएपनि मान्छेमा प्रेम, सद्भाव र मित्रताका साझा भावनाहरु हुन्छन् भन्ने निश्कर्ष कथाले निकाल्छ । ब्रम्हपुत्र, गङ्गा र काबेरीमा जस्तै पेजोरा र लेनामा पनि पानी नै बग्छ । देश भिन्दै भएपनि खेतबारीमा अन्न नै उब्जिन्छ । त्यहाँ ईश्वरत्वको चमत्कारले अरु केही विशेष फल्ने—फुल्ने होइन । त्यतिमात्र होइन, मान्छेका विवशता र दुःखका कथाहरु उस्तै हुन्छन् । कविता, कथा र नाटक तीनै विधामा कलम चलाउने अविनास श्रेष्ठको यो पहिलो कथाकृति हो । बि.सं २०३० सालमा 'कोलाहलमा डुबेको एउटा महानगर’ कथा प्रकाशित भएपछि उनको कथा लेखन यात्रा सुरु भएको हो । ‘तान्या, इन्द्रकमल र अन्धकार’, ‘अन्ततः निरुपमा’, ‘ललिता बाहिर रात परेको छ’ ,‘राक्षस’,‘जुनेली रातकी द्रोपदी’,‘समुन्द्र’, ‘छायाँको पछि’, ‘मृत्युः तिमी अनि केही उदास गीतहरुमा अल्झेर’,‘घर कहाँ छ आनो घर ?’, ‘मायाजाल’ र अस्तित्व गरी ११ कथाहरु सङ्ग्रहित छन् । यी कथाहरु, प्रचलित नेपाली कथाहरु भन्दा भिन्न स्वाद, स्वरुप र बान्किका लाग्छन् । कथाकार आसामी भाषाका साहित्यकार शैयद अब्दुल मलिक, वीरेन्द्र भट्टाचार्य, होमेन बरगोहाई, सौरभ चालिहा, आदिबाट प्रभावित देखिन्छन् । बि.सं २०३२ साल देखि २०४२ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित भईसकेका यी कथाहरुमा अभावग्रस्त जिन्दगी बाँचिरहेको एक्लो, अभिभावकविहीन युवकले देखेको जिवनको पृष्ठभुमी छ । छरिएका कथाहरु तीन दशकपछि मात्र संग्रहको रुपमा आउनु कथाकारको दुर्भाग्य हो । शब्द धाराप्रवाह बगेको हुँदा भाषामा सन्तुलन देख्न सकिन्छ । ‘अन्ततः निरुपमा......’ मा सत्ताईस वर्षे युवक ‘नीलाम्बर’ एकचालिस वर्र्षकी विवाहित महिला ‘निरुपमा’ को प्रेममा पर्छन् । सत्र—अठार वर्षकी निरुपमाकी छोरी ‘मीनाक्षी’ निलाम्बरसँग नजिकिन खोज्छिन् । कथाको अन्तमा, नीलाम्बर मीनाक्षीका लागि नभई आफ्नो लागि न्याय गर्छन् । ‘ललिता बाहिर रात परेको छ’ कथामा ललिताप्रति आशक्त पुरुष ‘यदु’ निसंकोच आङ्खनी पूर्व पत्नी महालक्ष्मी मास्केका बारेमा बताउ“छ । लोग्ने स्वास्नी नरह“दा पनि ती दुबै स“गै बस्छन् । एक अर्काका ‘बेष्ट फ्रेण्ड’ हुन्छन् । कति हलुङ्गो तरिकाले आङ्खनो विवाह र पारपाचुकेको कुरो उसले ललितालाई सुनाउँछ मानौं यी सबै सधै भईरहने सामान्य कुरा हुन् । ‘अस्तित्व’ कथा काठमाडौंको ऐतिहासिक साहित्यिक परिवेशलाई आधार बनाएर लेखिएको प्रयोगवादी कथा हो । साहित्यिक पाठकलाई लक्षित गरिएको यस प्रयोगवादी कथा सामान्य पाठकलाई बुझ्न मुस्किल पर्छ । रत्न पुस्तक भण्डार, बागबजारले प्रकाशनमा ल्याएको यस सङ्ग्रहको मुल्य रु १ सय पैंतालिस राखिएको छ ।
Jul 5, 2012
-पानीका कुरा-
म यतिखेर झ्याल बाहिर हेरिरहेको छु । बाहिर पानी बर्षिरहेको छ । सेतो सफा गाडिलाई हलुका रातो गाडिले पच्छ्याईरहेको छ । हेर्दाहेर्दै एउटा गाडिले अर्कोलाई उछिनेर अगाडि गयो । ठूला साना गाडिहरु आफ्नै रफ्तारमा हुईँकिरहेका छन् । पल्लो बिल्डिङ्गमा भएको बैंक भवनको लिफ्ट प्रष्ट देखिन्छ । कारण लिफ्ट तल—माथि गर्ने भागमा कालो सिसा लगाएको छ । कालो सिसाले गर्दा मान्छेको भने आकार मात्र देखिन्छ । म सोच्छु केहीबेर पछि यो झरी रोकिनेछ र घाम लाग्नेछ ।
Nov 14, 2011
'साक्षी'- समयको हस्ताक्षर

- सबिना सिन्धु
'हामी बाँच्नुको सङ्केत बोकेर समयसँगै बाँडिएका हुन्छौं - 'समयका हस्ताक्षरहरु' शिर्षक कवितामा रेमण्ड ए फस नामक कविले लेखेका छन् । प्रत्येक ब्यक्ती आफ्नो कालखण्डको साक्षी हुन्छ । यसैगरी आफ्नो समयका साक्षी बनेका छन् नारायण श्रेष्ठ । "कुनै बेला सडक र गल्लीमा हिँडिरहेको सामान्य मान्छेको आँखामा पनि जीवन या पीडाको विशाल चित्र देखिन्छ ।", उनी भन्छन् । परिस्थितीहरु आउँछन् र जान्छन् । त्यसका परिणामहरु विभिन्न किसिमका हुन सक्छन् । अर्थात राम्रा वा नराम्रा । भविष्यको विषयमा हामी सम्भावना अथवा अड्कल मात्र काट्न सक्छौं । प्रकृतिले सबैलाई अवसर दिएको हुन्छ । त्यो अवसर पूरा गर्न सक्ने सामथ्र्य वर्तमान समयसँग मात्र हुन्छ । 'साक्षी' यी कविको दोस्रो कविताकृति हो । यसअघि उनले 'पार्थिव तस्विर' नामक कृति प्रकाशनमा ल्याइसकेका छन् । 'अनुरोध' शिर्षक कवितामा कवि लेख्छन् 'विस्तारै छिरेर आउनू यो ढोकाबाट
सग्लो उचाइ भिरेर हिँड्न मुस्किल छ यहाँ पृष्ठ-१
उनी चैतको बतासमा सद्भाव बिरानिएको देख्छन् । जतिसुकै सुस्त गतिमा समय हिँडेपनि स्मरणयोग्य केही छैन । छन् भने शक्तिको रजाईँ छ । भाषण छ । आश्वासनको सपना छ । ढोका छ तर सग्लो मानिस त्यसबाट छिर्न मुस्किल छ । ढोका प्रतिक मात्र हो । उनी नयाँ समयको भाकामा आएको पसिनाको गन्ध सुहाउने प्रवेशद्धार रुचाउँछन् । त्यस्तो उचाई होस् जसले सद्भाव र सद्विचारका भावनाहरु उजागर गरोस् । जहाँ सन्त्रासको धड्कन नदोहोरियोस् । 'हिराको तीर' सङ्ग्रहको दोस्रो कविता हो ।
"शक्तिशाली मोडबाट स्थापित गरेर विरासत
उभिएको छ बारुदको संगठनमा
र एकोहोरो प्रहार गर्दैछ ज्वालाका विरुद्ध
कि आगोको रापले सेक्न खोज्दै आगोको घाउ - पृष्ठ-३
हिरा प्रकृतिले बनाएको मूल्यवान वस्तु हो । हिराको तीर जस्तै शक्तिशाली छन् जनताका आवाजहरु जसलाई उछिन्ने तागत कसैको हुँदैन । बिगतको इतिहास र कालखण्डले यही कुराको पुष्टि गरेको छ । कवि नस्ल जलेको इतिहास जोगाउन कसले सक्छ भन्ने प्रश्न गर्छन् ।
उनी भन्छन्," अब केले सक्छ समुल जलेको इतिहास जोगाउन
÷फूलको सुगन्धले
÷आधुनिक अत्तरले ÷
वा अर्को बहादुर खोजीले त्यस्तै अर्को कविता 'मेरो राष्ट्रगीत' मा कवि राष्ट्रप्रेमी बन्न खोजेका छन् । कवितामा शब्दहरुको मेल छ । गहन शब्दको प्रयोग भएपनि कवितामा एक किसिमको लयबद्धता छ । चौथो कविता 'साक्षी' बाट नै कविता सङ्ग्रहको नाम राखिएको हो । कवितामा कविले आफूलाई घामको प्रतिक मानेका छन् । घाम प्रत्येक बिहान उदाउँछ र साँझ ओइलाउँछ । मानव जिवन पनि त्यस्तै भएको छ । उनी जिवनको अवधिमा देखेका र भोगेका घटनाहरुको साक्षी भएका छन् । अनौठो छ जिजिविषा । १८५० मा जङ्गबहादुरले युरोप भ्रमण गर्दा हिँडेको बाटो उही छ । मात्र समय फेरीएको छ । समयले आदिमकालको प्लेटोनिक अन्धकार पार गर्दै भूमण्डलीकरणको उत्तरआधुनिक जालोसम्म आइपुगिसकेको छ । समयका यी टुंगोहरु नमेटिने रंगले अब लेखिनेछ । कवि देशको नागरिक भएको कारणले 'देशको साक्षी' बन्ने रहर गर्छन ।
यस कविता सङ्ग्रहमा 'झन्झावात,अन्तर्घात,यात्रा जो टुंगियो,घेराबन्दी, ढोका गरी छत्तिस कविताहरु सङ्ग्रहित छन् । कविताहरु चार भागमा विभाजित छन् । 'साक्षी' मा बाह्र कविताहरु 'लन्ली प्लानेट र अरु कविता' मा पाँच 'ढिलो अन्तरालमा' सात र 'प्रस्थान' मा बाह्र कविताहरु छन् । पाखा लगाउँदै आकारहरु कवितामा कवि लेख्छन्
'गुडबाईको हात हल्लाउँदै कोही जानेछ यो गाउँलाई छोडेर
बाटोभरि उडेको धुलोले आँखाभरि र
हिँड्न बाँकी बाटोको खुड्किलो ढाक्नेछ
अलि परबाट आफैंलाई हेरिरहेको खाली म
नाउसियामा उमि्रएको भुते आकारलाई
क्रमश ः नियालिरहनेछु । -पृष्ठ-४९
छोडेर जाने ठाउँमा उनको प्रतिनिधित्व गर्ने काम तस्विरले गर्दछ जसलॆ उनी हुनुको सम्पूर्ण ठाउँ ओगटिदिन्छ । पाखा लाग्दै जान्छन् सम्झनाका आकारहरु र बिगत बन्दछन् । गुडबाईको हात हल्लाउँदै यसैगरी कोही गाउँलाई छोडेर जानेछ । 'बेसीको जात्रा' कवितामा कवि बेसीमा लागेको बजारको मायालु तस्विर सम्झन्छन् र त्यसलाई पुरानो कथासँग जोड्छन् । सङ्ग्रहको 'प्रस्थानु चरणमा रहेको कविता हो 'एक्जिट २०-१०' । त्यस्तै 'पच्चिस बसन्तपछि' कवितामा कवि लेख्छन्
'आज पनि म त्यही किनारमै छु
त्यही सिस्नेरी खोलाको छेउ र आँपको सियालमा छु ।
सोधेको छैन मैले
मेरा साथीहरु कहाँ छन्
कहाँ पुगेर थकाई मार्दै छन् ।
उकालोमा हिँड्दै होलान् या भीरको बाटोमा
फाँटमा अलमलिए होलान् या खोलाको घाँचमा
पच्चीस वर्षपछि आज आफैंलाई सोधिरहेछु मू - पृष्ठ-९०
उमेर पार गर्नु लामो दूरी पार गर्नु झैँ भएको थियो उनलाई । सोचेका बाटोहरु हिँडेपछि आफू पूर्ण हुनेछु भन्ने विश्वास थियो । तर ती सब भ्रम मात्र भए । अहिले उनलाई सोचेका कुराहरु पूरा भएका छैनन् जस्तो लाग्छ । मात्तिएको सभ्यता आफ्नै चिहान खन्न उद्दत संस्कृति अथवा आँखाका नानीहरुले समात्न नसक्ने उज्यालो आफ्नो लागि होइन जस्तो लाग्छ । 'कपाल फुल्नुअघि' यस कविता सङ्ग्रहको अन्तिम कविता हो । यसमा कवि निकै सकारात्मक देखिएका छन् । उनी कपाल फुल्नुअघि आफ्नो पहिचान बनाउन चाहान्छन् । "समयको सडकमा उमेरको एकइन्च पनि नगुड्ने जाममा दौड जित्नु छ आकार बदल्नु छ ।", उनी भन्छन् ।
कृति : कविता सङ्ग्रह
कवि : नारायण श्रेष्ठ
प्रकाशक : फाइनपि्रन्ट आइएनसी
पहिलो संस्करण : माघ २०६७
मूल्य रु : १५०।
Nov 7, 2011
कागजको डुङ्गा

(प्रकाशित: नेपाल साप्ताहिक) — सबिना सिन्धु
बाटो खोज्दै अल्मल्लिईरहेछु कागजको डुङ्गा चढेर
परिवर्तनका वाहक पानीका
बूँदहरुसँग साटिरहेछु एउटा गुणस्तरहीन सपना ।
अन्तिम गन्तब्यको हिसाब गर्दै
नियालिरहेछु विश्व मानचित्रमा म पुग्ने देश ।
खै आएकै छैन सूर्योदय आफ्नै ब्रहम्को मान्द्रोभरी ।
न भेटाएको छु आफ्नो असली अनुहार ।
हुनसक्छ पानी भ्रम हो ।
लहर अर्धसत्य हो र डुङ्गा अर्धसत्य हो ।
मान्छेहरुको माझमा गुमाएर आफ्नो कुटिल अनुहार
उत्तरआधुनिक हावाको तपाक्रम नाप्दै…॥†††
पलायन हुने सपना देख्छु देशबाट निकै टाडा ।
छताछुल्ल पोखेर तरङ्गलाई
प्रहरै पिच्छे खियाईरहेछु कागजको डुङ्गा
नदी पोखरी र तालहरुमा ।
थाहा छैन
विश्वास छ वा छैनआफैं प्रति वा आफ्नो देश प्रित
तर छ असन्तोषको ज्वालामुखी र एउटा अट्टाहस म भित्र ।
शरिरका बाङ्गाटिङ्गा रेखाहरुले
खिचेको छ तन्नेरी मनको साम्राज्य ।
विच्छ्यौना जस्तै ओच्छिएका छन् समयका पदचाप
र त्यहाँ छरिएका छन् मेरा यिनै सपना ।
थाहा छैन किन फैलिन्छ पानीमा आफ्नै छायाँ
किन बग्छ त्यो लहरमा कागजको डुङ्गा
किन अल्झिन्छन् तन्नेरी त्यही छायाँको प्रेममा
Sep 29, 2010
भुवन ढुङ्गनाको धर्मबिम्ब

- सबिना सिन्धु
(प्रकाशित: मधुपर्क मासिक)
कथाकार भुवन ढुङ्गानको 'धर्मबिम्ब' कथाकृति प्रकाशनमा आएको छ । यस कृतिमा बीस कथाहरु सङ्ग्रहित छन् । प्रायश ः कथामा समय सुहाउँदा पात्रहरु बिम्बात्मक रुपमा देखा परेका छन् । पहिलो कथा 'परिचय' मा ब्यक्तिले आफूलाई चिनाउन खोज्दा-खोज्दै पनि सक्दैन । उसको नाम भन्दा महत्वपूर्ण भएर देशको नाउँ आउँछ । देशलाई चिनाउन सक्ने 'माउन्ट एभरेष्ट' अर्थात सगरमाथाको नाउँ आउँछ । आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेर परिचयहिन भईरहेका छौं हामी कथाकार भन्छिन् । अर्को कथा 'भूमि'मा कथाकी प्रमुख पात्र 'रानू भाउजू' ले आफुलाई भुमिको रुपमा देख्छिन् र लोग्नेलाई अकाशको रुपमा । उनी माटो भईन् अनि मलिलो भूमि बनेर अन्न उब्जाईन् । 'शुन्य','भोक' र 'घरपालुवा' भावपरक कथा हुन् । जसमा पाठकले विषयवस्तुको मेलो कथाको अन्त्यमा मात्र पाउँछ । त्यस्तै अर्को कथा 'एउटा कुखुराको मृत्यु' मा वर्डफ्लु आतङ्कबाट त्रसित वीरमानको मनोविश्लेषण छ । 'प्रत्यक्षदर्शी', 'तालु' र 'बकसपत्र', बौद्धिक पाठकलाई लक्षित गरी लेखिएका कथाहरु हुन् ।
'धर्मबिम्ब' यस कृतिको शिर्ष-कथा हो । यसमा आमाले पूजा गर्दा बजाउने घण्टलाई नारी र पुरुषको जिवनको सार र जिन्दगीको अन्तिम निष्कर्षको रुपमा उतारेकी छिन् । यो कथा बौद्धिक मात्र होइन यौनिक चेतनाबाट पनि प्रभावित छ । भुवन ढुङ्गानाका कथाहरु छोटा र सरल भाषामा लेखिएका छन् । प्रस्तुतीकरणमा शब्द शिल्पको कुशल प्रयोग छ । कथाका पात्रहरु सामाजिक पात्रहरु नै हुन् तर बिम्बको प्रयोगले गर्दा उनका कथाहरु परम्परागत कथाहरु भन्दा पृथक देखिएका छन् । चरित्र चित्रण युगचेतना पीडाबोध सामाजिक उतारचढावहरु र अस्तित्वको खाजी कथामा भेटिने विषयवस्तु हुन् । प्रत्येक कथाको आफ्नै विशेषता छ ।
टेकवीर मुखियाको आवरणकलामा सजिएको धर्मबिम्ब कृति २०६४ सालमा साझा प्रकाशन पुल्चोकले प्रकाशनमा ल्याएको हो । यस कृतिको मुल्य रु सत्तरी राखिएको छ ।
कृति ः धर्मबिम्ब
कथाकार ः भुवन ढुङ्गाना ।
प्रकाशक ः साझा प्रकाशन ।
संस्करण ः पहिलो २०६४
मूल्य रु ः ७०।-
Sep 2, 2009
Sep 1, 2009
किताब पढ्ने रुची
नन्दन, चंपक जस्ता बालकथाका किताबहरु पढ्न खुब मन लाग्थ्यो । सानैमा परीकथाका किताबहरु पढ्थेँ । कमिक्सको त किरो नै भन्दा हुन्छ । काकाको खेलौना घर भन्ने किताबको सम्झना छ मलाई । प्रेमा शाहाका किताबहरु अनि खै कस कसका हुन् अरु । काली परी, सेती परीको कथा, हाँस्दा फूल फूल्ने र रुँदा मोती खस्ने बालिकाका कथा ।
Aug 31, 2009
बाँसुरीको धुन मीठो
मलाई बाँसुरी बजाउन आउँदैन । मुरली बजाउन पनि आउँदैन । पाँच छ वर्ष जति भयो होला ठमेल चोकमा साथीहरुसँग घुम्दै थिएँ । साथीहरु चार जना थिए । काठको बाँसुरी बेच्ने एउटा मानिस आईपुग्यो । त्यसले बाँसुरी बजाउँदै थियो। । त्यसको धुन मीठो लाग्यो । "मलाई पनि बाँसुरी किन्न मन लाग्यो", मैले साथीहरुसँग भनेँ । गोजीबाट पैसा निकाल्दै थिएँ । तर साथीले पैसा तिरिदिए । र त्यो बाँसुरी बजाउन थाले । उनी बाँसुरीबाट विभिन्न धुन निकाल्न जान्दा रहेछन् । हेर्दा हेर्दै त्यस मानिसले दुई तीन वटा बाँसुरी बेच्यो ।
नजाने पनि घरमा आएर बाँसुरी बजाउने प्रयास गरेँ। त्यसबाट निस्किएको धून मीठै थियो ।
नमीठो गीत

-Sabina Sindhu
At once rain stopped
Song of plants stopped
Songs have departed silently from the place
Due to winter's unbearable cold
Only memories remained
Dusk haven't brought delight
As sounds are not in balance
Sounds, purer than departed childhood
Strings of guitar extend
Unfortunately they break
Remembrance breaks
As sounds aren't in balance,
Dusk does not bring joy
A distressed singer,
smiles is whose religion
Singer who lost sensation and consciousness
Whose mouth is dry now
Restless as a child of deer
whose feet are tired and have pain in heart
He again sings a song of
kindness and compassion, hopes and desires
Songs are assessed
where his voices aren't heard
where his experiences are not found.
हजुरआमा र बाह्रखरी (बालकथा)

- सबिना सिन्धु
हजुरआमाले आकृतीलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरु सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरु ब्यबस्थित रुपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ हजुरआमालाई नै सोध्न आउँथी । हजुरआमालाई अक्षर पढ्न आउँदैनथ्यो तर लय हालेर रामायणका श्लोक भन्नु हुन्थ्यो । राम्रा कथाहरु सुनाउनु हुन्थ्यो । आफु सानो छँदाका संस्मरणहरु सुनाउनु हुन्थ्यो । हजुरआमा भनेपछि आकृती हुरुक्क हुन्थी । आकृतीको सानो भाई थियो । उसले भर्खरै अक्षर चिन्न थालेको थियो । ऊ संग बाह्रखरीको किताब थियो । भाई सुतेपछि सुटुक्क आकृतीले त्यो किताब झिकेर लैजान्थी । बिहान पनि भाई उठ्नु भन्दा अगाडिनै उठीसक्थी र थपक्क त्यो किताबलाई झोलाभित्र राखिदिन्थी । आकृती किन सबैभन्दा अगाडि उठ्छे र राती अबेरसम्म बस्छे भन्ने कुरा कसैलाई पनि थाहा थिएन । स्कुल बिदा भएको दिन आकृती भाईलाई पढाउँथी पनि । अक्षर लेख्न सिकाउँथी र त्यसलाई कसरी उच्चारण गर्नु पर्छ भन्ने कुरा पनि सिकाउने गर्थी । यसरी सिकाउन पाउँदा उसलाई रमाईलो लाग्थ्यो ।
एकदिन स्कुलमा मिस्ले पढाउँदै गर्दा गाउँमा प्रौढ शिक्षा खुलेको कुरा भन्नु भयो । आकृतीलाई प्रौढ शिक्षा भनेको के हो भन्ने थाहा थिएन । बेलुकी उसले आमालाई सोधी "आमा प्रौढ शिक्षा भनेको के हो कस्ता मान्छे पढ्छन् त्यहाँ", आमाले छोट्करीमा भन्नु भयो "पढ्ने उमेर बिताईसकेर पनि पढ्न नपाएका तर पढ्न चाहाने ब्यक्तिको लागि खुलेको कक्षा हो ।" आमालाई आफुले दिएको जवाफ चित्त बुझ्दो लागेन । "त्यहाँ त्यस्ता मान्छे मात्रै पढ्छन् आमा". उसले फेरी प्रश्न गरी । "अरु पनि पढ्न सक्छन् तर तिनलाई लक्षित गरिएको हो ।", आमाले अझ स्पष्ट पार्नुभयो । आकृती के सोच्दै थिई थाहा छैन । गाउँमा प्रौढ शिक्षा पढाइने कुरा सुनेर उसलाई धेरै खुशी लाग्यो ।
बेलुकी खाना खाने समय भएको थियो । आकृतीले पालै-पालो बुबाआमाको अनुहारमा हेरेर भनी "हजुरआमालाई पनि प्रौढ शिक्षाको कक्षामा पठाउन पाए हुन्थ्यो", हजुरआमाले आकृतीको कुरा सुनेर अचम्म मान्नु भयो । आकृतीको मुखमा हेर्दै भाईले भन्यो "हजुरआमालाई कक्षामा पढ्न पठाउने हो दिदी ? उहाँ हाम्रो जस्तै ड्रेस लगाएर स्कुल जाने हो ? हजुरआमा पनि टाई- बेल्ट लगाएर पढ्न जानुहुन्छ ? उसको कुरा सुनेपछि आमाले भाइलाई भन्नु भयो "खाना खाईसकेपछि तिमीलाई प्रौढ शिक्षाको बारेमा बुझाउँछु ।" भाइले टाउको हल्लाएर सहमती जनायो । ऊ जुठो हात लिएर कोठा तिर दौडियो र एउटा कापी लिएर आयो । उसले भन्यो "हेर्नुस् न आमा ! हजुरआमाले मेरो जस्तै अक्षर लेख्नुभएको छ ।"
हजुरआमालाई अक्षर लेख्न आउँदैनथ्यो । उहाँ पढ्न पनि जान्नुहुन्नथ्यो । अब भने हजुरआमाले भन्नुभयो "फुस्रद भएको समयमा आकृतिले मलाई अक्षर लेख्न सिकाउने गरेकी छे ।" आकृतिले भनी "भाइलाई सिकाउँदा सिकाउँदै म अरुलाई सिकाउन सक्ने भईसकेकी छु । भाइ उठ्नु भन्दा अघि र ऊ सुतिसकेपछि उसको बाह्रखरीको किताब झिकेर हजुरआमालाई पढाउने गरेकी छु ।" बुबा उसको कुरा सुनेर एकदम खुशी हुन भयो । हजुरआमालाई पनि प्रौढ शिक्षाको कक्षामा पठाउने सबैको सहमती भयो । भाइले मख्ख पर्दै बाह्रखरीको किताब समात्यो र हात उचाल्दै भन्यो 'हाम्री दिदी जिन्दावाद !' ।
Subscribe to:
Posts (Atom)










