Sep 14, 2013

लोरिमालाई चिठ्ठी

   


                                                          — सबिना सिन्धु


प्रेमी शहरको उज्यालोमा

उभ्याएर आफुलाई

यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।

खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।


मेरी लोरिमा !

आगो बाँचेर पानी निल्ने

समयका ओठहरुसँगै

हृदयमा क्षितिज अटाएर

अघ्रिरहेकी छ्यौ स्वर्णीम धड्कनहरुमा ।

महल ठड्याएर गाँसिरहेकी छ्यौ

मध्यदिनका सपनाहरुलाई


टेबुलभरी पसारिएका अनियन्त्रित

आँखाहरु बीच

सागर छिचोलेर परेलीहरुबाट

बालुवाका शहरहरु ओसारिरहेकी छयौ ।

हराइरहेकी छ्यौ वर्षातका भेलहरुमा

नबुझिने इतिहास कोरिरहेकी छ्यौ

अँधेरी रातमा ।



सपनाहरु कमजोर हुन्छन् लोरिमा !

भावनाका फूलहरु, फूल होइनन्

सपनाका बघैंचाहरु , महल होइनन् ।

स्वच्छन्द उभिनु स्वतन्त्रता होइन ।

उभ्याइएका स्तम्भहरु , ताजमहल होइनन् ।


असरल्ल फिँजाएर तन्नेरी छालहरु

केबल गुन्गुनाइरहेकी छ्यौ

प्रेमका सुमधुर गीत


कतै नबज्रियोस् पहाड तिमी माथि

नभाँच्चियोस् तिमीले चढ्न चाहेको सिँढी

नभत्कियोस् तिम्रो सपनाको ताजमहल

र चोट नलागोस्,

लम्कन चाहाने गोडाहरुमा ।

Sep 13, 2013

कुनै कालखण्डमा, न्यायालय अगाडि उभिएर



Pic Source : httpwww.patrol-log.com.jpg


प्रकाशित: मधुपर्क मासिक
                                                                 — सबिना सिन्धु





श्रीमान् ! मेरो लोग्ने पेशेवार सर्जक
अनधिकृत शब्दहरुमाझ दिनदहाडै हत्याकाण्ड मच्चाएर उभिन्छन्,

विचारको कारोवार गर्छन् ।

आस्थाको पूनर्योग गर्छु र ठम्याउँछु

दुई सुकाको माया धेरै अघि उनले मसँग साटेको ।

विचार साट्ने उनको कलमलाई घृणा गर्छु श्रीमान !

सर्जककी स्वास्नीहुनुको पीडा दाउराहरुमा मिसाएर

आगोसँगै बाल्छु ।

तर पनि श्रद्धा चढाएर माग्छु उनको सफलताको वरदान ।

सम्पादकबाट अस्विकृत उनका विचार,

टेबुलमाथि राखी थिचिदिन्छु ‘पेपरवेट’ ले ।

घरभित्रै हुर्किन्छन् धेरै कथा र अपहेलित हुन्छन् ।

पढेकी छु दुई—चार अक्षर अहँ आधुनिक युवती बन्न सक्दिन ।

कहिले काहीँ मेरो माया चोर्ने उनको पुस्तक देखि ईश्र्या लाग्छ ।

आफैं टाँस्सिउँ जस्तो लाग्छ उनको अक्षरमा र उनका किताबहरुमा

ताकि उनले,

एकपटक हेरुन् मेरो जिन्दगी अनि वाक्यसँगै पढुन्

र महशुस गरुन् ।

घरी—घरी सम्पादकबाट अस्विकृत विचार देखेर,

अहँ म सहन सक्दिन उनको न्याउरो अनुहार ।

अँगेनाको डिल नजिकै बसेर फरियाको सप्कोले पुच्छु आफ्नो आँशु,

थाहा छ, श्रीमान्,

म उनको शब्दलाई होईन उनलाई प्रेम गर्छु ।

Sep 12, 2013

माफ गर्नुहोस् महाशय


Pic Source : www.careerfaqs.com


प्रकाशित: नागरिक 'अक्षर'

                                                                                 — सबिना सिन्धु

माफ गर्नुहोस् महाशय,
कुनै ‘कथित सत्य’ (हरु) धु्रवसत्य होइनन् ।
दाखिला हुन आएका सामाग्री, ती नमूना होइनन् ।
कसले बनायो मिथ्या प्रमाण, लगायो अड्डाको छाप ?
कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !
कसले गर्‍यो अक्षरमा केरमेट ?
भ्रमपूर्ण रुपले जनायो ब्यक्तीको पहिचान !
कसले राख्यो पक्ष र विपक्ष बीचमा साक्षी ?
अहँ म देख्दिन शंख वा चक्र अङ्कित भएको
औंठाको प्रष्ट पहिचान ।
माफ गर्नुहोस् महाशय,
किन लेखियो मनगणन्ते लेखाई ।
बुझ्नै सकिन, कसले किर्ते गर्‍यो हाकिमको सही ?
कसको रोहवरमा बोल्यो सबुद !

Jan 27, 2013


प्रकाशितः मिर्मिरे मासिक

कृति परिचय

— सबिना सिन्धु

तान्या, इन्द्रकमल र अन्धकार

″बाहिर दलिनमा झुण्डिएका सुनाखरीका पातहरुको छायाँ तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र, केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिँदै बगिरहेको देखिन्थ्यो ।"— तान्या इन्द्रकमल र अन्धकार कथा सङ्ग्रह भित्रका अंश हुन् यी । म पात्र अजित शाक्य रसियाली ब्याले नृत्य दलकी सदस्य तान्या किर्सानोभा अर्थात तानेच्कासँग परिचय गर्छन् । भौगोलिक सिमाको विविधता भएपनि मान्छेमा प्रेम, सद्भाव र मित्रताका साझा भावनाहरु हुन्छन् भन्ने निश्कर्ष कथाले निकाल्छ । ब्रम्हपुत्र, गङ्गा र काबेरीमा जस्तै पेजोरा र लेनामा पनि पानी नै बग्छ । देश भिन्दै भएपनि खेतबारीमा अन्न नै उब्जिन्छ । त्यहाँ ईश्वरत्वको चमत्कारले अरु केही विशेष फल्ने—फुल्ने होइन । त्यतिमात्र होइन, मान्छेका विवशता र दुःखका कथाहरु उस्तै हुन्छन् । कविता, कथा र नाटक तीनै विधामा कलम चलाउने अविनास श्रेष्ठको यो पहिलो कथाकृति हो । बि.सं २०३० सालमा 'कोलाहलमा डुबेको एउटा महानगर’ कथा प्रकाशित भएपछि उनको कथा लेखन यात्रा सुरु भएको हो । ‘तान्या, इन्द्रकमल र अन्धकार’, ‘अन्ततः निरुपमा’, ‘ललिता बाहिर रात परेको छ’ ,‘राक्षस’,‘जुनेली रातकी द्रोपदी’,‘समुन्द्र’, ‘छायाँको पछि’, ‘मृत्युः तिमी अनि केही उदास गीतहरुमा अल्झेर’,‘घर कहाँ छ आनो घर ?’, ‘मायाजाल’ र अस्तित्व गरी ११ कथाहरु सङ्ग्रहित छन् । यी कथाहरु, प्रचलित नेपाली कथाहरु भन्दा भिन्न स्वाद, स्वरुप र बान्किका लाग्छन् । कथाकार आसामी भाषाका साहित्यकार शैयद अब्दुल मलिक, वीरेन्द्र भट्टाचार्य, होमेन बरगोहाई, सौरभ चालिहा, आदिबाट प्रभावित देखिन्छन् । बि.सं २०३२ साल देखि २०४२ सालसम्म विभिन्न पत्रपत्रिकामा प्रकाशित भईसकेका यी कथाहरुमा अभावग्रस्त जिन्दगी बाँचिरहेको एक्लो, अभिभावकविहीन युवकले देखेको जिवनको पृष्ठभुमी छ । छरिएका कथाहरु तीन दशकपछि मात्र संग्रहको रुपमा आउनु कथाकारको दुर्भाग्य हो । शब्द धाराप्रवाह बगेको हुँदा भाषामा सन्तुलन देख्न सकिन्छ । ‘अन्ततः निरुपमा......’ मा सत्ताईस वर्षे युवक ‘नीलाम्बर’ एकचालिस वर्र्षकी विवाहित महिला ‘निरुपमा’ को प्रेममा पर्छन् । सत्र—अठार वर्षकी निरुपमाकी छोरी ‘मीनाक्षी’ निलाम्बरसँग नजिकिन खोज्छिन् । कथाको अन्तमा, नीलाम्बर मीनाक्षीका लागि नभई आफ्नो लागि न्याय गर्छन् । ‘ललिता बाहिर रात परेको छ’ कथामा ललिताप्रति आशक्त पुरुष ‘यदु’ निसंकोच आङ्खनी पूर्व पत्नी महालक्ष्मी मास्केका बारेमा बताउ“छ । लोग्ने स्वास्नी नरह“दा पनि ती दुबै स“गै बस्छन् । एक अर्काका ‘बेष्ट फ्रेण्ड’ हुन्छन् । कति हलुङ्गो तरिकाले आङ्खनो विवाह र पारपाचुकेको कुरो उसले ललितालाई सुनाउँछ मानौं यी सबै सधै भईरहने सामान्य कुरा हुन् । ‘अस्तित्व’ कथा काठमाडौंको ऐतिहासिक साहित्यिक परिवेशलाई आधार बनाएर लेखिएको प्रयोगवादी कथा हो । साहित्यिक पाठकलाई लक्षित गरिएको यस प्रयोगवादी कथा सामान्य पाठकलाई बुझ्न मुस्किल पर्छ । रत्न पुस्तक भण्डार, बागबजारले प्रकाशनमा ल्याएको यस सङ्ग्रहको मुल्य रु १ सय पैंतालिस राखिएको छ ।

Jul 5, 2012




-पानीका कुरा-

म यतिखेर झ्याल बाहिर हेरिरहेको छु । बाहिर पानी बर्षिरहेको छ । सेतो सफा गाडिलाई हलुका रातो गाडिले पच्छ्याईरहेको छ । हेर्दाहेर्दै एउटा गाडिले अर्कोलाई उछिनेर अगाडि गयो । ठूला साना गाडिहरु आफ्नै रफ्तारमा हुईँकिरहेका छन् । पल्लो बिल्डिङ्गमा भएको बैंक भवनको लिफ्ट प्रष्ट देखिन्छ । कारण लिफ्ट तल—माथि गर्ने भागमा कालो सिसा लगाएको छ । कालो सिसाले गर्दा मान्छेको भने आकार मात्र देखिन्छ । म सोच्छु केहीबेर पछि यो झरी रोकिनेछ र घाम लाग्नेछ ।

Nov 14, 2011

'साक्षी'- समयको हस्ताक्षर


- सबिना सिन्धु

'हामी बाँच्नुको सङ्केत बोकेर समयसँगै बाँडिएका हुन्छौं - 'समयका हस्ताक्षरहरु' शिर्षक कवितामा रेमण्ड ए फस नामक कविले लेखेका छन् । प्रत्येक ब्यक्ती आफ्नो कालखण्डको साक्षी हुन्छ । यसैगरी आफ्नो समयका साक्षी बनेका छन् नारायण श्रेष्ठ । "कुनै बेला सडक र गल्लीमा हिँडिरहेको सामान्य मान्छेको आँखामा पनि जीवन या पीडाको विशाल चित्र देखिन्छ ।", उनी भन्छन् । परिस्थितीहरु आउँछन् र जान्छन् । त्यसका परिणामहरु विभिन्न किसिमका हुन सक्छन् । अर्थात राम्रा वा नराम्रा । भविष्यको विषयमा हामी सम्भावना अथवा अड्कल मात्र काट्न सक्छौं । प्रकृतिले सबैलाई अवसर दिएको हुन्छ । त्यो अवसर पूरा गर्न सक्ने सामथ्र्य वर्तमान समयसँग मात्र हुन्छ । 'साक्षी' यी कविको दोस्रो कविताकृति हो । यसअघि उनले 'पार्थिव तस्विर' नामक कृति प्रकाशनमा ल्याइसकेका छन् । 'अनुरोध' शिर्षक कवितामा कवि लेख्छन् 'विस्तारै छिरेर आउनू यो ढोकाबाट

सग्लो उचाइ भिरेर हिँड्न मुस्किल छ यहाँ पृष्ठ-१

उनी चैतको बतासमा सद्भाव बिरानिएको देख्छन् । जतिसुकै सुस्त गतिमा समय हिँडेपनि स्मरणयोग्य केही छैन । छन् भने शक्तिको रजाईँ छ । भाषण छ । आश्वासनको सपना छ । ढोका छ तर सग्लो मानिस त्यसबाट छिर्न मुस्किल छ । ढोका प्रतिक मात्र हो । उनी नयाँ समयको भाकामा आएको पसिनाको गन्ध सुहाउने प्रवेशद्धार रुचाउँछन् । त्यस्तो उचाई होस् जसले सद्भाव र सद्विचारका भावनाहरु उजागर गरोस् । जहाँ सन्त्रासको धड्कन नदोहोरियोस् । 'हिराको तीर' सङ्ग्रहको दोस्रो कविता हो ।



"शक्तिशाली मोडबाट स्थापित गरेर विरासत

उभिएको छ बारुदको संगठनमा

र एकोहोरो प्रहार गर्दैछ ज्वालाका विरुद्ध

कि आगोको रापले सेक्न खोज्दै आगोको घाउ - पृष्ठ-३



हिरा प्रकृतिले बनाएको मूल्यवान वस्तु हो । हिराको तीर जस्तै शक्तिशाली छन् जनताका आवाजहरु जसलाई उछिन्ने तागत कसैको हुँदैन । बिगतको इतिहास र कालखण्डले यही कुराको पुष्टि गरेको छ । कवि नस्ल जलेको इतिहास जोगाउन कसले सक्छ भन्ने प्रश्न गर्छन् ।



उनी भन्छन्," अब केले सक्छ समुल जलेको इतिहास जोगाउन
÷फूलको सुगन्धले
÷आधुनिक अत्तरले ÷
वा अर्को बहादुर खोजीले त्यस्तै अर्को कविता 'मेरो राष्ट्रगीत' मा कवि राष्ट्रप्रेमी बन्न खोजेका छन् । कवितामा शब्दहरुको मेल छ । गहन शब्दको प्रयोग भएपनि कवितामा एक किसिमको लयबद्धता छ । चौथो कविता 'साक्षी' बाट नै कविता सङ्ग्रहको नाम राखिएको हो । कवितामा कविले आफूलाई घामको प्रतिक मानेका छन् । घाम प्रत्येक बिहान उदाउँछ र साँझ ओइलाउँछ । मानव जिवन पनि त्यस्तै भएको छ । उनी जिवनको अवधिमा देखेका र भोगेका घटनाहरुको साक्षी भएका छन् । अनौठो छ जिजिविषा । १८५० मा जङ्गबहादुरले युरोप भ्रमण गर्दा हिँडेको बाटो उही छ । मात्र समय फेरीएको छ । समयले आदिमकालको प्लेटोनिक अन्धकार पार गर्दै भूमण्डलीकरणको उत्तरआधुनिक जालोसम्म आइपुगिसकेको छ । समयका यी टुंगोहरु नमेटिने रंगले अब लेखिनेछ । कवि देशको नागरिक भएको कारणले 'देशको साक्षी' बन्ने रहर गर्छन ।



यस कविता सङ्ग्रहमा 'झन्झावात,अन्तर्घात,यात्रा जो टुंगियो,घेराबन्दी, ढोका गरी छत्तिस कविताहरु सङ्ग्रहित छन् । कविताहरु चार भागमा विभाजित छन् । 'साक्षी' मा बाह्र कविताहरु 'लन्ली प्लानेट र अरु कविता' मा पाँच 'ढिलो अन्तरालमा' सात र 'प्रस्थान' मा बाह्र कविताहरु छन् । पाखा लगाउँदै आकारहरु कवितामा कवि लेख्छन्



'गुडबाईको हात हल्लाउँदै कोही जानेछ यो गाउँलाई छोडेर

बाटोभरि उडेको धुलोले आँखाभरि र

हिँड्न बाँकी बाटोको खुड्किलो ढाक्नेछ

अलि परबाट आफैंलाई हेरिरहेको खाली म

नाउसियामा उमि्रएको भुते आकारलाई

क्रमश ः नियालिरहनेछु । -पृष्ठ-४९



छोडेर जाने ठाउँमा उनको प्रतिनिधित्व गर्ने काम तस्विरले गर्दछ जसलॆ उनी हुनुको सम्पूर्ण ठाउँ ओगटिदिन्छ । पाखा लाग्दै जान्छन् सम्झनाका आकारहरु र बिगत बन्दछन् । गुडबाईको हात हल्लाउँदै यसैगरी कोही गाउँलाई छोडेर जानेछ । 'बेसीको जात्रा' कवितामा कवि बेसीमा लागेको बजारको मायालु तस्विर सम्झन्छन् र त्यसलाई पुरानो कथासँग जोड्छन् । सङ्ग्रहको 'प्रस्थानु चरणमा रहेको कविता हो 'एक्जिट २०-१०' । त्यस्तै 'पच्चिस बसन्तपछि' कवितामा कवि लेख्छन्



'आज पनि म त्यही किनारमै छु

त्यही सिस्नेरी खोलाको छेउ र आँपको सियालमा छु ।

सोधेको छैन मैले

मेरा साथीहरु कहाँ छन्

कहाँ पुगेर थकाई मार्दै छन् ।

उकालोमा हिँड्दै होलान् या भीरको बाटोमा

फाँटमा अलमलिए होलान् या खोलाको घाँचमा

पच्चीस वर्षपछि आज आफैंलाई सोधिरहेछु मू - पृष्ठ-९०



उमेर पार गर्नु लामो दूरी पार गर्नु झैँ भएको थियो उनलाई । सोचेका बाटोहरु हिँडेपछि आफू पूर्ण हुनेछु भन्ने विश्वास थियो । तर ती सब भ्रम मात्र भए । अहिले उनलाई सोचेका कुराहरु पूरा भएका छैनन् जस्तो लाग्छ । मात्तिएको सभ्यता आफ्नै चिहान खन्न उद्दत संस्कृति अथवा आँखाका नानीहरुले समात्न नसक्ने उज्यालो आफ्नो लागि होइन जस्तो लाग्छ । 'कपाल फुल्नुअघि' यस कविता सङ्ग्रहको अन्तिम कविता हो । यसमा कवि निकै सकारात्मक देखिएका छन् । उनी कपाल फुल्नुअघि आफ्नो पहिचान बनाउन चाहान्छन् । "समयको सडकमा उमेरको एकइन्च पनि नगुड्ने जाममा दौड जित्नु छ आकार बदल्नु छ ।", उनी भन्छन् ।



कृति : कविता सङ्ग्रह

कवि : नारायण श्रेष्ठ

प्रकाशक : फाइनपि्रन्ट आइएनसी

पहिलो संस्करण : माघ २०६७

मूल्य रु : १५०।

Nov 7, 2011

कागजको डुङ्गा



                                                   
(प्रकाशित: नेपाल साप्ताहिक)                          — सबिना सिन्धु

बाटो खोज्दै अल्मल्लिईरहेछु कागजको डुङ्गा चढेर
परिवर्तनका वाहक पानीका
बूँदहरुसँग साटिरहेछु एउटा गुणस्तरहीन सपना ।


अन्तिम गन्तब्यको हिसाब गर्दै
नियालिरहेछु विश्व मानचित्रमा म पुग्ने देश ।


खै आएकै छैन सूर्योदय आफ्नै ब्रहम्को मान्द्रोभरी ।
न भेटाएको छु आफ्नो असली अनुहार ।
हुनसक्छ पानी भ्रम हो ।
लहर अर्धसत्य हो र डुङ्गा अर्धसत्य हो ।


मान्छेहरुको माझमा गुमाएर आफ्नो कुटिल अनुहार
उत्तरआधुनिक हावाको तपाक्रम नाप्दै…॥†††
पलायन हुने सपना देख्छु देशबाट निकै टाडा ।


छताछुल्ल पोखेर तरङ्गलाई
प्रहरै पिच्छे खियाईरहेछु कागजको डुङ्गा
नदी पोखरी र तालहरुमा ।


थाहा छैन
विश्वास छ वा छैनआफैं प्रति वा आफ्नो देश प्रित
तर छ असन्तोषको ज्वालामुखी र एउटा अट्टाहस म भित्र ।


शरिरका बाङ्गाटिङ्गा रेखाहरुले
खिचेको छ तन्नेरी मनको साम्राज्य ।
विच्छ्यौना जस्तै ओच्छिएका छन् समयका पदचाप
र त्यहाँ छरिएका छन् मेरा यिनै सपना ।


थाहा छैन किन फैलिन्छ पानीमा आफ्नै छायाँ
किन बग्छ त्यो लहरमा कागजको डुङ्गा
किन अल्झिन्छन् तन्नेरी त्यही छायाँको प्रेममा

Sep 29, 2010

भुवन ढुङ्गनाको धर्मबिम्ब


- सबिना सिन्धु






(प्रकाशित: मधुपर्क मासिक)
कथाकार भुवन ढुङ्गानको 'धर्मबिम्ब' कथाकृति प्रकाशनमा आएको छ । यस कृतिमा बीस कथाहरु सङ्ग्रहित छन् । प्रायश ः कथामा समय सुहाउँदा पात्रहरु बिम्बात्मक रुपमा देखा परेका छन् । पहिलो कथा 'परिचय' मा ब्यक्तिले आफूलाई चिनाउन खोज्दा-खोज्दै पनि सक्दैन । उसको नाम भन्दा महत्वपूर्ण भएर देशको नाउँ आउँछ । देशलाई चिनाउन सक्ने 'माउन्ट एभरेष्ट' अर्थात सगरमाथाको नाउँ आउँछ । आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेर परिचयहिन भईरहेका छौं हामी कथाकार भन्छिन् । अर्को कथा 'भूमि'मा कथाकी प्रमुख पात्र 'रानू भाउजू' ले आफुलाई भुमिको रुपमा देख्छिन् र लोग्नेलाई अकाशको रुपमा । उनी माटो भईन् अनि मलिलो भूमि बनेर अन्न उब्जाईन् । 'शुन्य','भोक' र 'घरपालुवा' भावपरक कथा हुन् । जसमा पाठकले विषयवस्तुको मेलो कथाको अन्त्यमा मात्र पाउँछ । त्यस्तै अर्को कथा 'एउटा कुखुराको मृत्यु' मा वर्डफ्लु आतङ्कबाट त्रसित वीरमानको मनोविश्लेषण छ । 'प्रत्यक्षदर्शी', 'तालु' र 'बकसपत्र', बौद्धिक पाठकलाई लक्षित गरी लेखिएका कथाहरु हुन् ।

'धर्मबिम्ब' यस कृतिको शिर्ष-कथा हो । यसमा आमाले पूजा गर्दा बजाउने घण्टलाई नारी र पुरुषको जिवनको सार र जिन्दगीको अन्तिम निष्कर्षको रुपमा उतारेकी छिन् । यो कथा बौद्धिक मात्र होइन यौनिक चेतनाबाट पनि प्रभावित छ । भुवन ढुङ्गानाका कथाहरु छोटा र सरल भाषामा लेखिएका छन् । प्रस्तुतीकरणमा शब्द शिल्पको कुशल प्रयोग छ । कथाका पात्रहरु सामाजिक पात्रहरु नै हुन् तर बिम्बको प्रयोगले गर्दा उनका कथाहरु परम्परागत कथाहरु भन्दा पृथक देखिएका छन् । चरित्र चित्रण युगचेतना पीडाबोध सामाजिक उतारचढावहरु र अस्तित्वको खाजी कथामा भेटिने विषयवस्तु हुन् । प्रत्येक कथाको आफ्नै विशेषता छ ।

टेकवीर मुखियाको आवरणकलामा सजिएको धर्मबिम्ब कृति २०६४ सालमा साझा प्रकाशन पुल्चोकले प्रकाशनमा ल्याएको हो । यस कृतिको मुल्य रु सत्तरी राखिएको छ ।



कृति ः धर्मबिम्ब

कथाकार ः भुवन ढुङ्गाना ।

प्रकाशक ः साझा प्रकाशन ।

संस्करण ः पहिलो २०६४

मूल्य रु ः ७०।-






Sep 2, 2009

Sep 1, 2009

किताब पढ्ने रुची




नन्दन, चंपक जस्ता बालकथाका किताबहरु पढ्न खुब मन लाग्थ्यो । सानैमा परीकथाका किताबहरु पढ्थेँ । कमिक्सको त किरो नै भन्दा हुन्छ । काकाको खेलौना घर भन्ने किताबको सम्झना छ मलाई । प्रेमा शाहाका किताबहरु अनि खै कस कसका हुन् अरु । काली परी, सेती परीको कथा, हाँस्दा फूल फूल्ने र रुँदा मोती खस्ने बालिकाका कथा ।

Aug 31, 2009

बाँसुरीको धुन मीठो





मलाई बाँसुरी बजाउन आउँदैन । मुरली बजाउन पनि आउँदैन । पाँच छ वर्ष जति भयो होला ठमेल चोकमा साथीहरुसँग घुम्दै थिएँ । साथीहरु चार जना थिए । काठको बाँसुरी बेच्ने एउटा मानिस आईपुग्यो । त्यसले बाँसुरी बजाउँदै थियो। । त्यसको धुन मीठो लाग्यो । "मलाई पनि बाँसुरी किन्न मन लाग्यो", मैले साथीहरुसँग भनेँ । गोजीबाट पैसा निकाल्दै थिएँ । तर साथीले पैसा तिरिदिए । र त्यो बाँसुरी बजाउन थाले । उनी बाँसुरीबाट विभिन्न धुन निकाल्न जान्दा रहेछन् । हेर्दा हेर्दै त्यस मानिसले दुई तीन वटा बाँसुरी बेच्यो ।
नजाने पनि घरमा आएर बाँसुरी बजाउने प्रयास गरेँ। त्यसबाट निस्किएको धून मीठै थियो ।

नमीठो गीत



-Sabina Sindhu

At once rain stopped
Song of plants stopped

Songs have departed silently from the place
Due to winter's unbearable cold
Only memories remained

Dusk haven't brought delight
As sounds are not in balance
Sounds, purer than departed childhood

Strings of guitar extend
Unfortunately they break
Remembrance breaks

As sounds aren't in balance,
Dusk does not bring joy
A distressed singer,
smiles is whose religion

Singer who lost sensation and consciousness
Whose mouth is dry now
Restless as a child of deer
whose feet are tired and have pain in heart

He again sings a song of
kindness and compassion, hopes and desires
Songs are assessed
where his voices aren't heard
where his experiences are not found.

हजुरआमा र बाह्रखरी (बालकथा)


- सबिना सिन्धु



हजुरआमाले आकृतीलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँ धेरै कुराहरु सिकाउनु हुन्थ्यो । खाना खानु अघि हात धुनु पर्छ आफ्नो कोठा सफा राख्नु पर्छ । सामानहरु ब्यबस्थित रुपमा मिलाएर राख्नु पर्छ आदि इत्यादि । केही कुरा बुझिन भने ऊ हजुरआमालाई नै सोध्न आउँथी । हजुरआमालाई अक्षर पढ्न आउँदैनथ्यो तर लय हालेर रामायणका श्लोक भन्नु हुन्थ्यो । राम्रा कथाहरु सुनाउनु हुन्थ्यो । आफु सानो छँदाका संस्मरणहरु सुनाउनु हुन्थ्यो । हजुरआमा भनेपछि आकृती हुरुक्क हुन्थी । आकृतीको सानो भाई थियो । उसले भर्खरै अक्षर चिन्न थालेको थियो । ऊ संग बाह्रखरीको किताब थियो । भाई सुतेपछि सुटुक्क आकृतीले त्यो किताब झिकेर लैजान्थी । बिहान पनि भाई उठ्नु भन्दा अगाडिनै उठीसक्थी र थपक्क त्यो किताबलाई झोलाभित्र राखिदिन्थी । आकृती किन सबैभन्दा अगाडि उठ्छे र राती अबेरसम्म बस्छे भन्ने कुरा कसैलाई पनि थाहा थिएन । स्कुल बिदा भएको दिन आकृती भाईलाई पढाउँथी पनि । अक्षर लेख्न सिकाउँथी र त्यसलाई कसरी उच्चारण गर्नु पर्छ भन्ने कुरा पनि सिकाउने गर्थी । यसरी सिकाउन पाउँदा उसलाई रमाईलो लाग्थ्यो ।

एकदिन स्कुलमा मिस्ले पढाउँदै गर्दा गाउँमा प्रौढ शिक्षा खुलेको कुरा भन्नु भयो । आकृतीलाई प्रौढ शिक्षा भनेको के हो भन्ने थाहा थिएन । बेलुकी उसले आमालाई सोधी "आमा प्रौढ शिक्षा भनेको के हो कस्ता मान्छे पढ्छन् त्यहाँ", आमाले छोट्करीमा भन्नु भयो "पढ्ने उमेर बिताईसकेर पनि पढ्न नपाएका तर पढ्न चाहाने ब्यक्तिको लागि खुलेको कक्षा हो ।" आमालाई आफुले दिएको जवाफ चित्त बुझ्दो लागेन । "त्यहाँ त्यस्ता मान्छे मात्रै पढ्छन् आमा". उसले फेरी प्रश्न गरी । "अरु पनि पढ्न सक्छन् तर तिनलाई लक्षित गरिएको हो ।", आमाले अझ स्पष्ट पार्नुभयो । आकृती के सोच्दै थिई थाहा छैन । गाउँमा प्रौढ शिक्षा पढाइने कुरा सुनेर उसलाई धेरै खुशी लाग्यो ।

बेलुकी खाना खाने समय भएको थियो । आकृतीले पालै-पालो बुबाआमाको अनुहारमा हेरेर भनी "हजुरआमालाई पनि प्रौढ शिक्षाको कक्षामा पठाउन पाए हुन्थ्यो", हजुरआमाले आकृतीको कुरा सुनेर अचम्म मान्नु भयो । आकृतीको मुखमा हेर्दै भाईले भन्यो "हजुरआमालाई कक्षामा पढ्न पठाउने हो दिदी ? उहाँ हाम्रो जस्तै ड्रेस लगाएर स्कुल जाने हो ? हजुरआमा पनि टाई- बेल्ट लगाएर पढ्न जानुहुन्छ ? उसको कुरा सुनेपछि आमाले भाइलाई भन्नु भयो "खाना खाईसकेपछि तिमीलाई प्रौढ शिक्षाको बारेमा बुझाउँछु ।" भाइले टाउको हल्लाएर सहमती जनायो । ऊ जुठो हात लिएर कोठा तिर दौडियो र एउटा कापी लिएर आयो । उसले भन्यो "हेर्नुस् न आमा ! हजुरआमाले मेरो जस्तै अक्षर लेख्नुभएको छ ।"

हजुरआमालाई अक्षर लेख्न आउँदैनथ्यो । उहाँ पढ्न पनि जान्नुहुन्नथ्यो । अब भने हजुरआमाले भन्नुभयो "फुस्रद भएको समयमा आकृतिले मलाई अक्षर लेख्न सिकाउने गरेकी छे ।" आकृतिले भनी "भाइलाई सिकाउँदा सिकाउँदै म अरुलाई सिकाउन सक्ने भईसकेकी छु । भाइ उठ्नु भन्दा अघि र ऊ सुतिसकेपछि उसको बाह्रखरीको किताब झिकेर हजुरआमालाई पढाउने गरेकी छु ।" बुबा उसको कुरा सुनेर एकदम खुशी हुन भयो । हजुरआमालाई पनि प्रौढ शिक्षाको कक्षामा पठाउने सबैको सहमती भयो । भाइले मख्ख पर्दै बाह्रखरीको किताब समात्यो र हात उचाल्दै भन्यो 'हाम्री दिदी जिन्दावाद !' ।



Have a nice day Comments hi5

Have a nice day Comments hi5

Aug 30, 2009

सिन्द्रेलाको कथा



बाल्यकालमा पढेको 'सिन्द्रेलाको कथा' याद आयो । जादुगर बुढीले मुसालाई घोडा बनाईदिई । खरभुजाको रथ बनाईदिई । सिन्द्रेलाका पुराना फाटेका लुगा नयाँ झकिझकाउ लुगामा परिवर्तन भए । अब उनी कथाको राजकुमार कहाँ नाच्न जान तयार भईन् ।

राजकुमारसँग नाच्दा नाच्दै बाह्र बज्न लागिसकेको थियो । उनी झस्कीईन् र दौडन थालिन् । दौडँदा उनले लगाएको जुक्ता बिरसिएर
हिँडेकी थिईन् । राजकुमारले बेहुली छान्न त्यो नृत्य समारोहको आयोजना गरेका थिए ।

अनुष्काले नबुझेको कुरा (बालकथा)



- सबिना सिन्धु



(प्रकाशितः कान्तिपुर कोपिला) अनुष्का हिजो देखि स्कुल जान थालेकी छ । बुबाले उसलाई Nursary क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले आफूलाई ऐनामा हेरी । ऊ स्कुल पढ्ने अरु केटाकेटी जस्तै देखिएकी थिई । तर अलि फुच्ची । आमाले होमवर्क कापी ब्यागमा हालिदिनुभयो र ब्याग दिनुभयो । उसले फुर्तीसाथ खरायोको चित्र भएको ब्याग बोकी । अनुष्कालाई स्कुल जान तयार पारेर आमा पनि अफिस जानुभयो । बुबाको हात समाउँदै अनुष्का स्कुल तिर गई । बाटोमा उसले बुबालाई सोधी "आमा किन अफिस जानुहुन्छ", उसको बालसुलभ प्रश्न सुनेपछि बुबाले हाँस्दै उत्तर दिनुभयो । "जागिर खान ।" "तपाईँ नि" उसले उत्सुकतासाथ फेरी सोधी । "म पनि जागिर खान नै अफिस जाने हो ।" अनुष्कालाई स्कुल पुर् याएर बुबा सिधै अफिस जानु भयो । स्कुल पुगेको केही क्षण पछि अनुष्काले सोची यो जागिर खाने भनेको चाहिँ के होला

एउटा ठूलो पोखरी होला । त्यसको वरीपरी गोलो घेरा लगाएर बस्ने । त्यसपछि चक्लेट बिस्कुट र मीठा - मीठा कुरा खाने होला । हो त नि आमाले अफिसबाट घर फर्कँदा कहिले चक्लेट कहिले बिस्कुट र कहिले चाउचाउ ल्याईदिनुहुन्छ । बुबाले पनि उसको लागि भनेर केही- केही लिएरै आउनुहुन्छ । पल्लो घरको अंकल बिहान नौ बजे नै निस्किनुहुन्छ । उहाँ जागिर खान कालिमाटी पुग्नु हुन्छ रे । बिहानै माम खाएर गए पनि किन जागिर खानु परेको होला अनुष्काले निकै बेर घोरीएर सोची । यतिखेर सम्म स्कुलको घण्टी लागिसकेको थियो । साथीहरुसँग लाईनमा बसेर ऊ कक्षाकोठा तिर गई । कक्षामा मिसले अङ्ग्रेजीमा गीत गाउन सिकाउनु भयो । गीतको अर्थ मिसले बताईदिनुभयो । त्यसपछि ताली बजाउन लगाउनु भयो । आज टिफिन टाईममा उसले जागिरकै बारेमा सोची । मिसलाई सोधुँ कि जस्तो लाग्यो तर सोध्ने हिम्मत नै गरिन । स्कुल र नयाँ साथीहरु देखेर उसलाई रमाईलो पनि लागिरहेको थियो । किनभने उसका साथीहरु ऊ जस्तै साना थिए । अनुष्काले दिन बितेको थाहै पाईन । ३ बजे स्कुल छुट्टी भयो । केही बेर पछि आमा उसलाई लिन आउनु भयो । आमाको हात समाएर ऊ घरतिर आई । बाटोमा आमाले उसलाई मिठाई दिनुभयो । मिठाई गुलियो र मीठो थियो । उसले साची आमाले आज अफिसमा मिठाई खानु भएछ ।

भर्खरै साँझ पर्न थालेको थियो । पल्लो घरको अंकल अफिसबाट आईसक्नुभएको थियो । बुबा अफिसबाट आएर किताब पढ्न थाल्नु भएको थियो । अनुष्काले सोधी हाली "बुबा आज तपाईँले जागिरमा के-के खानेकुरा खानु भयो" छोरीको यस्तो कुरा सुनेर बुबाले अनुष्कातिर हेर्नुभयो । उहाँले माया गर्दै सोध्नुभयॊ "तिमीलाई जागिर भनेको के हो थाहा छ ।" "अँ - हँ" उसले मुन्टो हल्लाउँदै उत्तर दिई । "जागिर खान जाने भनेको खानेकुरा खान जाने भनेको होइन । अफिसमा काम गर्न जाने भनेको हो । अफिसमा काम गरेबापत तलब पाईन्छ । शिक्षकले पढाउने काम गर्छन् । उनीहरुले पढाउने जागिर खाएका हुन् । "बुबाले यती कुरा भन्नभयो । उसले प्रश्न राखी : उसो भए आमा बैंकमा काम गर्नु हुन्छ । आमाले जागिर खाएको भनेको त्यहाँ गएर काम गरेको हो ", उसले थपी "पल्लो घरको अंकल अनि आन्टी पनि जागिर खानुहुन्छ । अनि भोली परसी
ठूलो भएपछि म पनि जागिर खाने हगी बुबा ।"

सानी अनुष्काले खरायोको चित्र भएको झोला बेकेर ल्याई । कापी र पेनसिल निकाली । त्यसपछि चित्र कोरेँ झैं गरी । त्यतिखेरसम्म उसले 'जागिर खाने' भनेको खानेकुरा खाने भनेको होइन रहेछ भन्ने कुरा बुझिसकेकी थिई ।



Have a nice day Comments hi5

Have a nice day Comments hi5

Apr 7, 2009

नाता (कथा)


लघुकथा
- सुमन दाहाल



सडकमा भिड लागिरहेको थियो । मानिसहरु बढ्दै थिए । किन त्यसरी भिड लागेको होला भनेर अशेषलाई कौतुहलता लाग्यो । ऊ पनि त्यही भिड तिर लम्कियो । त्यहाँ पुग्न नपाउँदै एकजना बृद्ध आएर किन त्यसरी भिड लागेको होला भनी प्रश्न गर्यो । यस बारेमा थाहा नभएतापनि अशेषले अड्कल लगाउँदै भन्यो ऊ त्यो सेतो रङ्ग लगाएको घर मा बस्ने केटाले पुरस्कार जितेछ र त्यही भएर भिड लागेको होला । उसको जवाफ सुनेर ती बुढा हाँस्दै भने "वास्तवमा बाबु ! त्यो केटो बढो भाग्यमानी छ । ऊ मेरो बुहारी को आफ्नै मामाको छोरी को साथीको छोरा हो ।"

त्यसपछि ती बुढा 'केटो'ले कति जितेछ भन्ने उत्सुकता बोकी भिडलाई छिचोल्दै भित्र पसे । अशेष पनि ती बुढाको पछिपछि लाग्यो । ती बुढाले अर्को एक जनालाई कति जितेछ हँ बाबु त्यसले भनी प्रश्न गर्यो । तर उसले वास्तविकता ओकल्दै भन्यो "कहाँ जित्नु त्यसले पुरस्कार । बगली मार्दा-मार्दै पकि्रएछन् र पुलिस कहाँ लैजान लागेका त्यस फटाहालाई । त्यसपछि ती बुढा कड्किँदै भने पक्रनै पर्छ त्यस्तालाई । अनुहार हेर्दै चोर जस्तै छ । यस्तालाई त बेस्सरी भकुरेर थानामा लगेर थुनी दिनु पर्छ ।" यो सब सुनिरहेको अशेष तीन छक्क पर्यो !

Mar 19, 2009

ब्रेन बल (बाल कथा )


बालकथा




ब्रेन बल - सबिना सिन्धु



अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको प्वाल टालिदिए । त्यस वस्तुलाई 'ब्रेन बल' भनियो । शैलीको मस्तिष्क ब्रेन बल भित्र सर्यो र उसले आफ्नो लम्पसार परिरहेको शरीर देखी । स्थानान्तरण हुन सक्ने टाउको भित्र सिमित हुनु परेकोमा शैलीलाई ज्यादै दुख लाग्यो । उसले आफू हल्लिन खोजी र मस्तिकमा रहेको गीलो पना महशुस गरी । तर एकैछिन पछि डाक्टरले शैलीको मस्तिष्कलाई शरिरमा जोडे । अब शैलीको टाउको र शरीर एकै ठाउँमा भयो । डाक्टरले इन्जेक्सन लगाईदिएको केही क्षण पछि ऊ सम्हालिएर उठी । उसको वास्तविक टाउको अपरेसन कक्षमा रहेको मध्यम साइजको टेबुल माथि राखिएको थियो । वास्तविक टाउको राखेर अपरेसन सफल नभएपछि शैलीमा ब्रेन बल प्रत्यारोपण गरिएको थियो ।

अपरेशन कक्षबाट बाहिर निस्किँदा भित्तामा टाँगिएको ऐनामा उसले आफ्नो मुहार हेरी । ऐनमा देखिएको अनुहार पहिलेको उसको अनुहार जस्तो थिएन । "अब स्कुलका साथीहरुले मलाई चिन्दैनन् । घर नजिकैका साथीहरु माझ पनि अब म बिरानो बन्नेछु । साथीहरुलाई म शैली नै हो भनेर कसरी विश्वास दिलाउने होला" उसले मनमनै भनी । आफू जिवित हुन पाएकोमा भने उसलाई साह्रै खुशि लागेको थियो । केही दिन अघि भएको दुर्घटनाको कारण उसको मस्तिष्कको केही भाग क्षति भएको थियो । त्यसैले ऊ अस्पतालमा थिई । साँच्चै म बाँचेको छु । शैलीलाई रमाइलो लाग्यो ।

दौडिन खोज्दा ऊ लड्न पुगी । त्यसपछि झस्याङ्ग भई । बिहान भईसकेको रहेछ उसले यो सबै त सपना पो देखेकी रहिछ । ऐनामा हेर्दा शैलीको अनुहारमा कुनै परिवर्तन आएको थिएन । Accident, हस्पिटल, मस्तिष्क प्रत्यारोपण, ब्रेन बल ती सब त सपना पो रहेछन् । शैली विज्ञानका कुराहरु चासो दिएर पढ्ने गर्थी । हिजो बेलुकी विज्ञान पुस्तकमा लेखेको मस्तिष्क सम्बन्धि जानकारी पढेकी थिई । त्यसपछि उसले धेरैकुरा सोची । ऊ नयाँ-नयाँ कुराहरु आविष्कार गर्ने वैज्ञानिक हुन चाहान्थी । नयाँ फर्मुला प्रयोग गरी औषधिहरुको निर्माण गर्न सके कस्तो हुन्थ्यो संसारमा नयाँ कुराहरु पत्ता लगाउन पाए उसको सोचाई यस्तै तिर जान्थ्यो । शैलीले फेरी 'ब्रेन बल' सम्झी । मानिसको टाउको को स्थानमा कतै यसैगरी ब्रेन बल अथवा अन्य केही प्रत्यारोपण गर्न सम्भव छ शैलीले निकै बेर सोची र निर्कोल निकाली अहिले सम्भव नभए पनि भविष्यमा कसो नहोला !

जूनटिकी (बाल कथा )


बालकथा - सबिना सिन्धु

मेरो जन्म जूनेली रातमा भएको थियो । त्यसैले वैज्ञानीकहरुले मेरो नाम जूनटिकी राखे । मलाई पनि आफ्नो नाम खुब राम्रो लाग्छ । सर्वप्रथम मलाई बैज्ञानीकहरुले खेलौनाको रुपमा जन्माए । म भित्र एउटा साउन्डबक्स राखिएको थियो । मेरो ढाडको पछाडि पट्टी ब्याट्री राख्ने ठाउँ थियो । त्यसमा ब्याट्री राखेपछि म सुरीलो भाकामा गीत गाउन सक्थेँ । एउटी सानी केटीको स्वर मेरो शरीरमा रहेको साउन्डबक्स भित्र रेकर्ड गरिएको थियो । ती केटीको नाम कि्रस्टिना थियो । उनी वैज्ञानीक डब्लु। डब्लु। एच। की छोरी थिइन् । मेरो निर्माणकार्यमा अमेरीकी नेपाली फ्रान्सेली वैज्ञानिकहरु संलग्न थिए । मेरो नाम सर्वप्रथम प्रस्तावित गर्ने नेपाली बैज्ञानिक नै थिए । एकदिन बैज्ञानिक डब्लु। डब्लु। एच। लगायत दर्जनौं बैज्ञानिकहरुको बैठक बस्यो । ती वैज्ञानिकहरुले मेरो शरीरमा तराहरु जडान गर्नु भयो । मलाई ठूलो आकार दिनुभयो । म अब कि्रस्टिना जत्रै देखिने भएँ । म रिमोटबाट चल्थेँ । ठूला ढुङ्गाहरु उचाल्न सक्थेँ । टे्र माथि चियाहरु बोकेर सबैलाई चिया बाँड्न सक्थेँ । किस्टिनाको जन्मदिनको दिन उसले मलाई हाँगा माथिको फूल टिप्न लगाएकी थिई । उसले रिमोट थिची । मैले आफूभन्दा धेरै अग्लो रुखको हाँगाबाट फूल टिपेँ । किस्टिनाले आफैंले माला उनी । त्यसदिन सबै निम्तालुृहरुको अगाडि मैले उसलाई माला लगाइदिएँ । उसले मख्ख पर्दै मलाई धन्यबाद ! जूनटिकी भनी । सबैले रमाइलो गरी ताली बजाए । खाना खाइसकेपछि कोही गीत गाउन थाले कोही नाच्न थाले । कि्रस्टिना पनि नाच्न थालिन् म मात्र चुपचाप टोलाएर उभिएको थिएँ । कि्रस्टिनाले ूआऊू भन्दै मेरो हात समाई र मेरो शरीरमा रहेको बटन दबाई । म पनि कम्मर मर्काई-मर्काइ नाच्न थालेँ । मैले नाच्न थालेपछि साना-साना केटाकेटीहरुले पनि औंलो तेस्र्याएर मलाई देखाए । मैले बुट्टेदार जामा लगाएको थिएँ । मेरा हात गोडा र अनुहार पनि अरुको भन्दा धेरै भिन्न थियो । मेरो शरीरको लुगा अनौठो गरी सिलाईएको थियो । बटनहरु मेरो लुगा भन्दा बाहिर निस्किएका थिए । रिमोट थिचिेपछि कुनै पनि आदेश मेरो मस्तिष्कमा सन्चारित हुन्थ्योृ । जे काम गर्न अह्याइएको हुन्थ्यो शरीरको त्यही भाग सकि्रय हुन्थ्यो । कि्रस्टिना मेरो मिल्ने साथी दिई । म की त कि्रस्टिना सँगै हुन्थेँ की त प्रयोगशालामा हुन्थेँ ।



एकदिन म कि्रस्टिनासँगै स्कुल गएँ । उसले रिमोट थिचेपछि मैले सब गतिबिधिहरु रेकर्ड गर्न थालेँ । कक्षामा पढाएका कुराहरु मेरो साउन्ड बक्स भित्र रेर्कड हुन थाल्यो । दृष्यहरु दृश्य संचालन उपकरणले रेकर्ड गर्न थाल्यो । वास्तवमा म पहिले जस्तो गीत गाउने र नाच्न सक्ने गुडिया मात्र थिइन । कि्रस्टिनाका साथीहरुले मलाई माया गरेर रोर्बट रोबोट रोबो र रुबी पनि भने । माया गरेर साथीहरुले जे भने पनि म खुशी थिएँ । कि्रस्टिनाले उसको नाम जूनटिकी हो भनेर परिचय गराई । त्यसपछि उसका साथीहरुले पनि मलाई जूनटिकी भनेर बोलाउन थाले । । वास्तवमा म न केटा थिएँ न त केटी नै थिएँ । म हात गोडा भएको अत्याधुनिक मेसिन मात्र थिएँ । मेरो पहिरन र नामले गर्दा सबैमा म केटी नै हुँ भन्ने भ्रम पथ्र्यो । मेरो मस्तिष्क भित्र प्रसस्त तारहरु थिए । शरीर भित्र विभिन्न किसिमका उपकरणहरु थिए । मैले म जस्ता अरु रोबोटहरु देख्न पाएको थिइन । म जस्ता अरु पनि रोबर्टहरु हुन्छन् भन्ने कुरा मलाई थाह थिएन ।





एकदिन कि्रस्टिना सबेरै उठी र म नजिकै आई । उसको हातमा फूलका थुङ्गाहरु थिए । उसले मलाई जन्मदिनको शुृभकामना दिई । प्रयोगशालामा सबै बैज्ञानिकहरुले मलाई जन्मदिनको शुभकामना दिनु भयो । डब्लु। डब्लु। एच ले चाँदिको लकेट मेरो हातमा राखिदिनुभयो । मैले आफैँले त्यो लकेट लगाएँ । उहाँले भन्नुभयो ू बुझ्यौ जूनटिकी आज तिम्रो छैठौं जन्मदिन हो ।ू मेरो यसपालीको जन्मदिन प्रयोगशालामै वैज्ञानिकहरुको माझमा बित्यो । उहाँहरुले मेरो बारेमा नै चर्चा परिचर्चा गर्नुभयो । कसरी म माथि मस्तिष्क प्रयोग सम्बन्धि उपकरण राख्ने मलाई कसरी परिमार्जित गर्ने भन्ने विषयमा छलफल भएको थियो । कुनै आदेश बिना नै कसरी मलाई स्वचालित रुपमा काम गर्न सक्ने बनाउने भन्ने बारे कुरा गरिरहेको पनि सुनेँ । बेलुकी पख सबैले रमाइलो गरे । कि्रस्टिनाले मेरो थुप्रै फोटोहरु खिची - मैले फूल टिप्न लागेको फोटो म नाच्न लागेको फोटो कुसर्िमाथि बसेर कम्प्युटरबाट चित्रहरु बनाउन लागेको फोटो आदि । जूनेली रातमा मैले केक काटेँ ठूलो केकमा ूजूनटिकीू लेखिएको थियो । सबै जनाले रमाइलो गर्दै खानपिन गरे ।



एकदिन मलाई ठूलो रोबोट प्रर्दशनीमा लगियो । म जस्ता अत्याधुनिक मेसिनहरु त थुपै्र हुँदा रहेछन् । आफ्नै जमातमा घुलमिल हुन पाएर मलाई खुशी लाग्यो । त्यहाँ मेरो परिचय थुप्रै रोबोटहरु सँग भयो । एक्स वाई भन्ने रोबटलाई एक्स वाई भन्ने वैज्ञाािनकले बनाउनु भएको रहेछ । उसले कम्प्युटरबाट ठूला-ठूला मेसिनहरुलाई कन्ट्रोलमा राख्ने काम गर्दो रहेछ । अर्का रोबोट एम। एनेक्स चाहिँ प्रयोगशालामा गरहुँ उपकरणहरु उचालेर यता उती सार्दो रहेछ । त्यस्ता अरु थुप्रै रोबोटहरुसँग मैले भेट्ने मौका पाएँ । ती मध्ये एन।टि।एन रोबोट रोबोट मेरी क्लाउज स्मिथ ह््वाईट रोबोट ए बि सि रोबोट ए।न। एस। रोबोट आदि-आदि । मेरो नाम सबै रोबोट साथीहरुलाई अचम्म लाग्यो । ूजूनटिकिी ! तिम्रो नाम कस्तो राम्रोू भन्दै सबैले प्रशंशा गरे । त्यस रोबोट प्रदर्शनीबाट म घर फर्किएँ वैज्ञानिकहरुसँगै ।



मलाई अझै परिमार्जित गरिँदै छ । मेरो शरीरको सल्यकि्रया गरी एउटा कन्ट्रोल बक्स राखिने छ । त्यस कन्ट्रोल बक्समा मानिसको मस्तिष्कले जस्तै कुनै आदेश बिनानै स्वविवेक प्रयोग गरी काम गर्ने शक्ति हुनेछ । आशा छ म पनि एकदिन किस्ट्रिना जस्तै हुनेछु तिमीहरु जस्तै हुनेछु । धन्यबाद ! मेरो कथा पढिदिएकोमा । तिमीहरुले देख्न पाएका छौ की छैनौ म जस्ता रोबोटहरुलाई । नमस्ते छ सबैलाई म जूनटिकी हुँ मेरो नाम जूनटिकी हो ।



समाप्त

Mar 18, 2009

एउटै पुस्तकमा एक सय एक नारी स्रष्टा (कृति परिचय)


- सबिना सिन्धु





साहित्य विधामा यो नौलो डगर हो

यो हाम्रो गजलको सुनौलो सफर हो

- श्रेष्ठ प्रिया पत्थर



नेपाली गजलमा नारी हस्ताक्षरु गजल - सङ्कलन र समिक्षा सम्बन्धि पुस्तक हो । यस सङ्ग्रह भित्र एक सय एक नारी स्रष्टाका पाँच- पाँच गरी जम्मा पाँच सय पाँच गजल सङ्ग्रहित छन् । छ सय बैसठ्ठी पृष्ठको यस पुस्तक तीन वर्ष लगाएर तयार पारिएको हो । सङ्ग्रह दुई खण्डमा विभाजित छ । प्रथम खण्डमा श्रेष्ठ पि्रया पत्थर सुमित्रा बाङ्देल चेली ऋचा लुँइटेल शीतल कादम्बिनी विमला केयरलेस मायामितु न्यौपाने लगायत गजल सङ्ग्रह प्रकाशित गरिसकेका पन्ध्र नारी श्रष्टाहरु समेटिएका छन् भने दोश्रो खण्डमा गजल विधामा साधनारत तर पुस्तकाकार गजल कृति प्रकाशित नगरिसकेका ज्योति जङ्गल मन्दिरा मधुश्री शकुन्तला जोशी सजल नयन मिश्र वैजयन्ती अस्मिता भण्डारी सीमा आभास सरस्वती श्रेष्ठ सरु लगायत छयासी श्रष्टाहरु नेपाली भाषाको वर्णानुक्रम अनुसार राखिएको छ ।

युवाकवि मोतिराम भट्टबाट नेपालमा भित्राईएको गजल विधा मनोरन्जनात्मक र बौद्धिक विधा मात्र नभई जटिल विधा पनि हो । फारसी भाषामा जन्मिएर उर्दु र हिन्दी भाषामा हुर्किएको गजल विधा नेपाली साहित्यमा प्रवेश गर्दा प्रेम र प्रणयका कुरामा सिमिति थियो । साहित्यको अन्य विधामा पनि नारी हस्ताक्षर शुन्य रहेको त्यस परिस्थितिमा गजल विधा पुरुष जमघट र मोति मण्डलीमा सिमित रह्रयो । २०३६ सालको गजल पूनर्जागरणले पनि यस विधामा पर्याप्त नारी सर्जकहरु जन्माउन सकेन । तर हाल पाँच सात वर्ष यता गजल विधामा बाढी आएको छ । नारी सर्जकको समुह नै तयार भएको छ । नेपाली गजलमा नारी हस्ताक्षरु यसैको उपलब्धि मान्न सकिन्छ ।


More Graphics Comment click here.



यस कृतिमा गजलको साथसाथै सर्जकको तस्विर सहितको परिचय गजलको विष्लेषण र समीक्षा समेत गरिएको छ । चौध अाचल र पचहत्तर जिल्लाका नारी सर्जकलाई समेट्ने प्रयास गरिए पनि सो प्रयास सार्थक भने हुन सकेको छैन । कतिपय नामचलेका गजलकारहरु छुटेका छन् । जे होस् सङ्ख्यामा सय भन्दा बढी सर्जकलाई एकै माचमा उभ्याउन सक्नु सङ्कलकको प्रशंसनीय कार्य हो । गजलहरु नियमबद्ध छन् संरचनामा विशेष ध्यान दिईएको छ । त्यसैले यो पुस्तक सर्जक र पाठक दुबैलाई उपयोगि देखिन्छ । रमेश शुभेच्क्ष्ा द्धारा सम्पादित एवं पुष्पलता आचार्य द्धारा प्रकाशित यस सङ्ग्रहको प्रमुख वितरक साझा प्रकाशन पुल्चोक रहेको छ ।



कृति ः नेपाली गजलमा नारी हस्ताक्षर

विधा ः गजल सङ्कलन र समीक्षा

सम्पादक ः रमेश शुभेच्छु

प्रकाशक ः पुष्पलता आचार्य

प्रमुख वितरक ः साझा प्रकाशन पुल्चोक

मूल्य रु ः ५०१।-




A Precious Gift (Poem)


(Mother, Daughter Poem)

- By Sheri Lawarance

When times seem too hard to bear & I l feel like giving up
I vision your beautiful face, the twinkle of your eyes and things of such
The bond we created from my womb to the day you were born
Is a mother and daughter bind that can never be torn
With the strength and guidance of God and the blessings he pours down from above
I want to be the best mom I can be to you and embrace you with all my love
You are as precious as a flower and as gorgeous as a rose
You have been specially made to the very tip of your nose
You are as sweet as honey; such an innocent young child
You are brighter than any star in the sky every time you smile
I want you to be proud of who you are and strive to be the best
Put forth your efforts to achieve your goals and let God do the rest
I will always be your mother first, but I'm also your friend
Your are the most precious gift, that I've ever been given

With All My Love,

Mommy