Jul 27, 2016

Sabina Sindhu Photo










May 23, 2016

भेटिएन कुनै सुसाइड नोट

                     कविता
                                                                                                                                 — सबिना सिन्धु

फराकिलो निधार भएकी मृत युवती
जसलाई समाचार बनाइरहेछ  पत्रिकाले ।
फलाकिरेहछ रेडियोले ।
प्रश्रय दिइरहेछ टेलिभिजनले ।
कुनै दिन म बन्न सक्छु त्यही पात्र ।


पत्रिकामा देखिएको रगत लत्पत्एिको विभत्स तस्विर
त्यो मेरै पनि हुनसक्छ ।
जसले लगाएकी छे सेतो हाफ—टिसर्ट ।
जुन च्यातिएका छन् ।
लगाएको लामो मिडी, अस्वभाविक देखिन्छ ।


पत्रकार फलाक्न ब्यस्त छन् ।
बढाई चढाई लेख्न पाए बढी बिक्थ्यो पत्रिका ।
बढी चिनिन्थ्यो न्युज च्यानल ।

पत्रकार,
लगातार फलाकिरहेछ युवतीको उमेर र प्रेम प्रसङ्ग
जुन उमेर भन्न ऊ लजाउँथी ....
सोच्थी प्रेमीलाई जिवनसाथी ।
श्रोता लगाइरहेछन् ‘हचुवा’ अनुमान ।
अड्कलबाजि गरिरहेछन् अन्य मानिस
“किन मरी वा मारिइ त्यो युवती ।”


कि  मार्‍यो उसैको प्रेमीले वा अन्य कसैले ?
थियो कि कुनै रिसइवी  ?

धारिलो हतियारले बनाएको हो कि त्यो घाउ
वा कुनै चुच्चो ढुङ्गाले  ?
वा आफैं ठोकिई चट्टानमा ।
.... ‘सुसाइड’ पनि त हुन सक्छ !
तर भेटिन्न कुनै सुसाइड नोट ।


.......कसका हुन् सनाखत हुन बाँकी अन्य सामान ?
तयार पार्नै थियो घटनास्थल मुचुल्का ।


नाडीमा देखिन्थ्यो कोतरीएको घाऊ
र लामो निलडाम पनि ।
त्यो युवती जो अहिले मृत घोषित भएकी छे ।
पत्रिकाले लेखिसकेको छ विस्तृत विवरण

युवती,
जसले लगाएकी थिई सेतो रङ्गको हाफ टि—सर्ट ।
उल्लेख भएको उसको उमेर  र मेरो उमेर एउटै थियो ।
पत्रिका पढ्छु अनि झस्किन्छु ।
समाचार सुन्छु र तर्सिन्छु ।
लाग्छ तिम्रो पत्रिकाले छापिरहेछ मेरो ‘न्युज’


sabinasindhu@gmail.com

ईश्वरको न्यायालय

 (याे काल्पनिक कथा हाे .....र कथा मात्रै हो ।)                                                                                                                          सबिना सिन्धु
                                                             
                                                                            कथा

                                                                                                         

“ओई कति बेला आइपुग्छेस् रुपमाँया आइपुगिन् ।” श्रेणितीले फोन गरी
“गेटमै आइपुगेँ ।”, मैले भनेँ अनि मोबाइल प्यान्टको पकेटमा राखेँ।
म कोठामा  छिर्दा रुपमाँया आफ्नो कहानी सुनाउन थालिसकेकी थिइन् । मैले डिस्टर्ब गर्नु उचित ठानिँन । त्यसैले झोला साइड लगाएर राखी कुर्सी तानेर बसेँ। 


 “म निर्दोष थिएँ । अझै पनि भन्छु म निर्दोष छु । अनाहकमा उनीहरुले मलाई जेल हाले ।”, उनी भन्दै थिइँन् ।
उनले यति भन्दा मलाई कुनै करुणा जागेन । मैले उनको अनुहारमा राम्रोसंग हेरेँ । उनको चाउरी परेको निधारमा अपराधि भन्ने निशाना लागेझैं थियो । भो यी अपराधि सबै यसै भन्छन् । आखिर मैले सुनेकी रुपमाँया कर्तब्य ज्यान मुद्दामा सजाय भोगेर आएकी थिइन् । उनको उर्बर उमेर जेलमा बितेको थियो । 


“अपराध नै नगरी कसरी सजाय पाउनु भयो त ? त्यस्तो त हुनु नपर्ने”, मैले भनेँ ।
“त्यस्तै भयो । म परिबन्दमा परेँ।”, उनले भनिन् ।
“हत्या अर्कै ब्यक्तिले गरेको थियो । ऊ त सजायको भागिदार नै थियो । तर म चाहिँ ब्यर्थमा फसेँ मात्र ।  उनीहरुले मलाई ‘अपराधमा संलग्न भनी ठह¥याए । म निर्दोष छु भन्दा भन्दै......”, यति भनिसक्दा उनको आँखाबाट आँशु खस्यो । 


“चित्त नबुझे पुनरावेदन गर्न सक्नु हुन्थ्यो । आफू निर्दोष हुनुको प्रमाण जुटाउन सक्नु हुन्थ्यो । कानूनी प्रक्रियाहरु थिए नि !”, श्रेणितीले भनी
“खै के के हो म जान्दिन । वकिलहरुसंग सल्लाह लिएकै हो । जे गर्नु उनीहरुले गरे । केही नगरेकै पनि होइन ।”, रुपमाँया ले भनिन् ।
 

यी सबै वाहियात नाटक मैले सोचेँ । बिना प्रमाण त अपराधि ठहरिन्न भन्ने मेरो बुझाई थियो । तैपनि मैले उनको कुरा सुन्न छुटाइँन । यसकारण कि मलाई उनको कुरा कुनै काल्पनिक कथा जस्तो लागिरहेको थियो । जुन कथामा कथा वाचकले भूमिकाहरु सहजै फेर्न सक्छ । जुन कथा थपघट भएको पत्तो हुन्न म जस्ता श्रोतालाई । 
श्रेणिती सुन्दै थिई । उसलाई पनि रुपमाया को कथामा विश्वास लागेको थियो जस्तो लागेन । 


“म जेल परेपछि श्रीमानले अर्को बिहे गरे । उनीहरुको आफ्नै ब्यबहार बन्यो । सन्तान जन्माए । उनीहरु अहिले पनि सुखी छन् ।”
“अनि तपाइँका छोराछोरी नि ।”, मैले सोधेँ।

“छोराले आठ कक्षा पढ्दा पढ्दै पढाई छोडेछ । ऊ मायाको भोको थियो । बाबु चाहिँलाई के मतलब ? म जेल बाहिर हुन्थे त म उसलाई सही मार्गमा लगाउँथेँ । ऊ ड्रगिस्ट भयो । अनि एकदिन आत्महत्या ग¥यो । करिब एक वर्ष पछि मात्र मैले ऊ मरेको खबर पाएँ ।”, फेरी पनि उनका आँखाबाट आँशु झरे । 

“अनि छोरी नि ।”, श्रेणितीले सोधिन्
“ऊ कहाँ गई । के गरी थाहा छैन । दश कक्षामा पढ्ने भएपछि ऊ हिँडी । साथमा लुगाफाटा र बाबु चाहिँसंग झगडा गरेर पाँच हजार पैसा बोकेर हिँडेकी थिई ।”, उसको बाबु त्यसै भन्थे ।”
“म जेल बाहिर हुन्थेँ त मेरा छोराछोरी तपाईँहरु जस्तै पढे लेखेका हुन्थे । सही बाटोमा हुन्थे । कम्तिमा ब्याचलर गराउँथेँ । मैले पनि एसएलसी सम्म त पढेको छु ।” 


“.........तर अपसोस छोरा दुनियाँमै छैन । सर्वोस्व बितायो जेलले”
“साँच्चि मलाई विश्वास गर्नुस् म निर्दोष थिएँ । म सजायको भागिदार हैन ।”, रुपमाँया अझै बिगत सम्झेर रुँदै थिईन् ।
“यो कुरा, म मरेपछि ईश्वरको न्यायलयमा यसैगरी भन्नेछु ।”, रुपमाँया रोइन् । 


यसपटक मैले सोचेँ । यदि साँच्चै रुपमाया निर्दोष थिईन् भने उनले जेलमा बिताएका उनका उमेरहरु के फिर्ता आउँन सक्छन् ? फेरी त्यही ड्रगिस्ट छोराले आत्महत्या गर्नु अघिको समय अथवा ड्रगिस्ट हुनु भन्दा अघिको समय फिर्ता आउन सक्छ ? ....सक्दैन । 

रुपमाँया को कुरामा कहाँसम्म सत्यता थियो म जाँन्दिन् । वास्तविकता के थियो मैले बुझेको छैन । म कानूनको विज्ञ होइन ।  तर रुपमाँयाले आफ्ना कथा सुनाउँदा सुनाउँदै म भक्कानिएर रोएँ । आँशु थाम्न खोजेँ थामिएनन् । 
                                                                                                              
                                                                                                - sabinasindhu@gmail.com

Apr 21, 2016

परिवर्तन हुन्छ समय




-          सबिना सिन्धु



लेख्यौ कि ....!

कुन कागजमा लेख्यौ मेरा गीतहरु
ती त भिजे पानीमा निथ्रुक्क
तप्पतप्प जमिनमा झरेका थोपासंगै ।

कि.... कुन पातमा लेख्यौ प्रेमपत्र
जुन, घामको स्पर्शले सुक्यो, हुरीले उडायो ।
जहाँ अक्षरहरु स्पष्ट छैनन् ।
शब्दहरु थकित छन् ।
पातहरुको श्रृङ्गारमा भेटिन्न म
भो कागजमा अटाउँदिन म ।

चामलका दाना, ती भन्दा सेता लाग्छन् असिना ।
जो झर्छन् बारम्बार आकाशबाट र हिर्काउँछन् हामीलाई
त्यतिबेला,  के आकाशको विरोध गर्नु
वा पानीको विरोध गर्नु ।
वा तिम्रो प्रेमपत्रको विरोध गर्नु ।
वा सुनाउन चाहेको गीतको विरोध गर्नु ।

कि....कुन भावले लेख्यौ प्रेमपत्र,
ती शब्द, प्रारम्भ देखि अन्तिमसम्म
चरणचरण गर्दै अनुमान लगाउनु पर्ने भयो ।

मसिहरु लत्पत्तिए, विचारहरु अपभ्रंश भए ।
शब्दसंग अर्थ दिने सामथ्र्य छैन।
टुक्राटुक्रा भए भावहरु


ओर्लिएर जमिनमा, पानीमा परिवर्तन हुन थाले।
यसैगरी परिवर्तन हुन्छ समय ।
यसैगरी परिवर्तन हुन्छन् साल ।
पूरानो साल फेरिन्छ र नयाँ आउँछ ।
संघर्ष-संघर्षबाटै,
उर्जावान् बन्छ जिवनको यात्रा ।

उमेर र समय यसैगरी बित्छ
तर पनि बाँकी रहन्छ प्रेमिल मन ।
फेरी पनि लेख्नु प्रेमपत्र.........


-          sabinasindhu@gmail.com






Dec 29, 2015

Note: Picture Sources Internet...

Nov 29, 2015



Sabina Sindhu (सबिना सिन्धु)

Mar 3, 2015

जब सपनाकै राजकुमारले अनुपमाको हत्या गर्योा (कथा )

प्रकाशित: Setopati.com मिति: शनिबारआषाढ ७२०७१      

जब सपनाकै राजकुमारले अनुपमाको हत्या गर्‍यो                

                                 -      सबिना सिन्धु


     बसपार्कबाट चढेको गाडीले ओरालेको थियो, कीर्तिपुरस्थित विश्वविद्यालय अगाडि। मैले स्टुडेन्ट कार्ड देखाएँ र गाडीभाडा तिरेर ओर्लिएँ। झट्ट अनुपमालाई देखेँ। ऊ मभन्दा केही पाइला अगाडि थिई। ओई अनुपमा.......पर्खी न”, म दगुर्दै गएँ। युनिभर्सिटीको वरिपरी घामको उज्यालो किरण तँछाडमछाड गर्दै छरिएका थिए। उसको उभ्याइमा उदारता र गम्भीर ब्यक्तित्व देखिन्थ्यो। ठूलो ग्राउन्ड, थुप्रै घरहरु, भुलभुलैया जस्तै बाटाहरु अनि किताबहरुको चाङ्ग भएको पुस्तकालय। यस विश्वविद्यालयको विद्यार्थी हुनुमा पनि गौरव महसुस हुन्थ्यो। 



     “आज मलाई खुब गफ गर्न मन छ रोशनी, केही बेर यही चौरमा बसौं अनि मात्र कक्षामा जाउँला !अनुपमाले भनी। मैले सहमति जनाएँ। हामी चौरमा थचक्क बस्यौं। बाटोबाट किनेर ल्याएको बदाम छोडाउँदै खान थाल्यौं। सिन्दुर, टिका, चुरा, पोते र चहकिलो कुर्ता सुरुवालमा सजिएकी अनुपमा सायद श्रृङ्गारले होला निकै राम्री, विश्वविद्यालयको पृष्ठभूमिमा तयार पारिएकी गुडियाजस्तै देखिएकी थिई। तर अलिकति दुब्लाएकी जस्ती। अनि आँखा अलिकति गाडिएको जस्तो थियो। म पनि बिहे भएपछि त्यसैगरी राम्री भएर हिँड्छु होला, मैले सोचेँ। 

    “कस्तो चल्दैछ त तेरो विवाह पछिको जिन्दगी?” मैले रोमाञ्चित हुँदै अनुपमाको परिवर्तन भएको आकर्षण नियाल्दै भनेँ। ठिकै ! औपचारिक जवाफ बाहेक अपेक्षाकृत जवाफ केही आएन उसको। महिना दिन त भो बिहे भाको बिचरी के उपलब्धी सुनाउली ?” मैले सोचेँ। फेरी म्यारिज पनि पूरै एरेन्ज्ड, अहिलेको जमानामा पनि। 

      चार पाँच महिना अगाडि उनीहरु पँखेटावाला मानिसको कुरा गर्दै खाली समयमा यसै गरी चौरमा अल्मल्लिइरहेका हुन्थे। पँखेटावाला मानिस उमेर पुगेकी युवतीको सपनाको राजकुमार हो। जो उसको मनको दैलोसम्म आउँछ र उडाएर उसलाई नयाँ संसारमा लिएर जान्छ। त्यो मानिसभन्दा नजिकै अर्को कुनै मानिस हुँदैन युवतीको। विहेको बन्धनले यसरी कसिदिएको हुन्छ कि उनीहरु अलग अस्तित्व हुन् भनेर पत्याउनै गाह्रो हुन्छ। मेरो आफ्नो मान्छे त मलाई खोज्दै आईपुग्यो,” बिहेको कुरा छिनेकै दिन अनुपमा मख्ख पर्दै अलिकति अनभिज्ञतामिसिएको हाँसो बोकेर कलेज आईपुगेकी थिई। मलाई त्यो दिनको सम्झना अझै पनि छ। हाम्रो चाहिँ पालो आउँदैन भन्ठानेको कि क्या हो ?” त्यतिबेला मैले जवाफ फर्काएकी थिएँ। 

     आज चार पाँच महिना अगाडिको कुरा अनुपमालाई दन्त्यकथा जस्तै पुरानो र अपत्यारिलो लागेको थियो। मोनालिसाबनोटको अनुहारमा रुवाइले गाडिएका आँखाहरु टिल्पिलाएका थिए। हैन तेरो निद्रा पुगेको छैन कि क्या हो, आँखा निकै रसिलो र गाडिएको देखिन्छ नि ? कि बाबुआमा दाजुभाइको याद आयो र रोईस् ?” मैले प्रश्नमाथि प्रश्न तेर्स्याएँ।

     “हैन, मलाई त नयाँ घर...घर जस्तै लाग्दैन। आफन्त भनौंदाहरु आफन्त जस्तै छैनन्,” उसले भनी। नचिनेको मान्छेसँग बिहे गरिस् त। आफैंले खोजेको भए आफन्त जस्तो लाग्थ्यो होला नि त,’ मैले उसको कुरालाई ठट्टा बनाईदिएँ।

      कठै बिहे भएको एक महिनामै उसले दाम्पत्य जीवनको स्पष्ट रेखा देखिन। पीडाको लय महाकाव्य भएर बगेको थियो सिर्फ उसका आँखामा, बाँकी शरीरले विवाहित युवतीका रङ्गिन श्रृङ्गार भेटेका थिए। हामी दुई पिरियड सक्किएपछि बल्ल छिरेका थियौं कक्षा भित्र। 

      मेरो आँखाभरी एकपछि अर्को गर्दै पँखेटावाला मानिसको चित्र घुमिरहेको थियो। मेरो अघिपछि लाग्ने कलेजका केटाहरु मध्ये कुन चाहिँ बन्न सुहाउला मेरो पँखेटावाला मानिस’ ? दाँज्न थालेँ तर मेरो दृष्टिमा सब वाहियात, सब नालायक लागे। दोष केही थिएन उनीहरुको। 

दिन बित्यो।

    निकैदिन अनुपमा कलेज आइन। फोनमा कुरा हुँदा श्रीमानले घुम्न जाने प्रस्ताव राखेको कुरा मलाई बताएकी थिई। ल मोज गर्,” भन्दै मैले उसलाई जिस्काएको थिएँ। केही दिनपछि विश्वविद्यालयको पुस्तकालयमा अनुपमाको फोटो छापिएको पत्रिका आयो। म झस्किएँ र पत्रिकाका दुई किनारा हातले समातेर अक्षरहरु पढ्न थालेँ। पत्रिकामा लेखिए अनुसार उसको श्रीमानले पूर्व प्रेमिकाको कुरा सुनेर अनुपमाको निर्मम हत्या गरेछ। 

    “वाहियात मान्छे। मार्नकै लागि किन बिहे गरेको होला ? एउटी युवतीको कुरा सुनेर अर्की युवतीको ज्यानै लिन्छन् ?” म भुत्भुताएँ। कम्परमाइज गरेको भए हुन्थ्यो, सँगै बस्न नसके सम्बन्ध विच्छेद गरेको भएपनि हुन्थ्यो। थुप्रै विकल्पहरु थिए। उफ् तर मारी छोड्यो। 

     मैले पत्रिका च्यातुँला झैं गरेँ तर लाइब्रेरियनले रोक्यो। मलाई मन्दिरबाट आस्था ढलेझैं लाग्यो। गुम्बज भत्किएझैं लाग्यो। आफ्नो मान्छे नै आफ्नो हुँदैन भने कसलाई विश्वास गर्ने? त्यस अपराधीले दर्जन केटी मध्ये छानेको थियो अनुपमालाई। अपराधको रङ्ग हुँदैन र अपराधीमा मानवताहुँदैन भन्थे नभन्दै हो रैछ। 

    समाचार पढिसकेपछि मैले यो कथा लेखेँ। तर, लेखिसक्नु अघिनै दिदीलाई फोन गरेँ। दिदीको विवाह भएको दुई वर्षमात्र भएको थियो। मैले तर्सिएझैँ गरेर भनेँ, 'दिदी ! तिम्लाई त्यस घरमा हेला त गर्दैनन् नि? भिनाजुले, आफन्तहरुले, नातागोताले.. ?' यस्ता थुप्रै प्रश्नहरु सोधिसकेपछि दिदीले भनिन्, 'किन तर्सिएकी! आजको न्युज पढेर हो कि क्या हो? सबै मानिस अपराधी हुँदैनन् नि।' त्यसपछि म अलि ढुक्क भएँ। आजको न्युजमा छापिएको तस्विर मेरै सहपाठी अनुपमाको हो भनेर दिदीलाई भन्नै सकिनँ। फोन राखेँ। तर अनुपमामाथि घटेको घटना मेरो मस्तिष्कबाट हट्न सकेको छैन। शायद कहिले पनि हट्ने छैन। मृतक अनुपमा लेखिएको पत्रिकाको तस्बिर सम्झिएँ। अनुपमाको अपराधी श्रीमानको तस्बिर सम्झिएँ। धिक्कार होस्, त्यस अपराधीलाई। कठै  निर्दोष अनुपमा!’ 

                                                                                                          sabinasindhu@gmail.com


Feb 26, 2015

तन्नेरीको सपना

        - सबिना सिन्धु
 (तन्नेरीको सपना कथा, कान्तिपुर कतार संस्करणमा प्रकाशित)
       
युनाईटेड स्टेट्स र सुन्दरी दिपिका उसको अगाडि उत्तिकै महत्वपूर्ण भएर उभिए । झ्यालको पर्दाबाट हावा हल्लिँदै उसको शिर सम्म आइपुगेर उसकी आमाको तस्विरमा अप्रत्याशित रुपमा ठोक्कियो । उसले फ्रान्सकी लिटिभालाई सम्झियो । लिटिभा उसको फोटोलाई कम्मरपेटीमा झुण्डिएको सानो पर्समा राख्ने गर्थी । उसको प्रेम लिटिभा र दिपिका सँग मात्र होइन युनाइटेड स्टेट्स् की मारियो मारिया सम्म पुगेको थियो । मयुरको सौन्दर्यमा उभिएका हुन्थे सुन्दरी ठिटिहरु । उसले खुल्ला झ्याललाई निरिक्षण गर्यो र फूलदानीमा रहेको कृतिम फूललाई सूँघ्यो । फूलमा सौन्दर्य थियो सुवास थिएन । बरु पुरानो भएकोले होला गन्हायो । "यसपाली त पक्कै भिसा लाग्‍ला", उसले सोच्यो । मसिका नीला चक्काहरु झैं बनेर बसेका थिए तन्द्राका नीला फूलहरु र उसका सपनाहरु । उसकी आमा कोठाको तस्विरमा झुण्डिराखेकी थिइन् । उनी सँधै यसै गरी चुपचाप झुण्डिन्थिन् । गाउँको सानो सन्दुसमा बुहारीका लागि भनेर पुराना गहनाहरु सुरक्षित राखेकी थिइन् उनले  "भिसा लाग्यो भने ती सबै गहनाहरु बेच्नु पर्छ घर  खेत बेच्नु पर्छ ।", उसले सोच्यो । यसरी नै उसकी आमाको सपना र उसका सपना बाझिन्थे र ऊ निश्कर्ष खोज्दै छट्पटाउँथ्यो
उसले आज यतिखेर बबी मार्टिनलाई टाइम दिएको थियो । घुमाउनु थियो उसलाई । ……तर ऊ गएन । जान चाहेन । उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा । उसको उराठलाग्दो जीवन सपनाको संसारमा इन्द्रेणी भएर रङ्गिरहेको थियो । त्यो सपना देख्न ऊ कयौं पल्ट निदायो र कयौं पल्ट ब्युँझियो । विचित्रको थियो उसको सोच्ने क्रम-उपक्रम । टेबुलका दुइ किनारा जिन्दगीको साम्राज्य घिसारेर नयाँकोण खोजिरहेका थिए । उसको सपना चुलिएर कहीले विशाल पेगोडा शैलीको भवन बन्थ्यो र कहिले होच्चिएर माटेाको कणमा अस्तित्वविहिन भएर बिलाउँथ्यो । ऊ हिटलर बन्थ्यो र याहुदी मनलाई पीडायुक्त अमानवीय यातना दिन पुग्थ्यो । ऊ फेरी पन्ध्रौं शताब्दिमा ओर्लन्थ्यो र मुगल सम्राट शाहजहाँ भएर मुमताज महल ठड्याउँथ्यो । मात्र मुमताजहरु फेरिन्थे ताजमहलका । ऊ स्ट्राफोर्ड अपन एभन सिर्जन्थ्यो र शेक्सपियर बन्थ्यो आइसाको प्रेममा । आइसा प्रज्वलनशील पदार्थ बन्दै विष्फोट हुन्थी र एकाएक उसको प्रेम रङ्गविहिन गन्धविहिन र स्वादविहिन बन्थ्यो । थुप्रैसंग सहमति भएको थियो उसको- आयुष्मा जुलिका उषा र निशासँग पनि ……।तर अहँ कोही पनि टिकेनन् दीर्घकाल सम्म । उसले रुचाएन अथवा उनीहरुले रुचाएनन् । सौभाग्यवश उसको श्रृङ्खलाबद्द प्रेम कहिले सार्वजनिक भएन । त्यसैले ऊ शान्त देखिन्थ्यो तर आँखाबाट अङ्कुशे फ्याँकेर आफैं भित्र उब्जिएको भूँइचालोलाई ग्रहण गरिरहन्थ्यो ।
उसको प्रेम हाल आएर दिपिकामा अडिएको छ । अडिएको पनि के भनौं निष्क्रिय हुने तयारीमा छ । प्रेम कुनै अर्की सुन्दरीमा हस्तान्तरण हुन नपाएर ऊ महत्वकी विषय बनेकी मात्र हो । उसको विशाल हृदयमा एनी जेन अष्ट्रिना आइन जेनिसा ब्राउन मारियो मारिया र लिटिभाले पनि अधिकार जमाएका थिए । तिनको पश्चिमेली संस्कारको सङ्गितले उसकी आमाको शास्त्रिय झंकारमा खोटपूर्ण ब्याकरणको सिर्जना गर्न सक्थ्यो । त्यसैले विदेशी युवतीहरुसँग उसको प्रेम अपुरो बन्थ्यो । मारियो मारिया सँग बुनेको सपनाको रङ्ग महलले झण्डै उसलाई युनाईटेड स्टेट्स  पुर्याएको थियो । "उफ् यसपाली पनि डि=भि= परे", उसले नाक खुम्च्यायो, ओठ लेब्रायो र टेबुलमा बेस्सरी मुड्की बजार्यो । उसले ठमेलको गल्लिाई सम्झियो इन्द्रचोकमा गुच्चा खेलिरहेका स-साना बच्चालाई सम्झियो । बेलामौकाको जमघटमा उसले पिउने गरेको ब्यागपाईपर रक्सीलाई सम्झियो । फेरी आमाको तस्वीरलाई सम्झियो ।
घरिघरि ऊ फाल्तु किताबका रङ्गिन पृष्ठहरुमा आँखा बिच्छ्याउँछ तर कलेजका मोटा किताबहरु देखि वितृष्णा फैलिसकेको छ । प्रत्येक तन्नेरीहरुमा जस्तै ऊ भित्र पनि कमजोरी र निराशाहरु छन् । आशा र सपनाहरु छन् । भावनाको मुक्त आकाश र विधिको परिधि छ । ऊ हृदयको सानो टुक्राबाट विकेन्द्रित हुन्छ र फेरी संक्षिप्त बनेर आफैं भित्र अटाउँछ । सम्भ्रान्त बर्गमा विभाजित गर्छ आफूलाई र सिद्दान्‍तमा बाँधे झैं गर्छ । कतिखेर-कतिखेर ऊ फुस्किन्छ बन्धन देखि र आफू भन्दा धेरै भिन्न भएर निस्किन्छ ।
काठमाडौंले उसका दश वर्ष बिना उपलब्धि यसै गरी लुछिदियो । न धन कमाउन सक्यो न पढाइलाई निरन्तरता दिन । उसले टेबुल माथि बासिङ्गटन टावर देख्यो । होटल ह्वाइट देख्यो । ऊ टुरिष्ट गाइड भए देखि उसले भेटेका सम्पूर्ण विदेशीहरुलाई देख्यो । यु.एस.. की मारियो मारिया स्विट्जरल्याण्डका हक्किन्स फ्रान्सकी लिटिभा  कोरियाकी क्याम्रोन  इटालीकी रोजान आदि इत्यादी । काठमाडौंमा ठूलो घर भएको भए आइशा ऊ देखि टाडा हुने थिइन । ऊ दश वर्ष अमेरिका बसेको भए उसको बाबु आमा काठमाडौंको महलमा हुन्थे । दिपिका उसको गरिबि देखि तर्सन्न थिई । न कुनै धनि युवकले उसकी दिपिकालाई आँखा लगाउँथ्यो । ऊ कमसल टुरिष्ट गाईड भन्दा बढी केही हुन सकेन । हुन सकेको भए -उसले आफ्नो प्रेम दिपिका भन्दा सुन्दरी युवतीमा हस्तान्तरण गरेर त्यस युवकलाई चुनौती दिन सक्थ्यो । गाउँका युवतीहरु उसलाई मन पर्दैनथ्यो । शहरी युवतीहरु मुस्किलले उसलाई हेर्थे । अनेकौं कन्या निरिक्षण गर्दा पनि उसले आमाको लागि सीता फेला पार्न सकेन । उसले ठमेलको गल्लिमा यु.एस.. को सपना देख्यो त के गल्ति गर्यो असमयमै जागिर खायो र पढाई बिगार्यो त के गल्ति गर्यो  देशले उसको तन्नेरी उर्जालाई ठम्याउन सकेन र ऊ विदेशिन चाह्यो त के गल्ति गर्यो  <
उसले सोच्यो, "सके यु=एस==, नसके क्यानडा, अष्ट्रेलिया वा नेदरल्याण्ड त्यो पनि नसके कुवेत मलेसिय" यस्तै यस्तै थिए उसका मन भित्र । कतिखेर-कतिखेर ऊ निदायो । उसका गरिबिले उसलाई घँचेटे । समस्याहरुले चिथोर्न थाले । उसले आफूलाई आफू भएको घोषणा गर्न सकेन । समयले सर्लक्क निल्यो उसलाई । कोठा बाहिर गाडिका आवाजहरु सुनिन्थे । रात परेको थिएन पर्न आँटेको मात्र थियो । ऊ सपनामा थियो । उसका अगाडि प्रतिशोध  निष्क्रियता र चुनौतिहरु थिए। छोरो हुनुको जिम्मेवारीले लखेट्यो उसलाई । उसको सपनामा विदेशी युवतीहरु आए आइसा र दिपिकाहरु आए । आमाको हँसिलो अनुहार आयो । सपनामा अग्ला - अग्ला भवनहरु आए वासिङ्गटन डि.सी. आयो । ती सबै डरलाग्दा देखिए र एकिकृत भएर आँशुको ढिक्कामा बदलिए ।
उसले आँशु चुहायो । उसका आँशु तन्द्राका नीला फूलहरुमा झरे । ऊ निन्द्रामै छट्पट्टायो ।  छट्पट्टाई नै रह्यो ।

(Pic Sources : Internet)